जोकोभिचले प्रशिक्षक हटाए
लन्डन : पूर्व विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचले प्रशिक्षक मारियन वाजदालाई हटाएका छन्। विगत लामो समयदेखि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका वाजदासँग जोकोभिच अलग भएका हुन्।
२० पटकका ग्रान्डस्लाम विजेता जोकोभिच सन् २००६ मा पहिलो पटक वाजदासँग जोडिएका थिए। त्यसपछि सन् २०१७ मा जोकोभिच स्लोभाकियाका वाजदासँग केही समय अलग भएका थिए। सन् २०२१ को अन्त्यमा जोकोभिच र वाजदाबीच अलग हुने सहमति भएको थियो। यही वर्ष जोकोभिचले तीन ग्रान्डस्लामको उपाधि जितेका थिए। उनले अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनको उपाधि जितेका थिए। जोकोभिचलाई निखार्न वाजदाले १५ वर्षभन्दा लामो समय महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
गत महिना अस्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेका जोकोभिचलाई कोरोना खोप नलगाएको भन्दै अस्ट्रेलियाले डिपोट गरेको थियो। जसका कारण वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन गुमाएका थिए।
‘मारियन वाजदासँग मैले आफ्नो खेल जीवनमा सबैभन्दा महत्वपूर्ण र यादगार पल बिताएको छु। उनकै प्रशिक्षणमा मैले स्वर्णिम उपलब्धीहरू पनि हात पारेको छु’, जोकोभिचले भनेका छन्, ‘उनी निकै प्रेरणादायी प्रशिक्षक हुन्। विगत १५ वर्षदेखिको निरन्तर साथ र सहयोगका लागि सँधै आभारी रहने छु। हामीले व्यवसायिक साझेदारीमा मात्रै पूर्णविराम लगाएका हौं। हामीबीचको प्रगाढ सम्बन्ध सदैव रहिरहने छ।’
गत महिना अस्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेका जोकोभिचलाई कोरोना खोप नलगाएको भन्दै अस्ट्रेलियाले डिपोट गरेको थियो। जसका कारण वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन गुमाएका थिए। जोकोभिच र स्विट्जरल्यान्डका रोजर फेडेररको अनुपस्थितिको फाइदा उठाउँदै स्पेनका राफेल नाडालले कीर्तिमानी २१औं ग्रान्डस्लामको उपाधि जितेका थिए। नाडालपछि जोकोभिच र फेडेररले २० वटा ग्रान्डस्लामको उपाधि जितेका छन्। जोकोभिचले यो वर्ष जम्मा एउटा प्रतियोगिता मात्रै खेलेका छन्। गत साता दुबई च्याम्पियनसिपको उनी क्वार्टरफाइनलबाटै बाहिरिएका थिए। उनलाई चेक रिपब्लिकका जिरी वेस्लीले अन्तिम आठको भिडन्तमा स्तब्ध पारेका थिए।
उनले कोरोनाविरुद्धको खोप लगाउनुभन्दा प्रतियोगिता त्याग्न आफू तयार रहेको बताउँदै आए छन्। दुई साताअघि बीबीसीसँग विशेष कुराकानी गर्दै जोकोभिचले कोरोनाविरुद्धको खोपलाई बाध्य पारिए आफू प्रतियोगिताहरू छोड्न तयार रहेको बताएका थिए। उनले खोप र प्रतियोगिता फरक कुरा भएकाले त्यसलाई एउटै नजरले हेर्न नहुने दाबी गर्दै आएका छन्। उनले आफू कोरोना खोप विरोधी भने नरहेको स्पष्ट पारेका छन्।
‘म खोप विरोधी होइन र यसको विरोध पनि गर्दिनँ’, उनले भनेका छन्, ‘तर आफ्नो शरीरमा के लगाउने र के नलगाउने भन्ने स्वतन्त्रता हरेक मानिसलाई हुन्छ। मैले यही स्वतन्त्रताको मात्रै वकालत गर्दै आएको हुँ।’ जोकोभिचले केही प्रतियोगितामा सहभागी हुन अनिवार्य खोप लगाउनु पर्ने नियम परिवर्तन हुनेमा भने विश्वस्त रहेको बताए। ‘म अझै धेरै वर्ष टेनिस खेल्न चाहन्छु। त्यसैले विस्तारै टेनिसमा खोप अनिवार्यको नियम परिवर्तन हुनेछ भन्ने विश्वास लिएको छु’, जोकोभिचले भनेका थिए।