चित्रकारितामा समर्पित अप्परका छिरिङ
जोमसोम : हिमाली जिल्ला मुस्ताङ धार्मिक सांस्कृतिक र ऐतिहाँसिक विविधता प्रख्यात छ। उत्तरी चिनसंग सीमाना जोडिएको मुस्ताङ जिल्लामा तिब्बती कलासंस्कृति हावी छ। यहाँका अधिकाँश मानिस बौद्ध धर्म मान्छन्। आठौं सेन्चुरीमा पद्यसम्भव तिब्बत आउँदा मुस्ताङमा बौद्ध धर्मको प्रभाव सुरु भयो। त्यसपछि यहाँ तिब्बती कलासंस्कृति झल्किने गुम्बा, माने, छोर्तेन आदी बन्न थाले।
मुस्ताङमा निर्मित धार्मिक तथा सांस्कृति सम्पदाहरुमा थान्का, संस्कृतिक आर्ट र बौद्ध धर्म संस्कृति झल्किने भित्ते लेखनका अभिलेख मौजुत छन्। सदिंयौ वर्ष पुराना यस्ता धार्मिक तथा सांस्कृति अभिलेखले समग्र मुस्ताङको परिचय झल्काउछ। प्राचिन अभिलेख जीर्ण हुँदै जान थालेका छन्। तर यसलाई पूनजिर्वित गर्ने स्रष्टाहरु भने दुर्लभ हुन थालेको छ। मासिदैँ जान थालेका यस्ता प्राचिन सम्पदा संरक्षणका लागि योगदान दिने व्यक्ति बदलिदो आधुनिकता र विदेश पलायनका कारण यस मौलिक विधातर्फ रुचि राख्ने स्रष्टा हराउँदै जान थालेका छन्।
आफ्नो जन्म थलो मुस्ताङ र मुस्ताङको कलासंस्कृतिप्रति अगाध माया गर्ने व्यक्ति हुन्, उपल्लो मुस्ताङका रोल मोडल युवा छिरिङ फेन्जो गुरुङ। गुरुङको घर लोमान्थाङ-२ छोसेरमा पर्छ। उनी कक्षा ५ सम्म पढेका छन्। बाल्यकालदेखिकै उनको रुचि बन्यो चित्रकारिता, थान्का पेन्टिङ र भित्ते लेखनमा। कहाँ सिक्न सकिएला उनी यसकै खोजीमा सानै उमेरदेखि लागे। अप्पर मुस्ताङको एक दूरदराजको विकट गाउँ हो छोसेर। उत्तरी कोरलानाका देखि दक्षिण १५ किलोमिटर यता पूर्वमा उनको गाउँ। त्यहा अधिकाश गुरुङ समुदायको बस्ती छ। उनी त्यहीँ बिकट गाउँमा जन्मे हुर्किए। एक सामान्य परिवारका युवा उनी अहिले ४० वर्ष पुग्दैछन्। सानै देखिको रुचिका कारण उनी यसै अवसरको खोजीमा भौतारिए गन्तब्य खोज्न।
छिरिङ फेन्जो गुरुङको परिचय माथिका हरफले काफी छ। अहिले उनी त्यही थान्का, चित्रकारिता र पेन्टिङको कामबाट मासिक २ लाखसम्म कमाउछन्। चित्रकारिता र भित्ते लेखनको पहिलो अवसर उनलाई गाउँमै सृजना भयो। जब उनी १६ वर्ष पुगे त्यही गाउँका लाक्पा लामाको पहिलो शिष्य बने। गुरु लाक्पाबाट थान्का पेन्टिङ सम्वन्धि तालिम प्राप्त गरे। १ वर्ष गाउँमै थान्का, चित्रकारिता र भित्ते लेखन सिकेपछि उनी सिकात्सेका थान्का पेन्टर तेन्जिङ निङ्गोको काठमान्डौंस्थित स्कुलअफ तिब्बतीयन थान्का स्कुलमा भर्ना भए। त्यहाँ बसेर उनले २ वर्ष थान्का पेन्टिङको एडभान्स तालिम लिई पेन्टिङ दायरालाई अझ फराकिलो बनाए।
