मानव अधिकारको रक्षा गर्न प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री राउत
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतले मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन् । प्रदेश सरकार मानव अधिकारको रक्षाको सवालमा स्थापना कालदेखि नै संवेदनशिल भएर अघि बढेको बताउँदै प्रदेश सरकारले निर्माण गरेको नियम कानुनहरुमा मानव अधिकारको विषयलाई प्राथमिकताका साथ राखेको उल्लेख गरे ।
राष्ट्रिय मानव अधिकार आयोगले प्रादेशिक कार्यालय जनकपुरधामले आयोजन गरेको दुई दिवसीय मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्दघाटन गर्दै मुख्यमन्त्री राउतले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् नहोस् भनि ख्याल मात्रै गरिदिए मानव अधिकार रक्षाको सवालमा हाम्रो समाज ठूलो फडको मार्ने विश्वास व्यक्त गरे ।
मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार प्रतिवद्ध रहेपनि प्रहरी प्रशासनको आभावमा अपेक्षित कार्य गर्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री राउतले प्रहरी प्रशासनको हस्तान्तरण भए लगतै मानव अधिकार उल्लंघनको घटनाहरु नियन्त्रणमा फडको मार्ने विश्वास व्यक्त गरे ।
उच्च अदालत जनकपुरका प्रमुख न्यायधिश विनोद शर्माले प्रहरीले घटना एउटा र सन्दर्भ फरक भएको झुटो घटनालाई ल्याएर न्यायलाई गिजोल्ने गरेको बताए । उनले भने, 'घटना एउटा हुन्छ, प्रकृति अर्कै हुन्छ, प्रहरीले एउटा भनेको हुन्छ, घटनाको प्रकृति प्रहरीले भने भन्दा भिन्न हुन्छ, त्यसपछि हामीलाई न्याय गर्न अप्ठयारो हुन्छ, जस्ले न्याय बदनाम भइरहेको छ, न्याय गिजोलिरहेको छ ।'
नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंह राजपुतले जीवन दर्शनलाई मानवअधिकारले विषयवस्तु बनाएको र मौलिकता, अवधारणा, गम्भीरता, प्रेम र सम्वेदनशीलता, जीवनप्रतिको सम्मान प्रेम नै मानवअधिकार भएको बताए ।
उनले भने, ‘मानव, मानिस बन्न मानव अधिकारको पालना गर्नुपर्ने हुन्छ । मानव र दानव बन्ने प्रवृति मानिसमा स्वयम् भएकाले तपाई मानव बन्ने की दानव त्यो तपाईँको स्वयम विषय हो ।’उनले मानवअधिकार संरक्षणको लागि प्रशासन चाहिने बताउँदै ,‘प्रशासन भएन भने सुशासन आउँदैन । प्रदेश सरकार आज एउटा उपभोक्ता समिति सम्ममा सिमित भएको छ । विधिको शासन भएन, कानुनको सर्वोच्चता भएन भने मानव अधिकारको सरक्षण हुँदैन् ।'
मानव अधिकार अधिकृत मनमाया मगरको उदघोषण मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा भएको उद्दघाटन सत्रमा मानव अधिकार रक्षक संजालका केन्द्रीय अध्यक्ष श्यामा साह, गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष धिरेन्द्र बहादुर सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रादेशिक मानव अधिकार रक्षकहरुको अवस्था, मानव अधिकारको सवालमा रक्षकहरुको भूमिका, पछिल्लो मानव अधिकारहरुको अवस्था र घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न हुने निर्देशक वीरबहादुर मगरले जानकारी दिए ।