रोको मनलाई बुझाउने को छ र...
जीवनभर लोकगीत गायन र अभिनयमा लागेका जयनन्द लामा सिर्जनाका खानी थिए। उनी बोल्दा मात्रै पनि सँगै भएकाहरू हाँस्ने गर्थे।
‘व्यापारमा लागेको भए करोडपति बन्थें होला। राजनीतिमा लागेको भए ठूलै नेता हुन्थें होला। तर, लोकगीतले सर्वहारा वर्गमै सीमित बनायो। अब आउने नयाँ पुस्तालाई पनि लोकगीत गाएर जीवन धान्न सकस नै छ।’ करिब दुई वर्षअघिको एक भेटमा कलाकार तथा लोकगायक जयनन्द लामा यसरी अनुभव सुनाएका थिए। लोकगीत गाउँदागाउँदै सर्वहारा वर्गभन्दा माथि उठ्न नसकेको गुनासो पोख्ने कलाकार लामाले यो जीवन यसरी नै टुंग्याए। गाउँदागाउँदै, अभिनय गर्दागर्दै उनी बुधबार सदाका लागि अस्ताए। मंगलबार राति पनि उनी कामकै सिलसिलामा बौद्ध पुगेका थिए। फर्कंदा आफैंले चलाएको कारबाट झर्ने क्रममा घरनजिकको पर्खालमा ठोक्किए। मृत शरीर बुधबार बिहान मात्रै फेला पर्यो। उनको मृत्युसँगै राष्ट्रले एक कुशल कलाकार गुमाएको छ। नेपाली लोक ठेट गीतको एउटा धरोहर ६५ वर्षको उमेरमा अस्ताएको छ।
उनको मृत्युमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन्। आधिकारिक ट्विटर अकाउन्टबाट उनले एक सन्देश लेख्दै लामाप्रति श्रद्धाञ्जलि व्यक्त गरिन््। उनी लेख्छिन्, ‘प्रसिद्ध लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ। दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।’
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लामाको निधनमा दुःख व्यक्त गरे। ‘कलाकार तथा लोकगायक जयनन्द लामाको असामयिक निधनबाट मुलुकले गीतसंगीत, चलचित्र एवं हास्यक्षेत्रका एक असल साधक गुमाएको छ। दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु,’ उनी लेख्छन्। ‘मेरो कला यात्राको सारथि जयनन्द लामाज्यूको निधनले नेपाली कला क्षेत्रले एक होनहार प्रतिभा गुमाउनु परेको छ,’ अग्रज कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्। कलाकार दीपकराज गिरीले जयनन्द लामाका केही उत्कृष्ट संवादहरू स्मरण गर्दै मन छुने स्टाटस लेखेका छन्। ‘ज्वाईंले बहिनी कुटेछ ! राम्रो, असाध्य राम्रो तर, कुटेको अलि मिलेनछ। त्यही भएर मान्छे कसरी कुट्ने भनेर सिकाउन आएको।’ यस्तै थुप्रै लोकप्रिय संवादले म उहाँलाई सम्झिरहन्थें, सम्झिरहनेछु,’ दीपकले लेखे। गायक प्रमोद खरेलले पनि वरिष्ठ लोकगायक, अभिनेता तथा मूर्धन्य स्रष्टा जयनन्द लामाको मृत्युले स्तब्ध बनेको बताएका छन्। ‘राष्ट्रले महान् सर्जक गुमाएको छ,’ उनले भने।
लामा भक्तपुर मध्यपुरथिमी—१ लोकन्थलीस्थित सचेत मार्गमा आफ्नै घर अगाडि मृत भेटिएका थिए। सिन्धुपाल्चोक बाह्रबिसेमा जन्मिएका लामाले पाँच दशक अघि गायन यात्रा सुरु गरेका थिए। उनको कलकत्ते काइँयो, चुइँचुइँ चुइँकने जुत्ता, मेरा माया छ भने, नक्कलीलाई पातलीलाई लगायतका गीत चर्चामा छन्। गायनमा मात्रै नभएर कलाकारितामा समेत अब्बल अभिनय गर्ने लामाले सयभन्दा बढी चलचित्रमा काम गरेका छन्। पछिल्लो समय उनी हल्का रमाइलो हास्य शृंखलामा पनि सक्रिय थिए।