बौद्ध दर्शनलाई सहजताका साथ व्याख्या गर्न सकिने सजिलो माध्यम हो ‘थान्का’। तिब्बती शब्द ‘थान्का’को शाब्दिक अर्थ हो ‘अभिलेखिकरण गरिएको सन्देश’ भन्ने बुझिन्छ। सुती वा रेशमको बुट्टेदार कपडामा बनाएको चित्रलाई थान्का भनिन्छ। जसमा बौद्ध धर्म झल्किने देवीदेवताका कलात्मक चित्रलाई थान्कामा उतारिन्छ। यस्ता चित्रहरु गुम्बाहरुको भित्तामा सजाईन्छ। छिरिङ फेन्जो यस्तै थान्का चित्र कोर्ने अभ्यास तालिम लिएका थिए।
अभुतपूर्व रुचि र ईच्छ्याशक्ति भएका युवा छिरिङ फेन्जो यस सम्बन्धी सतहीमा पुगेर डुबुल्की मार्न चाहन्थे। दृष्य हेरेर चित्र कोर्ने, प्राकृतिक सुन्दरता नियालेर जस्ताको त्यस्तै हुबहु पन्नामा उतार्ने लेन्ड स्केप पेन्टिङ गर्नेतर्फ उनको अभिरुचि बढ्न थाल्यो। फलतःउनले काठमाण्डौंकै बौद्धमा ल्याण्ड स्केप तालिम दिईरहेका पुष्प आले र रुपक राईबाट ३ वर्षीय ल्याण्ड स्केप कोर्श पूरा गरे। चित्रकारिता, पेन्टिङ, थान्का र ल्याण्ड स्केप तालिम र अध्ययन पूरा गरेका छिरिङको आर्यआजर्न गर्ने पहिलो बाटोे अप्पर मुस्ताङबाटै खुल्यो।
अप्पर मुस्ताङमा सदियौं पुराना थुक्तेन, गुम्बा र मठमन्दिर जीर्ण भईसकेका थिए, तर तीनका पुनजिर्वित गर्ने स्रष्टाको कमी थियो। त्यहाँको सम्पदा पुनःनिमार्ण आवश्यक थियो। उनले ईटालियन भित्ते चित्रकार लुईजी फिएनीसंग सहकार्य गर्दै त्यहाको धार्मिक, सांस्कृतिक र पुरातात्तिक महत्वका बस्तुहरुमा पेन्टिङ भर्ने र भित्ते लेखनको काम पूरा गरे। तर, उनले यतिधेरै ज्ञान, शीप र क्षमता विस्तार गरेपनि चित्रकारिता चटक्कै छोडेर कोरिया भौतारिए।
मुस्ताङका युवाहरु धेरैजसो बिदेशीएका छन्। बिदेश गएर डलर कमाउने महत्वाकांक्षा उनलाई पनि जाग्यो। उनी चित्रकारिता र पेन्टिङको अनुभव बटुल्दै गर्दा उनलाई पनि समयक्रमले कोरियातर्फ हुत्याईदियो। काम गरेर पैसा कमाउन बिदेशीएका छिरिङ फेन्जो कोरियामा रहँदा तिनै चित्रकारिता र पेन्टिङको कामलाई सम्झन थाले। बस्दा, उठ्दा र खाँदासमेत पेन्टिङ र चित्रकारिताको बिम्ब उनको मानसपटलमा घुमिरहन थाल्यो। सानैदेखि अमूर्त सपना साकार पार्न चित्रकारिता थालेका उनी कोरिया बसाई उनका लागि बोझ बन्यो।
