शिवका अनन्य भक्त थिए रावण

शिवका अनन्य भक्त थिए रावण

दक्षिण एसियाली मुलुक श्रीलंकाले सन् २०१९ मा आफ्नो पहिलो भू–उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गर्‍यो। केही वर्षअघिसम्म गृहयुद्धका कारण अन्तर्राष्ट्रिय हेडलाइनहरू ओगट्ने देशका निम्ति यो ऐतिहासिक क्षण थियो। श्रीलंकाले अन्तरिक्षमा खाता खोलिरहँदा अर्को एउटा कारणले पनि चर्चा बटुलिरहेको थियो। उसले आफ्नो पहिलो भू–उपग्रहमार्फत अन्तरिक्ष युगको महत्त्वाकांक्षा प्रकट गरेसँगै त्यो भू–उपग्रहलाई रावण–१ नाम दिएर एउटा सांस्कृतिक सन्देश दियो। नेपालको पहिलो भू–उपग्रह नेपाली स्याट–१ र श्रीलंकाको रावण–१ तीन वर्षअघि एकै दिन प्रक्षेपण गरिए।

श्रीलंकाले रावण–१ हिन्दू महाकाव्य रामायणका पौराणिक चरित्र लंकाका राजा रावणलाई समर्पित गरेर नामकरण गरेको थियो। छिमेकी मुलुक भारतले करिब ५० वर्षअघि नै आफ्नो पहिलो भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको थियो जसलाई ‘आर्यभट्ट’ नाम दिईएको थियो। भारतले उक्त भू–उपग्रहको नाम प्रसिद्ध गणितज्ञ र खगोलशास्त्रको विधामा उल्लेखनीय योगदान पुर्‍याएका ऐतिहासिक व्यक्तित्व आर्यभट्टप्रति 
समर्पण गर्‍यो। श्रीलंकाले अन्तरिक्ष युगमा प्रवेश गरिरहँदा गौरवशाली विगतलाई कदर गर्दै रामायणका खलपात्र रावणप्रति श्रद्धा दर्शायो।

श्रीलंकाको अन्तरिक्ष युगमा प्रवेश गरेसँगै हामी एकछिन रामायणकालीन समयतिर फर्कौं। विश्व साहित्यमै सबैभन्दा प्राचीन महाकाव्यमध्येको एक मानिएको संस्कृत भाषाको रामायण हिन्दू संस्कृतिमा प्रभाव पारेको महत्त्वपूर्ण कृति हो। यही रामायणका प्रमुख पात्रमध्येका एक र लंकाका राजा रावण अयोध्याका राजा रामकी पत्नी सीताको अपहरणकर्ता थिए। रामायणमा वर्णन गरिएअनुसार रावण ज्ञानी थिए तर अहंकारी थिए। जसको सीताप्रतिको अनुचित व्यवहार र दम्भका कारण घटना घटाइए। घटनाका शृंखलाले अयोध्या र लंका राज्यबीच द्वन्द्व भीषण युद्धमा परिणत भएको थियो। सिनेमाका पात्रजस्तै रामायणमा राम नायक थिए भने रावण खलनायक र अन्तत्वोगत्वा घमण्डले रावण अयोध्याका राजा रामका सामु पराजित भए। अन्ततः उनको सर्वनाश नै भयो। लंकाको यो वियोगान्त पृष्ठभूमिमा टेकेर ‘फास्ट फर्वार्ड’ गर्दै आधुनिक विज्ञानको चमत्कारले सम्भव तुल्याइदिएको अन्तरिक्ष युगमा श्रीलंकाले प्रक्षेपण गरेको रावण–१ लाई हेरौं। महर्षि वाल्मीकिले रचेको संस्कृत महाकाव्य रामायणमा रामलाई ईश्वरीय अवतारले सुशोभित मर्यादा पुरुषोत्तमका रूपमा चित्रण गरिएको छ। लंकाका राजा रावणलाई भने दुष्ट र राक्षस राजाका रूपमा चित्रण गरिएको छ। श्रीलंका पुग्दा रावणको नेपाल र भारतमा गरिएको खलनायकत्वको चित्रण र रामायणमा घटेको घटनालाई श्रीलंकालीले कसरी हेर्छन् भन्ने विषयको सम्बोधन सायद त्यहाँको प्रसिद्ध कोनेश्वरम मन्दिर जाँदा छर्लंग हुन्छ।

