विश्वकल्याणका लागि पशुपतिनाथ

विश्वकल्याणका लागि पशुपतिनाथ

भक्तजनको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिका दिन शिवको दर्शन र पूजाअर्चनाका क्रममा लाखौंको भीड लाग्ने गर्छ। विश्वमा नै पञ्चमुखी शिवलिंगको ठूलो महŒव छ। अन्यत्र कतै नभएको पञ्चमुखी शिवलिंगको पूर्वीमुख शिवको हो भने पश्चिममुख नन्दीस्वरूपको हो। उत्तरमुखलाई उमा अनि दक्षिणमुखलाई भैरव स्वरूप मानिएको छ। माथितिरको मुख महादेवको हो। यस्तै पूर्वीमुख तत्पुरुष, उत्तर वामदेव, पश्चिम सद्योजात र दक्षिणमुख अघोरको रूपमा लिइन्छ भने ऊध्र्वमुखलाई ईशान भनिन्छ। प्रत्येक मुखलाई ब्रह्माण्डका चारै दिशा र आकाश भागसम्मको रूपमा चित्रण गरिएको छ। सम्पूर्ण जीव र जगत् जहाँबाट उदय हुन्छ र जहाँ विलय हुन्छ, त्यो क्षेत्र शिवलिंग हो।

भोले बाबाले दीनदुःखीदेखि उच्च घरानियालाई समेत पालेका छन्। केही नहुनेदेखि सम्पन्न व्यक्तिसम्म पनि पशुपति आउँछन्। धर्मशाला ठूलो होटलमा परिणत हुन्छ, पूजासामान बेच्ने व्यापारी ढोकैमा बस्न रुचाउँछन्। पाशुपत क्षेत्र सञ्चालनमा छुट्टै कानुन छ। तथापि व्यवस्थित हुन नसक्दा संसारभरिका अर्बौं भक्तहरूको मर्ममा प्रहार भएको भान हुन्छ। कोरोनाकालमा भक्तहरूलाई पीडा भयो। अन्य धर्मीहरूको मन्दिर खुल्यो, पशुपतिनाथ खुलेन। यसपालि पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व भर्न १० लाख भक्तहरू उपस्थित हुने जनाएको छ। नेपाल नगरी काठमाडौं पूर्व क्षेत्रमा रहेको वागमती किनारामा भष्माञ्चलपर्वत, भष्मतीर्थ, भष्मगंगा आदि नामले पुकारिने श्लेष्मान्तक क्षेत्र पश्चिम भागमा पावन पशुपतिनाथको मन्दिर छ। यो द्वादश ज्योतिर्लिंगको शिरभाग हो।

भारतका प्रसिद्ध क्षेत्र बद्रीनाथ, केदारनाथ, रामेश्वर र चीन तिब्बतको कैलाश क्षेत्रको दर्शनपछि पनि पशुपतिनाथको दर्शन नगरेसम्म अगाडिका दर्शनको पुण्य नमिल्ने कुरा हिमवत्खण्ड र स्कन्दपुराणमा उल्लेख गरिएको छ। यहाँ शिवरात्रि, जनैपूर्णिमा, तीज, एकादशी, सोमबार, शनिबारदेखि बालाचतुर्दशीजस्ता पावन दिनमा हजारौं भक्तहरूको भीड लाग्छ। सबैभन्दा बढी भीड महाशिवरात्रिमा लाग्ने गर्छ। भारतलगायत विश्वको केही देशबाट समेत यहाँ आउनेको घुइँचो नै हुन्छ। पशुपतिनाथको मन्दिर करिब दुई हजार वर्ष पुरानो मानिन्छ। यद्यपि यो आधुनिक मन्दिर चाहिँ सन् १६९२ मा राजा भूपतिन्द्र मल्लले बनाउन लगाएका हुन्। वंशावलीका अनुसार यो मन्दिर बनाउने श्रेय सुपुष्प देवलाई जान्छ। सन् ३२५ मा राजा हरिदत्त बर्माले मन्दिर बनाउन उत्सुकता देखाएका हुन् भन्नेहरू पनि छन्। यो मन्दिर कलात्मक छ। छानो धातुले बनेको छ भने सुनको जलप लगाइएको छ। ढोकाहरू चाँदीका छन्।

