ओली-प्रचण्ड आमने सामने, एमसीसीका कारण सत्ता गठबन्धन 'डील'मा
काठमाडौंः अमेरिकी सहायता परियोजना (एमसीसी) संसदमा टेबल भएसँगै राजनीतिक कोर्स मोडिएको छ। सत्ता गठबन्धनभित्रै सहमति जुट्न नसक्दा ध्रुवीकरण सुरु भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले संसदमा एमसीसी टेबल गरेसँगै सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले आगामी रणनीति तय गर्न सघन छलफलमा छन्।
कांग्रेसले बिना संसोधन एमसीसी पारित गराउनुपर्ने स्पष्ट धारणा अघि सारको छ। तर, प्रतिपक्षी दल एमाले, सत्ताघटक दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।
एमसीसी संसदमा टेबल भएसँगै माओवादी केन्द्रले सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ। उसले कुनै पनि हालतमा एमसीसी पास गर्न नदिने रणनीतिमा छ। माओवादी केन्द्रका नेताहरुले जुनसुकै बेला पनि आफ्नो पार्टी सरकारबाट बाहिरिनसक्ने चेतावनी दिएका छन्।
एमसीसी सन्दर्भमा नेकपा एकीकृत समाजवादी दुई धारमा विभाजित छ। समाजवादीका सम्मानित नेता झलनाथ खनाल कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने अडानमा छन्। ‘बरु सरकारबाट बाहिरिन सक्छौं। तर, संसदबाट एमसीसी पास हुनु हुँदैन,’ उनी भन्छन्।
सहरी विकास मन्त्रीसमेत रहेकी समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफू सरकारमा रहेकाले सरकारको धारणाभन्दा बाहिर गएर बोल्न नमिल्ने बताएकी छन्।
कांग्रेसका केही नेताहरुले एमसीसी अनुमोदन सन्दर्भमा सहकार्यको वातावरण सकिएको प्रतिक्रिया दिएका छन्। उनीहरुले माओवादी केन्द्रले स्वार्थको राजनीति गरेको र भोट बटुल्न एमसीसीमा च्याँखे थापेको बताएका छन्। यद्यपि, अहिलेसम्म गठबन्धन नटुटे पनि दरारको वातावरण सिर्जना भएको छ।
फागुन १६ भित्रै एमसीसी पारित गर्ने प्रधानमन्त्री देउवाको योजना छ। त्यो योजनालाई सार्थक रुप दिन प्रधानमन्त्रीले आजको संसद बैठक थप छलफल गर्न भन्दै भोलि एक बजेसम्मका लागि स्थगित गरे।
प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आजै 'वान टु वान' छलफल भयो। छलफलमा प्रचण्डले संसद अवरोध खोलेर छलफलको वातावरण बनाउन ओलीलाई आग्रह गरे। लगत्तै ओलीले १४ सांसदहरुलाई संसदमा सहभागी नहुने वातावरण बनाउनुपर्ने बताएको एक नेताले अन्नपूर्णलाई जानकारी दिए।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रचण्ड र ओलीबीचको भेटघाट सकारात्मक छलफल भएको बताए। ‘धेरै समयपश्चात यो तहमा गम्भीरतापूर्वक छलफल भएको छ। विगतका कुरालाई समीक्षा गर्दै अघि बढ्ने कुरा भयो।’
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद सुचारु गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकतम प्रयास थालेको बताए। उनले छिट्टै संसद सुरु हुने बताए। ‘प्रधानमन्त्रीले संसद अवरोध हटाउन अधिकतम प्रयास गरिरहनुभएको छ। त्यही विषयमा नेकपा एमालेलगायत पार्टीहरुसँग छलफल थाल्नुभएको हो,’ उनले भने।
‘एमसीसी सार्वभौम संसदमा गहनरुपले छलफल भएर निष्कर्षमा पुग्छ। एमसीसीको समयसीमाबारे हामी सबै जानकार छौं। तोकिएको मितिसम्म निष्कर्षमा पुग्ने विश्वास लिएका छौं,’ उनले भने।
यता एमाले सचिव योगेश भट्टराईले सत्ता गठबन्धन नभत्किएसम्म मुलुकले निकास नपाउने बताए। ‘यो गठबन्धन रहेसम्म मुलुक अनिर्णयको बन्दी भइरहन्छ। जति छिटो गठबन्धन भत्किन्छ, त्यति छिटो यो मुलुकले निकास पाउँछ । तसर्थ यो गठबन्धन भत्किनुपर्छ,’ उनले भने। उनले सत्ता र प्रतिपक्षबीच सम्वाद हुनु राम्रो कुरा भए पनि नेकप एमाले ’ब्लाङ्क चेक’मा सम्झौता नगर्ने बताए।
उनले सभामुख अग्नि सापकोटाको राजीनामा वा एमालेले कारबाही गरेका १४ सांसद नहटाएसम्म संसद अवरोध जारी राख्ने बताए। एमसीसीको विषयमा सोधिएको प्रश्नमा भने उनी कुरा राख्न चाहेनन्।