तीन वर्षअघि श्रीलंकाले रावण–१ अन्तरिक्षमा प्रक्षेपण गरिरहेको समाचार पढिरहँदा सन् २०१२ मा त्यही कोनेश्वरम मन्दिरभित्र रावणले नित्य पूजा गर्ने कुनाको सम्झना आइरह्यो। करिब तीन दशक लामो गृहयुद्धको घाउ सुक्दै गरेको समय थियो त्यो। त्यसबेला द्वन्द्वले सर्वाधिक प्रभावित त्यहाँको उत्तरपूर्वी प्रान्तस्थित ट्रिन्कोमाली सहर पुग्दा कोनेश्वरम पुग्ने मौका मिलेको थियो। द्वन्द्वका बेला सबैभन्दा प्रताडित क्षेत्र श्रीलंकाको उत्तरी पुछार जाफ्ना प्रान्तपछि सिंहाली सेना र तमिल टाइगर्सबीच मुठभेड भयो। सोही कारण पीडादायी हिंसा बेहोरेको ट्रिन्कोमाली नजिकैको गोकर्ण खाडी र हिन्द महासागरको छेउमा कोनेश्वरम मन्दिर अवस्थित छ।

श्रीलंकास्थित कोनेश्वरम मन्दिरको गर्भ–गृहमा शिवलिंग छ। मन्दिरमा रामायणमा चित्रित रावणको पूजाकोठा पनि छ। कोनेश्वरममा कुनै समय रावण र उनकी आमा कैकेशीले शिवको पूजा–आराधना गर्थे भन्ने मान्यता छ।

दक्षिण भारतमा यत्रतत्र देखिने द्रविड वास्तुकलामा आधारित हिन्दू मन्दिर कोनेश्वरमको भौगोलिक विशेषता भनेको मन्दिर र समुद्रको बीचमा अवस्थित दुई फ्याक परेको चट्टानले बनेको ठाडो भीर हो। जसलाई रावण फाँट भनिँदो रहेछ। पौराणिक कथाका अनुसार बौद्ध भिक्षु मञ्जुश्रीले तरबार प्रयोग गरी काठमाडौं उपत्यकाको विशाल तालको पानी बग्ने निकास निर्माण गरेर सहर बसाएको कथा छ। ठीक त्यस्तै कोनेश्वरममा रावण फाँट र भीरसम्बन्धी किंवदन्ती रहेछ। आफ्नो विलक्षण अवस्थिति र मनोरम प्रकृतिका कारण पूर्वी श्रीलंकाको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक धरोहर मानिने यही कोनेश्वरम मन्दिरमा कुनै समय रावण र उनकी आमा कैकशीले शिवको पूजा–आराधना गर्थे भन्ने मान्यता छ। कैकशी बिरामी भई थला परेकाले मन्दिर जान नसकेपछि रावणले आफ्नो तरबारले मन्दिरलाई उठाएर आमा कैकशीसामु लैजाने प्रयास गरे। त्यसो गर्न खोज्दा शिवले रावणको तरबारलाई प्रहार गरेका हुनाले त्यो तरबारले नजिकैको समुद्रमा फन्को मार्‍यो। त्यसपछि त्यहाँको चट्टानी भीरलाई चिर्‍यो। त्यसैले त्यो ठाउँंलाई रावण फाँट नाम दिइएको रहेछ।

