रूसको निसानामा परमाणु केन्द्र

रूसको निसानामा परमाणु केन्द्र

किभ : रूसले युक्रेनको परमाणु ऊर्जा केन्द्रलाई समेत आक्रमणको निसाना बनाएको छ। आक्रमणको नवौं दिन शुक्रबार जापोरिज्यास्थित एक परमाणु ऊर्जा केन्द्रमा बम खसाल्दा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ। उक्त केन्द्र युरोपको सबैभन्दा ठूलो परमाणु केन्द्र हो। 

इनरहोदार सहरका मेयर दिमित्रो ओर्लोभका अनुसार परमाणु संयन्त्रको भवन र इकाइहरूमा लगातार बमबारी भएको थियो। ओर्लोभले यसअघि सहरबाहिर रूसी र युक्रेनी सेनाबीच भीषण लडाइँ भएको जनाएका छन्। रूसी सेनाले ट्यांकहरूको लाइन सहरमा प्रवेश गर्न र प्लान्ट नियन्त्रणमा लिन प्रयास गरेका थिए। तर, बुधबार स्थानीय नागरिक र प्लान्टका कर्मचारीले सडक अवरुद्ध पारेर प्लान्ट जाने बाटो अवरुद्ध गरेका थिए। अवरोध छिचोल्दै शुक्रबार प्लान्टलाई समेत निसाना बनाएको बीबीसीले उल्लेख गरेको छ। 

युक्रेनमा हाल चार आणविक संयन्त्रहरू सञ्चालनमा छन्। जसमा इनरहोदरको जापोरिझ्या प्लान्ट पनि समावेश छ। चेर्नोबिलबाट परमाणु फोहोर पनि यस प्लान्टमा ल्याइने गरेको छ। चेर्नोबिल भने हाल रूसी कब्जामा छ। यसबीच, परमाणु केन्द्रमा आगलागी भएपछि पश्चिमा नेताहरूले रूसले लापरबाहीपूर्ण कार्य गरिरहेको भन्दै निन्दा गरेका छन्।

केन्द्रमा आगलागी भए पनि त्यहाँ कुनै विकिरण नचुहिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका प्रमुखले बताएका छन्। पुटिनसँग जर्मन चान्सलरले एक घण्टा लामो फोन वार्ता गर्दै तत्काल युद्ध रोक्न आह्वान गरेका छन्। जर्मन सरकारका प्रवक्ताका अनुसार चान्सलर सोल्जले युक्रेनमा भइरहेको रूसी आक्रमण तत्काल बन्द गर्न आह्वान गरेका हुन्। उनले पुटिनलाई लडाइँ चर्किएका ठाउँमा मानवीय सहयोगका निम्ति पहुँच स्थापित गर्न पनि आग्रह गरेको बताइएको छ। एक घण्टा लामो कुराकानीमा दुवै नेताले थप कुराकानी गर्न सहमति जनाएको प्रवक्ताले बताएका छन्।

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रूसले युक्रेन अतिक्रमणमा क्लस्टर बमको समेत प्रयोग गरेको प्रमाण रहेको बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हामीले क्लस्टर बम प्रयोग भएको देखेका छौ। साथै अन्तर्राष्ट्रिय कानुनविपरीत हुने अन्य किसिमका अस्त्रको प्रयोग भएको पनि हामीले विवरण पाएका छौं।’ उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा ‘उडान प्रतिबन्धित’ क्षेत्र लागू गराउनुपर्ने बताएका छन्। त्यहाँ आफ्नो फौज पनि नपठाउने उनले बताए। तर किएभलाई अरू तरिकाबाट मद्दत गर्ने उनले वाचा गरे। उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल अतिक्रमण अन्त गर्न उनको आह्वान थियो। 

उता बन्दरगाह सहर मारिउपोलका उपमेयरले त्यहाँ रुसी फौजले सिरियाली सहर एलेप्पोमा अपनाएको जस्तो तरिका अपनाइरहेको आरोप लगाएका छन्। सेर्गेइ ओर्लोभले बीबीसीसँग बोल्दै रुसीहरूले त्यहाँ मानवीय संकट पैदा गराएर घुँडा टेकाउन खोजेको बताए। निरन्तर बमबारी गरिएको तथा अस्पताल र विद्यालयसमेत ध्वस्त पारिएको उनले आरोप लगाए।

मारिउपोलमा लगातार तीन दिनदेखि पानी र बिजुली अवरुद्ध पारिएको छ। अर्को दक्षिणी बन्दरगाह सहर माइकोलाइभको बाहिरी भेगमा पनि लडाइँ चर्किएको छ। सो सहर रुसी नियन्त्रणमा रहेको खेअरसन र ओडेसाको बीचमा पर्छ। पूर्वउत्तरको खार्किभ अनि उत्तरको चेर्नीहिब सहरहरूमा पनि बमबारी जारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.