चित्रकारिताको हुटहुटी अतितले उनलाई १ वर्ष बित्न नपाउदैँ स्वदेश फर्किन बाध्य बनाईदियो। त्यसपछि उनी आफ्नै जन्मभूमी नेपाल फर्किए। अहिले पनि चित्रकारिता, थान्का, भित्ते लेखन र पेन्टिङ पेशालाई निरन्तरता दिईरहेका छन् उनले। उनी भन्छन् ‘पेन्टिङ र चित्रकारिता बाहेक अरु केही पनि सोच्न सकिन। ज्ञान शिप र क्षमता भए स्वदेशमै काम गरेर मनग्ये कमाउँन सकिन्छ भन्ने लाग्यो, त्यसपछि नेपाल फर्किए। उनले भने।’
छिरिङ फेन्जो राष्ट्रिय चित्रकला प्रर्दशनीमा ३ पटकसम्म सहभागीको रुपमा छनौट भए। मुस्ताङ, काठमाण्डौँ र पोखरामा उनले चित्रकारिता प्रदर्शनीसमेत गरे। यसपटक छोसेरको झोङ गुफामा लोमान्थाङ गाउँपालिकाले आयोजना गरेको पहिलो लोमान्थाङ महोत्सवमा चित्रकारिता शो गरेका हुन्। अप्पर मुस्ताङका रोल मोडल युवा चित्रकार छिरिङ थान्का र लेन्ड स्केप चित्रकारितामा मात्र दख्खल राख्दैँनन् भित्ते चित्रकारिता, बिभिन्न धार्मिक गुम्बा, मठमन्दिर र देवी देवताका मूर्तिहरुको सजावट र पेन्टिङ भर्ने काम पनि पोख्त छन्। पछिल्लो समय उनले फुन्चोक टसी छोलिङ गुम्बामा भित्ते चित्रकारिता गरिसकेका छन्। उनले यस कार्यमा समर्पित भएर लागि परेको २२ वर्ष पूरा भईसकेको छ।
छिरिङ फेन्चो कहिले काठमाण्डौँ, कहिले पोखरा र कहिले अप्पर मुस्ताङमा यहीँ काममा व्यस्त रहन्छन्। उनी गाउँका बेरोजगार यूवाहरुलाई आफूजस्तै चित्रकारिता गर्ने सक्षम नागरिक होस् भन्ने चाहन्छन्। गाउँका युवाहरुले उनलाई रोल मोडलकोरुपमा लिन्छन्। हिउँदेयाममा काठमाण्डौँ, पोखरा र वर्षायाममा गाउँघर उक्लने गर्छन। गाउँघरका गुम्बा मठमन्दिर, थुक्तेन र भौगोलिक ल्याण्ड स्केप सम्वन्धी निःशुल्क युवाहरुलाई काम सिकाउने गर्छन्। आउटडोर, ईनडोर, थान्का पेन्टिङ र फर्निचर लगायतमा आर्कषक बुट्टा भर्ने पेन्टिङ गर्ने गर्छन् उनी। उनले कामको बिवरण र श्रम हेरेर कामको ठेक्का लिने गर्छन्। उनले कोरेको चित्रलाई २० हजार देखि ५० हजारसम्म बिक्री गर्ने गरेको बताउछन्। तयार गरेका तस्विर र पेन्टिङ बढी मात्रामा बिदेशी पर्यटकले मन पराउने र खरित्ने गरेको उनको भनाई छ।
पछिल्लो समय पुराना ऐतिहासिक, धार्मिक, सांस्कृतिक चिनारी र भौतिक सम्पदा मासिन थालेको अवस्थामा उनले पुराना खजानाहरुको खोजी गर्दै ईतिहासमा सुरक्षित राख्ने उद्देश्यले दुर्लभ बस्तुहरुको संकलन गर्दै पेन्टिङ चित्र कोर्छन्। उनी भन्छन्,‘आफूले सृजना गरेको सामाग्री स्वदेश विदेश र गाउँठाउँमा पस्कन पाउँदा खुसी लाग्छ।