युक्रेनको विदेश मन्त्रालयले भन्यो : ‘पुटिनले हामीमाथि हमला सुरु गरे’
लण्डन : युक्रेनको राजधानी कीभसहित देशका विभिन्न भागमा श्रृखलाबद्ध विष्फोट भएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेसँगै विस्फोटको आवाज भएको हो। बीबीसीका अनुसार पाँचदेखि छ वटा विस्फोटनको आवाज सुनिएको छ। देशका अन्य विभिन्न भागहरूमा पनि विस्फोटन भइरहेका विवरण आएको बीबीसीले जनाएको छ।
राष्ट्रपति पुटिनले युक्रेनको डोनभास क्षेत्रमा सैन्य अभियान चलाउन आफ्ना सेनालाई निर्देशन दिएका हुन्। रुसी राष्ट्रपति पुटिनले पूर्वी युक्रेनमा आफ्ना सेना परिचालन गरिएको त्यहाँ रहेका युक्रेनी सेनालाई तत्काल स्थान छाड्न भनेका छन्।
युक्रेनको राजधानी कीभमा कम्तिमा पाँच वटा विष्फोट भएको बीबीसीमा समाचार छ। कीभ नजिकैको विमानस्थलमा समेत गोली चलेको खबर अन्तर्राष्ट्रिय संचारमाध्यममा समाचार छ। रुसी राष्ट्रपति पुटिनले युक्रेन कब्जा गर्ने आफ्नो कुनै योजना नभएको बताएका छन्। टेलिभिजन सम्बोधन गर्दै पुटिनले बिहीबार आफ्नो देशले युक्रेन कब्जा गर्ने कुनै योजना नभएको स्पष्ट पारेका हुन्। राष्ट्रपति पुटिनले भनेका छन्, ‘युक्रेनका जनताले स्वतन्त्र ढंगले आफ्नो मुलुक चलाउन पाउनुपर्छ।’युक्रेनको आन्तरिक मन्त्रालयले रुसले आक्रमण सुरु गरेको बताएको छ।
युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले पुटिनले युक्रेनमाथि हमला सुरु गरेको बताएका छन्। उनले भनेका छन्, ‘युक्रेनले आफ्नो रक्षा गर्छ।’
जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत् सैन्य कारबाहीको घोषणा गरेका हुन्। पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू बिसाउन र घर फर्कन युक्रेनी सेनालाई आग्रह गरेका छन्।
यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए। उनले राति ढिलो गरी देशवासीलाई सम्बोधन गर्दै यदि रुसले हमला गरे हामी आफ्नो रक्षा आफैँ गर्छौँ भन्ने बाचा गरेका थिए।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन्।