अल्टिमेटमसहित यो कस्तो उपहार हो : चीन

अल्टिमेटमसहित यो कस्तो उपहार हो : चीन

नेपालमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीबारे चिनियाँ विदेश मन्त्रालयले टिप्पणी गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले बुधबार नियमित पत्रकार सम्मेलनमा भनिन्, ‘उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो ?’ अन्तर्राष्ट्रिय विकास सहकार्य आपसी समानता र सम्मान कायम राखेर हुनुपर्नेमा चीनको विश्वास रहेको उनले बताइन्। एमसीसीका विषयमा चाइना न्युज सर्भिसले सोधेको प्रश्नमा उनको जवाफको नेपाली अनुवाद यहाँ प्रस्तुत छ  : 

चाइना न्युज सर्भिस : खबरहरूका अनुसार अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता केही दिनअघि संसद्मा पेस गर्ने नेपाल सरकारको निर्णयले विवाद उत्पन्न गराएर काठमाडौंलगायत ठाउँमा व्यापक विरोध प्रदर्शन भयो। कम्प्याक्टलाई नेपालले अनुमोदन गर्न नसक्दा द्विपक्षीय सम्बन्धमा असर पर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। 

एमसीसी सम्झौताले आफैंलाई नेपालको आन्तरिक कानुनभन्दा उच्च अधिकार दिएको, नेपालमा अमेरिकी कार्यक्रमका कर्मचारीको गतिविधि स्थानीय क्षेत्राधिकारको अधीनमा नपर्ने र आयोजनाको लेखा तथा लेखापरीक्षण अमेरिकी पक्षबाटै पर्यवेक्षण, व्यवस्थापन र सञ्चालन हुने कतिपय विश्लेषकले बताएका छन्। एमसीसी स्वीकार गर्नु नेपालको सुरक्षा र सार्वभौमसत्ताका लागि हानिकारक हुने नेपालका विज्ञहरू विश्वास गर्छन्। तपाईंको यसमा कुनै टिप्पणी छ ?

हुवा चुनयिङ : एमसीसी कम्प्याक्टलाई नेपालले अनुमोदन गर्न नसक्दा द्विपक्षीय सम्बन्धमा असर पर्नेछ भनेर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसअघि भनेको मलाई पनि याद छ। अमेरिकी दूतावासले ५० करोड डलर एमसीसी अनुदानलाई ‘अमेरिकी जनताले नेपालीलाई दिएको उपहार’ भनेको छ। मलाई आश्चर्य लाग्यो कि उपहारका साथ कहिलेदेखि अल्टिमेटमको पोको आउन थाल्यो ? यस्तो उपहार कसैले कसरी स्वीकार गर्न सक्छ ? के यो उपहार हो कि प्यान्डोराको बक्स ? यो हेर्दा राम्रो तर चपाउँदा गाह्रो मासु भन्ने नेपाली उखानजस्तै होला भन्ने मलाई डर छ।

अन्तर्राष्ट्रिय विकास सहकार्यमा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्छ। सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ। र, कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनुहुँदैन भन्नेमा चीनको दृढ विश्वास छ। राजनीतिक स्वार्थ प्रेरित सम्बन्ध, धम्कीपूर्ण कूटनीति र आफ्नो स्वार्थपूर्तिका लागि अन्य देशको सार्वभौमसत्ता र हितमा निश्चित रूपमा कुनै उल्लंघन गर्नुहुँदैन। नेपालको नजिकको छिमेकी र विकास साझेदारको रूपमा चीनले नेपाली जनतालाई स्वतन्त्रपूर्वक आफ्नो विकासको बाटो रोज्न सहयोग गरिरहनेछ र आफ्नो क्षमताले भ्याएसम्म नेपालको आर्थिक सामाजिक विकासमा सक्दो सहयोग र समर्थन गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.