सगरमाथा क्षेत्रमा १३ सय टन कार्गो ढुवानी
सोलुखुम्बु : सोलुखुम्बुको लुक्लामा एक वर्ष भित्र कार्गो मार्फत १ हजार ३ सय टन खाद्यन्न तथा निर्माण सामाग्री भित्रिएको छ। सन् २०२१ मा फाप्लु र काठमाण्डौंबाट १३ लाख किलो कार्गो लुक्ला ढुवानी भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ।
ढुवानी गरिएको सामाग्रीहरुमा तरकारी, चामल, दाल लगायतका खाद्यन्नसहित निर्माण सामाग्रीहरु जस्ता, सिमेन्ट, काठ लगायतका रहेको प्राधिकरणका कर्मचारी विक्रम सिंह बस्नेतले जानकारी दिए। तर सन् २०२० को तुलनामा कार्गो ढुवानीमा भने सामान्य गिरावट आएको छ।
२०२०मा १३ लाख ६५ हजार ९ सय १५ किलो सामाग्री खुम्बु ढुवानी भएको प्राधिकरणको तथ्यांक छ। गत दुई वर्षको ढुवानीलाई तुलना गर्दा २०२० मा भन्दा २०२१ मा ४ प्रतिशतले कार्गो ढुवानीमा गिरावट आएको छ।
सन् २०२० को मध्यबाट कोभिड सुरु भएपनि २०२१ को सुरुवात देखि नै कोभिडले सिजन ठप्प हुँदा ढुवानी तथा खपतमा कमी आएको स्थानीयको अनुमान छ। खुम्बुमा तरकारी सहितका खाद्यन्न र निर्माण सामाग्री ढुवानीका लागि हेलिकप्टोर प्रयोग गर्ने गरिएको छ।
लुक्लासम्म सिधा सडक सञ्जालले नजोडिएका कारण खुम्बुमा सामाग्री ढुवानीका लागि कार्गोलाई भरपर्दो माध्यमकोरुपमा लिने गरिन्छ। लुक्लाभन्दा तल काँडे थामडाँडासम्म मात्रै सडक सञ्जाल पुगेकाले त्यहाँबाट ढुवानी गर्न मान्छेले बोक्नुपर्ने झन्झटका कारण हेलिकप्टर वा विमानकोे भरपर्दै आएको स्थानीयले बताएका छन्।