मन्दिर पश्चिम फर्केको छ। मूलढोका अगाडि शिवको वाहन नन्दी झन्डै १५ फिट लामो र ८ फिट अग्लो छ। मन्दिरको दक्षिण भागमा उन्मत्त भैरव छन् भने त्यसदेखि दक्षिण भागमा पूरै ६४ शिवलिंग छन्। त्यसो त काठमाडौं, ललितपुर, काभे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर आदि गरी १० जिल्लामा ६४ ज्योतिर्लिंगको आदिम थलो छ। यस्तै, ६४ ज्योतिर्लिंगमध्ये सर्वप्रथम आदिम लिंग सिन्धुली क्षेत्रको कुशेश्वर शिवलिंग हो। अन्तिम ज्योतिर्लिंग भने पशुपति मन्दिर परिसर उत्तर क्षेत्र कैलाशमुनिको रुद्रगारेश्वर हो। पशुपतिनाथको मन्दिर दुईतले प्यागोडा शैलीको छ। झन्डै साढे तीन फिट अग्लो शिवलिंग मन्दिरभित्र विराजमान छ। हाल त्यहाँ सुनको जलहरी राखिएको छ। मन्दिरको मर्मत तथा पूजा व्यवस्थापनको परम्पराको श्रेय आठौं शताब्दीताका यहाँ आएका आद्यगुरु शंकराचार्यलाई जान्छ। महादेवले गुह्येश्वरी (उमा)लाई साथै लिई यहाँ विराजमान गर्ने गरेको भनिन्छ।

भारतका प्रसिद्ध क्षेत्र बद्रीनाथ, केदारनाथ, रामेश्वर र चीन तिब्बतको कैलाश क्षेत्रको दर्शनपछि पनि पशुपतिनाथको दर्शन नगरेसम्म अगाडिका दर्शनको पुण्य नमिल्ने कुरा हिमवत्खण्ड र स्कन्दपुराणमा उल्लेख गरिएको छ।

पूर्व–दक्षिणतर्फ ब्रह्ममनाल छ, जसलाई आर्यावर्त भनिन्छ। यहाँ जल स्नान गर्नेहरू भवरोगबाट मुक्ति पाउँछन्, तर केही समययता वागमती नदीको पानी फोहोर छ। ब्रह्मनालदेखि भष्मेश्वर क्षेत्र भष्मतीर्थ हो। यहाँ पाइला राख्ने कुनै पनि प्राणीले भवाटवीको मोहबाट छुट्टी पाउन सक्छन्। पशुपतिनाथ मन्दिर परिसरमै आफू नित्य निरन्तर सेवा गर्ने अवसर पाउन लालायित शक्तिस्वरूपा उमाले शिवको प्रार्थना गरेपछि शिवआज्ञाअनुसार उमाले वत्सलाको रूप लिएको हिमवत् खण्डमा छ। यस्तै, वत्सलाको दर्शन गरेपछि मात्र शिवको दर्शन गरे पुण्य मिल्ने कुरा उक्त खण्डमा वर्णन गरिएको छ। पार्वतीको रूपमा सतीको गुह्य पतन भएको क्षेत्र विश्वका सात करोड पावन पीठको आदिमस्थल हो, गुह्येश्वरी । जुन पशुपतिनाथबाट झन्डै एक किलोमिटर उत्तरपूर्वमा छ।

माघस्नान गरेर पार्वतीले गौरीघाटमा रहेर किराँतेश्वर भगवान्लाई पाएको क्षेत्र पनि यसै मन्दिर उत्तर पूर्वीक्षेत्र हो। पशुपतिनाथको दर्शन गर्नुपूर्व गौरीघाटमा स्नान जल अर्चन गर्नुपर्ने, कैलाश क्षेत्रमा स्पर्श गर्नुपर्ने, प्रसिद्ध गौशाला क्षेत्रमा रहेकी जयवागेश्वरी आमाको स्तुति वन्दना गर्नु पर्ने कुरा नेपाल माहात्म्यमा वर्णन गरिएको छ। वत्सलादेवीकी पुत्र चन्द्र विनायक चाबहिल क्षेत्र र त्यस क्षेत्रमा जात्रा चलाइने नक्साल भगवतीको चर्चा पनि स्कन्दपुराणले वर्णन गरेको छ। वत्सलादेवी र नक्साल भगवती दिदीबहिनी हुन् भनिन्छ। पशुपतिनाथको दर्शनपूर्व मन्दिरपरिसर उत्तरतर्फ रहेको वासुकी नागको दर्शन गर्नुपर्ने हुन्छ। पशुपतिनाथ मन्दिरलाई पूरै परिक्रमाभन्दा पनि किराँतेश्वर, गुह्येश्वरीको दर्शन, मृगेश्वरमा जल अर्पण, गणेश, क्षेत्रपाल, नवग्रह, उन्मत्त भैरव, वत्सला, आकाश भैरव, जय मंगला, राजेश्वरी, भुवनेश्वरी, भष्मेश्वर आदि क्षेत्रको दर्शन वढी महŒवपूर्ण छ। अष्टमातृकालगायत नारायणको दर्शन र सत्यनारायणको दर्शन झन् महत्वपूर्ण छ।

