नेपाल आइडलको मञ्चमा ‘मह जोडी’ को प्रवेश... (भिडियो)
काठमाडौं : हरेक हप्ता बिहीबार र शुक्रबार एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन–४ को २५औं कार्यक्रम मह जोडी विशेष बन्यो। कार्यक्रममा अतिथि कलाकारका रुपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) उपस्थित भएका थिए। बिहीबारको नेपाल आइडलमा मह जोडीले आवाज दिएका गीतहरूलाई प्रस्तुत गरिएको थियो।
कार्यक्रम दैलो उघारेकी थिइन्, सुमिन पाख्रिनले। उनले ‘साझा बसमा जो पनि चढ्दछ’, भन्ने गीत प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा रञ्जित नेपालीले ‘हे भगवान, मेरो पैसाको बोटमा पैसै पैसा फलाऊ’ बोलको गीत प्रस्तुत गरेका थिए। शास्त्रीय संगीतसँगै कार्यक्रममा झुल्किएकी थिइन, लक्ष्मी पौडेल। उनको कला र गलालाई सम्मान गर्दै सबै जजहरूले उठेर सम्मान गरेका थिए। ‘हाम्री आमा सारै नै बाठी छन्’ भन्दै कार्यक्रमको रौनक तताए नाम्गेल तामाङले।
त्यसपछि अघिल्लो हप्ताको प्रस्तुतिको आधारमा कम भोट पाएकी बेनिशा पौडेल बाहिरिएकी थिइन्। उनी बाहिरिँदा कार्यक्रममा उपस्थित सबैको आँखा रसाएका थिए। कार्यक्रमबाट बाहिरिँदै गर्दा उनले आफूलाई यो स्थानसम्म पुर्याउने सबैलाई आभार व्यक्त गरेकी थिइन्।