चाँगुनारायण र लर्ड बुद्घबीच सहकार्य
काठमाडौं : चाँगुनारायण नगरपालिका र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको समझदारी भएको छ। सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादन गर्ने र डिजिटल चाँगुनारायण रूपान्तरणमा ती जनशक्तिको परिचालन गर्ने लक्ष्यसहित समझदारी गरिएको नगरपालिकाका सूचना अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए।
‘नगरपालिकाले अवलम्बन गरेको नीति तथा कार्यक्रम एवं नगरको डिजिटल रूपान्तरणको लागि नगर क्षेत्रमा प्रविधिक जनशक्तिसमेत उत्पादन हुन आवश्यक छ,’ न्यौपानेले भने। शैक्षिक क्षेत्रमा स्थापित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित एलबीई एफ नेपालको पहिलो सूचना प्रविधि कलेजका रूपमा परिचित शैक्षिक संस्था हो। नगरपालिकामा दक्ष प्रविधिक जनशक्ति वृद्धि गर्ने, डिजिटल चाँगुनारायण निर्माणमा सहकार्य गर्ने, स्वदेशमा उत्पादित दक्ष जनशक्तिलाई प्रयोग गर्ने, न्यून आय भएका परिवारका जेहेनदार विद्यार्थीलाई उच्च प्रविधिक शिक्षामा पहुँच वृद्धि गर्ने, प्रविधिमैत्री सेवा प्रवाहमा दक्ष जनशक्तिको प्रयोग गर्ने समझदारीको उद्देश्य हो। विद्यार्थी नगरपालिकाले मनोनयन गर्नेछ।
शैक्षिक सत्रका लागि भर्ना आह्वान भएको १५ दिनभित्र समझदारीबमोजिम प्रदान गरिने छात्रवृत्तिका लागि विद्यार्थी मनोनयन गरी कलेजमा पठाउनु पर्नेछ। विद्यार्थी मनोनयनका लागि छनोट प्रक्रिया आवश्यक भएमा उल्लेखित विधि नगरपालिकाले तय गरेबमोजिम हुनेछ। समझदारी अनुरूप कलेजले सञ्चालन गर्ने विषयमा क्यारियर काउन्सेलिङका लागि चाँगुनारायण क्षेत्र एवं आसपासका स्थानीय तहमा अध्ययनरत कम्तीमा ५० विद्यार्थीलाई सहभागी मनोनयन गरी पठाउनेछ। क्यारियर काउन्सेलिङ सञ्चालन खर्च एवं कार्यक्रम दुईपक्षीय वार्ताबाट तय गरिनेछ।
अर्को सहभागी मनोनयन रहेको छ। यस सम्झौता अनुरूप कलेजले नगरपालिकाको समन्वयमा नगरपालिका एवं आसपासका स्थानीय तहमा अध्ययनरत कम्तीमा ५० विद्यार्थीलाई हरेक वर्ष कम्तीमा एउटा सीप विकास तथा क्षमता अभिवृद्धि तालिमका लागि सहभागी मनोनयन गरी कलेजमा पठाउनेछ। कार्यक्रमको लागि आवश्यक स्थलगत व्यवस्थापन नगरपालिकाले गर्नेछ। प्रत्येक शैक्षिक सत्रमा नगरपालिकाले कलेजबाट मनोनयन भई आएका ५ जना सूचना प्रविधि संकायमा न्यूनतम ५औं सेमेस्टर अध्ययन गरिसकेका विद्यार्थीलाई इन्र्टनसिप कार्यक्रममा समावेश गराउनेछ। छात्रवृत्ति प्रदान गर्ने नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान हुनु १५ दिन पूर्व कलेजले नगरपालिकालाई सूचना दिनु पर्नेछ। नगरपालिकाले मनोनयन गरेका कम्तीमा ३ विद्यार्थीको पूर्ण छात्रवृत्ति, कम्तीमा ४ विद्यार्थीलाई ५०५ छात्रवृत्ति र कम्तीमा ५ विद्यार्थीलाई २५५ छात्रवृत्ति प्रदान गर्ने सम्झौतामा उल्लेख छ।
कलेजले नगरपालिकाभित्र वा भक्तपुरमा उच्च शिक्षा अध्ययनरत ५० विद्यार्थीलाई लक्षित गरी प्रत्येक वर्ष कम्तीमा एउटा क्यारियर काउन्सिलिङ तालिम सञ्चालन गर्नेछ। पाँच वर्षका लागि सम्झौता गरिएको मेयर सोमप्रसाद मिश्रले जानकारी दिए। ‘बचत खाता छोरीको सुरक्षा’ जीवनभरिको कार्यक्रम एवं नेपाल इन्जिनियरिङ कलेज सञ्चालन गरेर चाँगुनारायण नगरपालिकालाई समावेशी एवं प्राविधिक शिक्षातर्फको अग्रणी नगर बनाउने योजना रहेको मेयर मिश्रले बताए।
दुवै पक्षको समझदारीमा सम्झौताको म्याद थप गर्न सकिने कलेजका अध्यक्ष पंकज जलानले बताए। सूचना प्रविधि विकासमा नगरपालिकाले २०७७/७८ मा १ करोड ६२ लाख रुपैयाँ विनियोजना गरेर सूचना प्रविधि क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गर्ने नगरको रूपमा स्थापित गराएको छ। ओपन डाटा पोर्टलको निर्माण एवं सफल सञ्चालनले यस क्षेत्रमा विश्वकै उत्कृष्ट १० सहरमा नगरपालिका समावेश भएको छ।