युक्रेनमा फसेका भारतीयहरुको उद्दारका लागि कुटनीतिक पहल सुरु
नयाँ दिल्ली : युक्रेनमा रुसले हमला गरेपछि त्यहाँ हजारौं भारतीय नागरिक फसेका छन्। भारतले बिहीबार युक्रेनबाट आफ्ना नागरिकलाई उद्दार गर्न कूटनीतिक पहल सुरु गरेको छ। युद्ध क्षेत्रमा १६ हजार भारतीय नागरिक फसेको जनाइको छ।
युक्रेनमा रुसी आक्रमणका बीच प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् ।
यस क्रममा प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनमा फसेका भारतीय नागरिकको सुरक्षालाई लिएर भारतको चिन्ताबारे जानकारी गराए । भारतले आफ्ना नागरिकको सुरक्षित उद्दार र भारत फिर्तालाई उच्च प्राथमिकता दिएको छ।
यसअघि प्रधानमन्त्री मोदीले युक्रेनमा फसेका करिब १६ हजार भारतीयको सुरक्षाका लागि क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) को बैठक बोलाएका थिए । उक्त बैठकमा युक्रेनको अवस्था र सर्वसाधारणको उद्धारका विषयमा छलफल भएको थियो ।
रुसको आक्रमणपछि युक्रेनले आफ्नो हवाई सीमा बन्द गरेको छ । भारतले हंगेरी, पोल्याण्ड, स्लोभाकिया र रोमानिया हुँदै सडक मार्गबाट आफ्ना नागरिकलाई ल्याउने पहल सुरु गरेको हो।