लोकगीतका कुशल संकलक तथा गायक लामा पेसाले कलाकार थिए। सयभन्दा बढी नेपाली चलचित्रमा उनको अभिनय देख्न सकिन्छ। २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा चरित्र अभिनयमा सक्रिय थिए। कलाकारितासँगै उनको अर्को परिचय हो लोकगायक। लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गरेका थिए उनले। यसक्रममा विभिन्न जिल्लाका गाउँगाउँमा गएर उनले लोकगीतको भाकाहरू संकलन गरेका छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरेका थिए। उनले स्वर दिएका कलकत्ते काइँयो, चट्ट परेको चुलठी, हेर्दैमा राम्रो, चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मुलाको चाना, सलल पानीलगायतका गीतहरू आज पनि कर्णप्रिय छन्।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा हुर्केको समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो। राई जातिले साकेला पनि गाउँथे। गुरुङ मगरले रोदी घन्काउँथे। शेर्पाहरूले बेग्लै स्वादको गीत घन्काउँथे। उनले ब्राह्मण, क्षत्रीको संस्कृतिसँग जोडिएको दोहोरी र रोइला गीतको मिठास पनि थाहा पाएका थिए। सानैदेखि गीत गाउन र क्यारिकेचर गर्न खप्पिस थिए उनी।
लोकगीत, अनुसन्धान गर्ने सर्जक र विज्ञहरूको ज्ञानलाई कदर नै नगरेको राज्यप्रति उनको गुनासो जीवनभर रह्यो।
गाउन र नाच्न रमाइलो मान्ने जयनन्दलाई गाउँमै जुटेकोे विशेष संयोगले लोकसंगीतमा ल्याएको हो। २०२६ सालमा उनी बाह्रबिसेमा कक्षा ५ मा पढ्ने गर्थे। राजा महेन्द्रको जन्मोत्सवको अवसरमा देशभरमा प्रचलित भाकाहरूलाई समावेश गरे काठमाडौंमा ठूलो कार्यक्रम हुने गथ्र्यो। ठूलाठूला नृत्यविज्ञ, संगीतविज्ञहरू सबै जिल्लाजिल्लामा पुगेर लोकभाकाहरू छानेर काठमाडौं ल्याउने गर्थे।
उनले पढ्ने स्कुलमा पनि यो खबर पुग्यो। काठमाडांैबाट लोकभाका खोज्ने मान्छे आएका छन् रे भन्ने उनले सुने। ४ बजे स्कुल छुटेर उनी दौडदै बसपार्क पुगे। काठमाडौंका मान्छेहरू गाउँमा जानको लागि बसपार्कमा भरिया खोजेर बसेका रहेछन्। संगीतकार भैरवबहादुर थापाको नेतृत्वमा सरकारी टोली बाह्रबिसे पुगेको थियो। त्यहीँ टोलीकै भारी बोकेर जयनन्द उनीहरू सँगैसँगै हिँडे। कार्यक्रममा गीत गाए।
टोली काठमाडौं फर्कियो। टोलीले जयनन्दलाई काठमाडौं आउनको लागि चिठी पठायो। उनी आएर गीत गाए। सान्त्वना पुरस्कारस्वरूप एक हजार रुपैयाँ प्राप्त गरे। यो एक हजारको पुरस्कार करोडौं बराबरको थियो उनको लागि। सान्त्वना पुरस्कार पाएपछि रेडियो नेपालमा चार वटा गीत रेकर्ड गर्ने मौका पाए। उनले रेडियो नेपालमा रेकर्ड गराएको पहिलो गीत थियो ः
पानी परो बलेसी हेर न बैनी झलल
रोको मनलाई बुझाउने को छ र ?