मायारूपी पासोमा बाँधिएका बुद्धप्राणीलाई पशु भनिन्छ। मायाबाट मुक्त पार्नेको नाम पतिका रूपमा सबै जीवका मालिक शिवलाई पशुपति भनिएको हो।

महाशिवरात्रि, तीज, बालाचतुर्दशी आदि विशेष भीड लाग्ने समय दर्शनार्थीले नियमतः दर्शन गर्ने गरेको पाइँदैन। भीडभाडका कारण र लामको व्यवस्थापन कार्यले पनि हुन सक्छ, पुराणहरूमा चर्चा गरिएअनुसारको नियम पालन भएको देखिँदैन। मृगरूपी शिवले विचरण गरेको स्थल मृगस्थली हो। कैलाशमा शिवलाई नदेखेर ब्रह्मा–विष्णु–इन्द्रले मृगस्थलीमा मृगरूप शिवलाई देखे। अनि शिवजीलाई समात्न लाग्दा शिवस्वरूप मृगको स्वर्ण सिङ तीन टुक्रा भएको र आफूलाई अपराध लागेकाले प्रार्थना गर्दा शिवजीले यो अपराध लाग्दैन, तीनवटा सिङका टुक्राहरू स्वर्ग, पाताल र नेपाल क्षेत्र गोकर्णमा लगेर स्थापना गर्नु भन्ने आज्ञा भयो। त्यसपछि मत्स्र्यमण्डलको अर्को पावनक्षेत्र वागमती तटमा गोकर्णेश्वर क्षेत्रको उदय भएको हो। जहाँबाट वाग्द्वारदेखि झरेकी वागमती स्वरूपा शिवगंगा बग्दै आएर आर्यघाट हुँदै पवित्र शंखमूल पुग्छिन्।

मायारूपी पासोमा बाँधिएका बुद्धप्राणीलाई पशु भनिन्छ। मायाबाट मुक्त पार्नेको नाम पतिका रूपमा सबै जीवका मालिक शिवलाई पशुपति भनिएको हो। अज्ञानी मनुष्यहरू नश्वर छन्। नश्वरले ईश्वर प्राप्त गर्ने प्रयास गर्नुपर्ने हुन्छ। जीव र जगत् दुवै परमेश्वर शिवका गहना हुन्, खेलौना पनि हुन्। तिनले हरदम परमेश्वरको चाहना गरेका हुन्छन्। अंशले अंशी प्राप्त गर्ने प्रयासस्वरूप जीवात्माहरू ब्रह्मादेखि स्थावरपर्यन्त सबै परमेश्वर शिवमा लय हुन चाहन्छन्। संसारको रचना सृष्टि हो, सृष्टिलाई चलाइराख्नु पालना हो र सृष्टिलाई नास गर्नु संहार हो। जीवात्मावाट प्राणपखेरु निस्कनुलाई तिरोभाव भनिएको छ। यी चारै कार्यबाट उन्मुक्त हुनु चांहिँ ‘अनुग्रह’ हो। अर्थात्, यहाँ जम्माजम्मी पाँच कार्यहरू भए, संसार चलाउन ! सृष्टि, पालना, संहार, तिरोभाव र अनुग्रह– यी पाँचै कार्य गर्ने पञ्चमुखी महादेव नै हुन्। मोक्ष हुनुको नाम जीवले शिव प्राप्ति गर्नु नै हो। शिवको 
अर्को नाम कल्याण हो। शिवका पाँच मुखले यही संकेत गर्छ, विश्व ब्रह्माण्डको कल्याण !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.