युक्रेनलाई रुसी सैन्य आक्रमणबाट जोगाउन ईयूसँग जेलेन्स्कीको हारगुहार, फेरि मागे सदस्यता
काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संघसँग आफ्नो देशलाई सदस्य बनाउन पुन: माग गरेका छन् ।
राष्ट्रपति जेलेन्स्कीले सोमबार सार्वजनिक सम्बोधन गर्दै युक्रेनलाई रुसी सेनाको आक्रमणबाट बचाउनका लागि तत्काल विशेष प्रक्रियाअन्तर्गत सदस्यता प्राप्त गर्ने अनुमति दिन युरोपेली संघसँग माग गरेको रोयटर्सले जनाएको छ ।
रसिया र युक्रेनबीच पाँच दिनदेखि युद्ध जारी छ । रुसी सेना तीव्र गतिमा अघि बढिरहेका छन् । रुस र युक्रेनको युद्धको कारण नै युरोपेली संघको सदस्यता र नाटो सदस्यता लिने विषय रहेको छ । आफ्नो सुरक्षा चासोलाई चुनौती दिएको भन्दै रुसले युक्रेनमाथि आक्रमण गरेको छ ।
तर यहीँ बेला राष्ट्रपति जेलेन्स्कीले युरोपेली संघसँग हारगुहार गर्दै तत्काल सदस्य बनाउन माग गरेका छन् ।