राजर्षि जनक विश्वविद्यालयमा तोडफोड
जनकपुरधाम : राजर्षि जनक विश्वविद्यालयमा नियमित परीक्षा सञ्चालनको माग गर्दै विद्यार्थीले तोडफोड गरेका छन्। परीक्षा दिन पुगेका बीबीए प्रमथ वर्ष पहिलो सत्रान्तका विद्यार्थीले बिना सूचना परीक्षा सारिएको भन्दै बुधबार दिउँसो कलेजमा तोडफोड गरेका हुन्।
विश्वविद्यालयले पटकपटक सूचना निकालेर परीक्षा नलिएपछि आक्रोशित भएर तोडफोड गरेको विद्यार्थी आनन्द सहनीले बताए। ६ महिना भित्रै हुनुपर्ने सत्रान्तको परीक्षा १ वर्ष बित्न लागेपनि आफूहरुले दिन नपाएको भन्दै गुनासो गरे। ‘११ बजे परीक्षा दिन कलेज पुग्दा स्थगित भएको सूचना टाँसिएको थियो। पहिले परीक्षा नियन्त्रक कार्यालयका सरलाई खोज्यौं, प्रशासनमा कोही थिएन, त्यहाँ पनि खोज्यौं तर कोही भेटिएन त्यसपछि नारबाजी गर्यौं। आक्रोशमा आएर तोडफोड गर्यौं, मेन्टली प्रेसरले कहाँ गएर पोख्ने’ उनले भने।
विद्यार्थीले प्रशासन शाखामा दराज, टेबल तथा डेस्क, बेन्च तोडफोड गरेको प्रहरीले जनाएका छन्। तोडफोड गरेको आरोपमा प्रहरीले चार जना विद्यार्थीलाई पक्राउ गरेको छ। चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। यता विद्यार्थी पक्राउको विरोधमा अन्य विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी पक्राउ विद्यार्थीलाई छोडनुपर्ने माग राख्दै नारावाजी गरेका थिए।