महोत्तरी कांग्रेस सभापतिमा त्रिपक्षीय भिडन्त
जनकपुरधाम : नेपाली कांग्रेसको महोत्तरी सभापतिका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । महोत्तरी सभापतिका पदका लागि बुधबार तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला सभापति पदमा नेपाली कांग्रेसका नेता नागेश्वर यादव, बजरंग नेपाली र सुशिल यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
महोत्तरी सभापतिका तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएपनि पहिलो चरणमै मत परिणम आउने आंकलन गरिएको छ । सभापतिमा तीनै उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । यद्यपी सभापति शेरबहादुर देउवा पक्षका जिल्ला सभापति पदका उम्मेदवार नागेश्वर यादव पहिलो चरणमै निर्वाचित हुने सम्भावना रहेको पुराना कांग्रेसीजनको भनाइ छ ।
नागेश्वरको पक्षमा ३ जना क्षेत्रीय सभापति, जिल्लाको ४ मध्ये ३ केन्द्रीय सदस्य र शेखर कोइराला पक्षका नेताहरु साथ दिएपछि अन्य दुई उम्मेदवारको तुलनामा नागेश्वर बलिया देखिएको नेताहरुको आंकलन छ ।
यादवलाई महोत्तरीको ४ निर्वाचन क्षेत्रमध्ये ३ क्षेत्रीय सभापति महेश झा, राजकरण साह र राघवेन्द्र झाको साथले बलियो बनाएको छ । महोत्तरीमा चार केन्द्रीय सदस्यमध्ये कल्याण गुरुङ्ग, नगिना यादव र प्रदेश सांसद समेत रहेकी केन्द्रीय सदस्य मञ्जु यादवले नागेश्वरलाई नै साथ दिएका छन् । यादवलाई शेखर कोइला पक्षका रामचन्द्र तिवारी, पूर्व केन्द्रीय सदस्य किरण यादवको समेत साथ छ।
महोत्तरीमा कांग्रेसबाट निर्वाचित ३ मेयरमध्ये लोहारपट्टीका मेयर शैलेन्द्र यादव र बलवाका मेयर विनोद यादवले समेत जिल्ला सभापतिमा नागेश्वरलाई साथ दिंदा पहिलो चरणमै नागेश्वर निर्वाचित हुने सम्भावना उच्च रहेको समर्थकहरुको दावी छ ।
अर्का सभापतिका उम्मेदवार सुशिल यादवको पक्षमा पटक–पटक महोत्तरीको जिल्ला सभापति रहेका महेन्द्र कुमार राय, औरही नगरपालिकाका मेयर सुशिल कुमार यादव, कांग्रेसका प्रभावशाली नेता नरेन्द्र यादवले साथ दिइरहेका छन् ।
यसैगरी बजरंग नेपालीको पक्षमा रामचन्द्र तिवारीसहितका पक्षले आ-आफ्ना तर्क गर्दै जित्ने सम्भावना रहेको दावी गरेका छन् ।