उनी राजा महेन्द्रको नोटिसमा परेका थिए। पछि दरबारमा नै बसेर पढ्ने मौका पाए। दरबारमै बसेर फाइन आर्टमा ब्याचलर्ससम्म अध्ययन गरेका थिए। प्रज्ञा प्रतिष्ठान जागिरे थिए उनी। प्रतिष्ठानले नै उनलाई इलाहाबाद संगीत विद्यालयमा मास्टर डिग्री पढ्न पठायो। नेपाल फर्केर उनी जीवनभर लोकसंगीतकै विकासमा लागे।
लोकगीत नेपालको परिचय हो। लोकधुन नेपाल चिनाउने चिनारी धुन हो भन्ने लामा अहिलेका लोकगीत सुन्दा स्वाद नमेटिने बताउँथे। उनी भन्ने गर्थे, ‘लोकगीतले लोकका कथा बोल्नुपर्छ। रीतिरिवाज, धर्मकर्म, चाडपर्व र संस्कृतिलाई बुझाउने हुनुपर्छ। लोकका जीवनयापनसँग सम्बन्धित लय, भाका र शब्द समेटिएको हुनुपर्छ।’
लोकगीतमा अश्लील शब्द प्रयोग गरिएकोमा उनको चित्त दुखाइ थियो। उनले भन्ने गर्थे, ‘लोकगीतभन्दा पनि छाडा गीतको बिगबिगी छ यहाँ। लगानी उठाउनको लागि लोकगीतको मौलिकता बेच्ने काम भइरहेको छ।’ लोकभन्दा पनि लोकको नाममा बिक्ने गीतमात्रै बजारमा आउने गरेको छ।
लोकगीतको नाममा कोठेगीत मात्रै बजारमा आउने जानकारी दिँदै ठेट भाकाको बास्ना नै गायब भइसकेको बताउने गर्थे। लोकसंगीतमा जीवनभर लागिपर्ने कलाकार कहिल्यै पनि कसैको महत्वमा नपर्ने र राज्यले पनि बेवास्ता गरेकाले लोकगीत हराउँदै गएकोमा चिन्ता व्यक्त गर्थे। लोकगीत अनुसन्धान गर्ने सर्जक, अनुसन्धानकर्ता र विज्ञहरूको ज्ञानलाई कदर नै नगरेको उनले राज्यप्रति गुनासो जीवनभर रह्यो।
जीवनभर लोकगीत उन्नयनमा लागिपर्नेहरू जीवनको उत्तरार्धमा दुःखदायी बन्नुपर्ने अवस्थाप्रति उनको विशेष चासो थियो। उनी भन्ने गर्थे, ‘लालबहादुर खाती, झलकमान गन्धर्व, राम थापा, पाण्डव सुनुवारहरू जीवनभर लोकसंस्कृतिको उन्नयनमा लागे। तर, उनीहरूको जीवन अत्यन्तै दुःखदायी अवस्थामा बित्यो। अन्तिम अवस्थामा आर्थिक समस्यासँग जुध्नु पर्यो। यही अवस्थाको लागि हो त जीवनभर लोकगीत गाएर नेपाली संगीतलाई धनी भएको। उनीहरूका गीत आज पनि उत्तिकै सान्दर्भिक देखिन्छन्। गीतलाई राम्रो भनेर मात्रै भएन नि। सर्जकलाई बचाउनतिर कसैले ध्यान दिएनन् ?
जीवनभर लोकगीत गायन र अभिनयमा लागेका जयनन्द लामा सिर्जनाका खानी थिए। उनी बोल्दा मात्रै पनि सँगै भएकाहरू हाँस्ने गर्थे। उनको व्यक्तित्वमै हास्यकला छचल्किन्थ्यो। सयौं पात्रहरूलाई दुरुस्तै आफ्नो कलामा उतार्न सक्ने लामाका अब नयाँ सिर्जना देख्न पाइने छैन। लोकगीतका पारखी र उनको अभिनयको फ्यानहरूलाई सदासर्वदा कमी रहनेछ। नेपाली कला श्रेयमा उनको अभाव सदैव खड्किरहनेछ। सिर्जनाका खानी अग्रज कलाकार जयनन्द लामाप्रति हार्दिक श्रद्धाञ्जलि।