देशको मायाले पोतियो नेपाल आइडल (भिडियो)
काठमाडौं : देश नै रहेन भने नागरिकको परिचय हराउँछ। देशको माया सबैलाई छ। यस्तै भावमा देशको माया र देशभक्तिपूर्ण सन्देश बोकेका गीतको प्रस्तुतिसँगै नेपाल आइडलको सिजन ४ को २४औं शुक्रबारीय कार्यक्रम रंगियो।
फर्की आउ शान्ति तिमी लालीगुराँस भन्छन्
फर्की आउ शान्ति भन्दै डाँफे मुनाल रुन्छन् ।
शान्ति क्षेत्रका रूपमा चिनिएको नेपालमा पुनः शान्ति चाहिएको छ भन्दै कार्यक्रमको सुरुवातमा अपिल गर्दै मञ्चमा देखिए अतिथि कलाकार कर्णदास। देशभक्तिपूर्ण गीतमा पहिचान बनाएका कर्णदासको उपस्थितिसँगै नेपाल आइडलमा बेग्लै रौनकता छाएको थियो। सारी चोलीमा चिटिक्क परेर कार्यक्रममा उपस्थित भएकी बेनिशा पौडेलले भन्दै थिइन्, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे...’ साँच्चिकै नेपाली हुनका लागि नेपाल बाँच्नुपर्छ। हप्ताको दुई दिन एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडल सिजन ४ फाइनलको नजिक पुगेको छ।
जतिजति फाइनल नजिक हुँदैछ प्रतियोगीहरूको कला, गला र क्षमतामा निखारता भेटिन्छ। अलिकति आशावादी हुँदै कार्यक्रममा देखिएका थिए विश्वास उप्रेती। उनले भन्दै थिए, ‘बन्छ है नयाँ नेपाल..’ विभिन्न कारणले लय लिन नसकेको देशले आशा गरौं अब पक्कै गति समाउँछ। यस्तै आशयको भाव गीतमा सुन्न सकिन्थ्यो। जाग लम्क चम्क है नौ जवान हो...भन्दै फूर्तिसाथ कार्यक्रमका आए नाङ्गेल तामाङ। उनले देशलाई बनाउन ढिला भइसक्यो। अब उठ्ने र जुट्ने बेला आयो भन्दै सबैलाई अगाडि लम्कनको लागि आग्रह गरे। आँखेैमा राख्छु मेरो देश भन्दै थिइन् सुमिन पाख्रिन। उनलाई पनि देशको मायाले हायलकायल बनाएको देख्न सकिन्थ्यो। मेरो देश डुब्नै लाग्यो किनार लगाइदेऊ भन्दै चिन्ता व्यक्त गर्दै थिए रञ्जित नेपाली। हुन त हरेक नेपालीलाई देशको चिन्ता छ।
देश डुब्न लागेको बेला बचाउन खोज्ने नै सच्चा नेपाली हो। वीरताको चिनो, वीरको सन्ताप बोलको देशभक्तिपूर्ण गीतमा निकै राम्रो प्रस्तुति दिएर सबैको मन जित्न सफल भइन् लक्ष्मी नेपाली। उनले आफ्नोे बेग्लै शैलीमा गीतलाई भरपूर्ण न्याय गरिन्। कार्यक्रमको अन्तिममा भूपेन्द्र थापामगरले निकै कर्णप्रिय स्वरमा प्रस्तुति दिए। उनले भन्दै थिए, ‘बनेको छ पहराले यो छाती मेरो,बगेको छ, छहरा रगतमा मेरो..’ नेपालीहरू वीर गोर्खालीको नामले परिचित छन्। शत्रुसँग कहिल्यै पनि नझुक्ने नेपालीहरू साँच्चिकै वीर छन्।
यही वीरताको भाव झल्कन्थ्यो उनको प्रस्तुतिमा। देशको मायालाई दर्शाउँदै सुरु भएको शुक्रबारीय नेपाल आइडल विशेष रह्यो। कोकाकोला पफरमर अफ द डे को उपाधि बेनिशा पौडेलले प्राप्त गरिन्। यो उपाधिसँगै उनले गितार र १५ हजार नगद प्राप्त गरिन्। एपीवान टेलिभिजनको विशेष प्रस्तुति हो नेपाल आइडल। सिजन ४ फाइनलको नजिक पुगेको छ। कार्यक्रमका निर्देशक तथा प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार आगामी चैतको पहिलो हप्ता नेपाल आइडल सिजन ४ को विजेता घोषणा गरिनेछ।