कोनेश्वरम पुग्दा रामायणमा चित्रित रावणको पूजाकोठाका हेर्न उत्सुक थिएँ। सानो छँदा देखेको हिन्दी धारावाहिक रामायणका रावण पात्रलाई त्यहाँ पुग्दा लंका दरबारभित्रको पूजा कक्षभित्र शिव ताण्डव स्तोत्र वाचन गरिरहेको सम्झना आयो। कोनेश्वरम मन्दिरको गर्भ–गृहमा रहेको शिवलिंगका बारेमा बुझ्न कौतुहलता जाग्यो। रामायण धारावाहिकमा देखाएजस्तो बडेमानको ढोल बजाएर नाच्ने र स्तोत्र वाचन गर्दै महादेवप्रति अद्वितीय भक्तिभाव प्रकट गर्ने कक्ष रहेको पुरोहितले जानकारी दिए। राजधानी कोलम्बोदेखि सुरु भएको यात्रा र जता हेर्दा पनि बुद्धका प्रतिमा देखिने देशको मन्दिर कोनेश्वरममा रावणको पूजा कोठा रहस्यमय लाग्यो। हुनत नेपालको पशुपतिनाथ मन्दिरमा हरेक साँझ आयोजना गरिने आरतीसँगै शिव ताण्डव स्तोत्रमको सांगीतिक वाचन गरिन्छ। उक्त स्तोत्रमका रचयिता उनै रावण थिए।

रामायणका खलपात्र रावण गहिरो धार्मिक आस्था भएका आफ्नो समयका अनन्य शिवभक्त रहेछन्। श्रीलंकामा रावणलाई भगवान् त मानिँदैन नै तर वाल्मीकिको रामायणमा चित्रित गरिएजस्तो खलनायकका रूपमा पनि स्विकारिँदैन। ठीक विपरीत लंका राज्यमाथि गिद्देदृष्टि लगाउने आक्रमणकारीबाट बचाउने र प्रतिरोध गर्ने राष्ट्रवादी र शक्तिशाली राजाका रूपमा रावणप्रति श्रीलंकालीको अपार श्रद्धा रहेछ। रावणलाई श्रीलंकाले इतिहासकै सबैभन्दा शक्तिशाली शासकका रूपमा सम्मान गर्ने रहेछ। साथै विलक्षण वैज्ञानिक र अन्वेषकका रूपमा पनि सम्मान गर्दा रहेछन्। सायद त्यसैले होला, रामायण कथामा पुष्पक विमानको प्राविधिक चमत्कारसित उनलाई जोडेर हेरिएको। अनि, अन्तरिक्ष युगको पहिलो हस्ताक्षर पनि श्रीलंकाले रावणकै नाममा राखेको। हिन्दू धर्मावलम्बीले अयोध्याका राजा रामलाई पूजा–अर्चना गरेजस्तो रावणलाई कोनेश्वरम मन्दिर वा अरू कतै श्रीलंकालीले पुज्दैनन्। तर यतिबेला त्यहाँका गैरहिन्दू सिंहालीले नै रावणलाई राष्ट्रवादको प्रतिनिधित्व गर्ने सच्चा ऐतिहासिक पात्रका रूपमा अगाडि सार्छन्।

कतिपय विश्लेषकहरूले बौद्धधर्मी बाहुल्य भएको सिंहालीहरूको यो नयाँ अभियानलाई ‘रावण राष्ट्रवादको पुनर्जागरण’को संज्ञा दिएका रहेछन्। आफ्नो शासनकालका दौरान रावणले श्रीलंकालाई यो क्षेत्रकै सबैभन्दा समृद्ध राज्यका रूपमा विकास गरे। त्यसैले सायद अहिले श्रीलंकाको सांस्कृतिक पुनर्जागरणमा रावण प्रमुख पात्र भएका छन्। शिवका अनन्य भक्त रावणप्रति वाल्मीकिको रामायणले अन्याय गरेको मान्यता राख्ने श्रीलंकालीहरूको एउटा तप्का यतिबेला रावणको छवि सुधार्ने अभियानमा जुटेको छ। तर, श्रीलंका आफैंमा भने बौद्ध धर्मावलम्बीको देश भनेर चिनिन्छ।

