गर्भवती र सुत्केरीलाई पोषण तथा सरसफाई सामाग्री वितरण
सन्धिखर्क : सन्धिखर्क नगरपालिकामा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरण गरिएका छ। नगरपालिकाको वडा नम्वर १० मा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरण गरिएको हो।
गर्भवती तथा सुत्केरी अवस्थामा साविक भन्दा बढी पोषिलो खाना र सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ। पोषिलो खाना र सरसफाइमा गर्भवती तथा सुत्केरी महिला तथा घर परिवारका महिलाहरुको ध्यान पुगोस भनेर पोषण तथा सामाग्री वितरण गरिएको नगर प्रमुख ठाकुरकुमार बिकले बताए।
वडाभित्र रहेका गर्भवती र २ वर्षभित्रका सुत्केरी महिलाहरुका लागि अण्डा, चना, साबुन, कोलगेट, ब्रस लगायतका पोषण तथा स्वास्थ्य सामाग्री वितरण गरिएको वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले बताएका छन् ।
गर्भावस्थादेखि बच्चा २ वर्षको हुने समय सम्मको लागि सुनौला हजार दिन भनिन्छ। हजार दिनका महिलाहरुलाई अन्य समय भन्दा बढी मात्रामा पोषिलो खाना खानुपर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताए। गर्भवती जाँच गरी शुन्य होम डेलिभरी नगरपालिका बनाउन तथा स्वास्थ्य समाजको निर्माण गर्न यस्ता खाले कार्यक्रमले सहयोग गर्ने स्वास्थ्य शाखा प्रमुख पराजुलीको भनाई छ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी हजार दिनका महिलाहरुका अण्डा, चना, साबुन, कोलगेट, ब्रस लगायतका पोषण तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो।