गल्याङका २२ हजार बाख्रालाई पीपीआरविरुद्वको खोप
स्याङ्जा : गल्याङ नगरपालिकाले २२ हजारवटा बाख्रालाई पीपीआरविरुद्वको खोप लगाइने भएको छ। बाख्रामा लाग्न सक्ने पीपीआर रोग नियन्त्रण तथा रोकथाम गर्ने उद्धेश्यले नगरभित्रका सबै बाख्राहरुलाई निःशुल्क खोप लगाईने भएको हो।
नगरपालिकाका ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गतेसम्म सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। पालिकाले फागुन महिनाको पहिलो सातादेखि खोप अभियान सुरु गरेको हो।
गल्याङ नगरपालिकामा हाल करिब २२ हजार बाख्रा रहेको र सबै बाख्रालाई खोपको व्यवस्था गरिने बताइएको छ। नगरमा व्यवसायिक बाख्रापालक किसानहरुको संख्या पनि बढी छ। किसानलाई बाख्रापालनतर्फ आर्कषित गर्न पालिकाले बाख्राको मासुमा अनुदानको व्यवस्था गर्न लागेको नगरप्रमुख भूपराज अधिकारीले जानकारी दिए। उनले भने, ‘कार्यविधि बनाएर अनुदान दिने तयारीमा छौं।’
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, पशु सेवा शाखा प्रमुख सुशिल अर्याल, पशु चिकित्सक अनिश सापकोटाले नगरभित्रका सबै बाख्रामा निशुल्क खोप लगाउने अभियान तथा व्यवस्थापनमा जुटेको बताए।
नेपालमा २०५०÷५१ मा पहिलो पटक पीपीआर रोग देखा परेको बताइएको छ। बाख्रा पालन ब्यवसायमा उन्मुख पालिकामा पीपीआर देखियो भने किसानका मेहनत र लगानीमा असर पर्न सक्छ भन्दै रोग नियन्त्रणका लागि पीपीआरविरुद्वको खोप लगाइएको पशु शाखा प्रमुख सुशिल अर्यालले भने।
पशु चिकित्सकसहित पशु प्राविधिकहरु घरघरमा पुगेर बाख्रालाई पीपीआर विरुद्धको खोप लगाउने काममा खटिएका छन्।