करिब तीन चौथाइ जनसंख्याले अभ्यास गर्ने बौद्ध धर्मलाई श्रीलंकाको संविधानले पहिलो प्राथमिकतामा राखेको छ। बुद्ध जन्मस्थल लुम्बिनी नेपालमा भएका कारण श्रीलंकालीले नेपाल र नेपालीप्रति अपार श्रद्धा र सम्मान दर्शाउँछन्। बुद्धधर्मी सिंहालीको प्रभुत्व भएको श्रीलंकामा हिजो दशकौंसम्म उत्तरका तमिल हिन्दूहरू र सिंहालीबीचको द्वन्द्वले भीषण गृहयुद्धको रूप लियो। २०४३–४४ सालतिर जतिबेला श्रीलंकाको गृहयुद्ध चरम उत्कर्षमा थियो त्यतिबेला नेपाल टेलिभिजनको अन्तर्राष्ट्रिय समाचारको प्रमुख शीर्षकले प्रायः या इरान–इराक युद्ध समेट्थ्यो या त श्रीलंकाको गृहयुद्ध ओगट्थ्यो। श्रीलंकामा बसोबास गर्ने समुदायमध्ये दुई–तिहाइ जनसंख्या भएका इन्डो–आर्यन जातीय समूहका सिंहाली छन्। सिंहालीहरूको मुख्य पहिचान उनीहरूको मौलिक भाषा र सांस्कृतिक सम्पदाहरूका साथै बहुसंख्यक सिंहालीको धार्मिक आबद्धता थेरबाद बौद्ध धारसित जोडिएको छ। श्रीलंकाका अल्पसंख्यक तमिलहरू मूलतः दुई थरीका छन्, एक जो सयौं वर्षअघि बसाइँ–सराइँ गरी दक्षिण भारतबाट आए। अर्कोथरी जो तुलनात्मक रूपमा हालै आएका आप्रवासीका तमिल–भाषी वंशज र अधिकांश तमिल मुख्यतया हिन्दू छन्।

बेलायती उपनिवेशबाट मुक्त भई सन् १९४८ मा स्वतन्त्रता हासिल गरेको श्रीलंका केही दशक नबित्दै जातीय द्वन्द्व र गृहयुद्धको चपेटामा नराम्रोसित फस्यो। वरिपरि हिन्द महासागरले घेरिएको र बाहै्रमास एकैनासको मौसम र मनमोहक समुद्री तटहरूले सजिएको सुन्दर देश छ, श्रीलंका। तर, गृहयुद्धको अनुभव पीडादायी रह्यो। श्रीलंकामा द्वन्द्वको उत्पत्ति त्यो मुलुकको औपनिवेशिक युग र त्यसपछिको उत्तर–औपनिवेशिक नीतिहरूका कारण सिर्जित सामाजिक र आर्थिक असमानताहरू थियो। रावणको भक्ति र रामायणकालको कथावस्तुसित जोडिएको कोनेश्वरम मन्दिरनजिकैको सहरमा सन् २००९ मा सैनिक मुठभेडमा विद्रोही लिट्टेका कमान्डर प्रभाकरण मारिए। त्यसपछि श्रीलंकाको गृहयुद्ध अन्त्य भयो। बहुसंख्यक हिन्दू तमिलहरूको बसोबास रहेको जाफ्नालगायत उत्तरपूर्वी क्षेत्रको मध्य भागमा अवस्थित कोनेश्वरमले रावण भक्तिको पौराणिक विरासतदेखि लाखौंंको पीडादायी आँसु र हजारौंको चिहान देखेको छ।

श्रीलंकाले हिंसात्मक विगतलाई बिर्सिएर शान्तिको मार्ग पहिल्याउँदा पनि कतिपय घाउ आलै महसुस हुन्थ्यो त्यहाँ पुग्दा। ध्यानस्थ बुद्धका प्रतिमाहरू र रावणको पूजा–कक्ष कोनेश्वरम वरिपरि मेसिनगनधारी सैनिकहरू देखिनु सामान्य जस्तो लाग्थ्यो। हिंसात्मक विगतले जन्माउने सबैभन्दा अप्रिय ‘साइड–इफेक्ट’ अविश्वास भएका कारणले सायद। प्रत्येक असलभित्र केही खराब हुन्छ र हरेक खराबीभित्र पनि असलको बीउ रहेको हुन्छ भन्ने मान्यता जस्तै श्रीलंकाले रामायणको रावणसम्बन्धी भाष्यमा सुधार खोजेको देखिन्छ। सायद श्रीलंकाले रावणको शासनको कौशलता, निष्ठा र शिवप्रतिको अतुलनीय भक्तिका कारण पनि रावणप्रति केही सम्मान खोजेको हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.