युक्रेन-रुस तनावमा चीनको मध्यमार्गी धारणा
काठमाडौं : युक्रेन-रुस तनावमा चीनले आफ्नो धारणा सार्वजनिक गरेको छ । चीनले सबै देशको अखण्डता र सम्प्रभुताको सम्मान गर्ने तर रुसको सुरक्षा चिन्तालाई पनि नजरअन्दाज गर्न नसकिने मध्यमार्गी वयान दिएको हो ।
चिनियाँ विदेश मन्त्री वाङ यीले सबै देशको अखण्डता र सम्प्रभुताको सम्मान हुनुपर्ने चीनको मान्यता भए पनि युक्रेनको मामिला फरक भएको बताए ।
रुसी विदेशीमन्त्री सर्गेई लाभरोभसँगको कुराकानीमा उनले युक्रेनको मामिला अलग रहेको र रुसी सुरक्षा चिन्तालाई चीनले बुझेको बताए । उनले संयमता अपनाउन रुस र युक्रेनलाई आग्रह गरेको बीबीसीले जनाएको छ ।
त्यसैगरी चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले युक्रेन संकट निम्तिनुमा पृष्टभूमि हेर्नुपर्ने बताइन् । चीन अहिले नै कुनै निष्कर्षमा पुगिनसकेको भन्दै उनले नियालिरहेको बताइन् ।
चीनले युक्रेन मुद्दामा शान्तिपूर्ण समाधानको बाटो पूर्ण रुपले बन्द नभएको भन्दै कूटनीतिक पहलबाट समाधान गर्न जोड दिएको छ ।