सकियो यान्त्रिक उडान
भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सुचारु अघि गरिएको यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सकिएको छ। थाइल्याण्डबाट ल्याइएको विशेष विमान मार्फत उडान भरेको विमानको दुरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परिक्षणहरु गरिएको हो।
थाइल्याण्डको पाइलटसहितको प्राविधक टोलीले नौ दिनसम्म यान्त्रिक उडान गरेर संचार लगायत उपकरणहरुको जाँच गरेको हो। ‘यान्त्रिक उडानको प्रराम्भिक रिपोर्ट अनुसार विमानस्थलमा जडान भएका संचार लगायत उपकरणहरु ठिक पाइएको छ’ विमानस्थलको आइसीपी टू आयोजनाका प्रमुख प्रविण न्यौपानेले भने, ‘फाइनल रिपोर्ट आएपछि एकिन हुन्छ ।’
विमानस्थल संचालन पूर्व जडान गरिएको संचार उपकरणहरुको परिक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ। जसबाट जडान गरिएका उपकरणहरु ठिक भए\नभएको रिपोर्ट आएपछि सोही अनुसार अघि बढ्छ ।
विमानस्थलको दुई चरण आइसीपी वान (भौतिक संरचना निर्माण) र आइसीपी टू (संचार उपकरण जडान) अन्र्तगतमा काम भएको छ। विमानस्थलको आईसीपी टू को ठेक्का पाएको एरो थाई कम्पनीले यान्त्रिक उडान गरेको हो।
‘कम्पनीलाई आन्तिरक र फाइनल गरी दुई वटा रिपोर्ट सकेसम्म छिटो उपलब्ध गराउन भनेका छौँ’ उनले भने, ‘दुवै रिपोर्ट आएपछि सोही अनुसार थप पक्रिया अगाडि बढाउँछौँ।’ सम्भवत १५\२० दिन भित्र यान्त्रिक उडानको दुवै रिपोर्ट आउने बताइएको छ।
विमानस्थल संचालनका लागि ‘मिसन भैरहवा’ नाम दिएर माघ १२ गतेदेखि सय दिनको योजना अन्र्तगत कामहरु भइरहेका छन्। विमानस्थल संचालनका लागि पर्यटन मन्त्रालय अन्र्तगतका निकायबाट कामहरु भइरहेपनि गृह, अर्थ लगायत मन्त्रालय अन्र्तगतबाट हुने काम ‘फिल्ड’मा देखिएको छैन।
अगामी ०७९ साल जेठ २ गते विमानस्थल संचालनका लागि मिती\लक्ष्य राखिएपनि विमानस्थलमा महत्वपूर्ण मानिने गृह अन्र्तगतको अध्यागमन र अर्थ अन्र्तगतको भन्सार कार्यालय राख्ने कुनै सुरसार देखिएको छैन। यस बाहेक अन्य मन्त्रालय अन्र्तगत रहने कार्यालयहरु पनि स्थापनाको कार्य अगाडि नबढाइएको पाइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र अन्य मन्त्रालयबीच समन्वय भएको नदेखिदाँ विमानस्थल संचालन लक्ष्य राखिएको मिती अझै धकेलिन सक्ने सम्भवना देखिएको छ।