युक्रेन-रूस युद्धको दसौं दिन : के-के भयो?
किभ : युक्रेन र रुस युद्धको आज दसौं दिन हो । पछिल्लो चौबीस घण्टामा के-के भए थाहा पाउनुहोस्:
- ब्रसेल्समा नेटो देशका विदेशमन्त्रीहरूको बैठकपछि गठबन्धनका महासचिव यान्स स्टोल्टेनबर्गले युक्रेनमाथि गठबन्धनले नो-फ्लाई जोन स्थापना नगर्ने बताए।
- यस निर्णयबाट आक्रोशित युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमी देशहरूको आलोचना गर्दै एक विज्ञप्ति जारी गरे। सो विज्ञप्तिमाम नाटो नेतृत्वले युक्रेनी सहर र गाउँ ध्वस्त गर्न स्वीकृति दिएको बताए।
- युक्रेनका जनतालाई दिएको टेलिभिजन सन्देशमा जेलेन्स्कीले पश्चिमी नेताहरूलाई युक्रेन विरुद्ध रुसको आक्रामकता बढ्दै जाने कुरा थाहा भएको बताए।
- रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ भने ट्वीटर र युट्युब पनि बन्द गरेको छ । फेसबुकले धेरै रुसी मिडिया संस्थालाई प्रतिबन्ध लगाएपछि यो कारबाही गरिएको रुसले जनाएको छ ।
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाको बारेमा गलत समाचार फैलाउनेलाई १५ वर्षसम्म जेल सजाय हुने नयाँ कानुनमा हस्ताक्षर गरेका छन् ।
- नवौं दिन पनि युक्रेनको उत्तर, दक्षिण र पूर्वमा दिनभर भीषण युद्ध जारी रह्यो। रुसले युक्रेनको राजधानी किभमा नयाँ मिसाइल आक्रमण गरेको छ र विस्फोटको आवाज सहरभर सुनिएको छ । उही समयमा, रुसी घेराबन्दीमा फसेको दक्षिणपूर्वी तटीय सहर मारिउपोलमा बमबारी जारी छ। उत्तरपूर्वी सहर खार्किभ र चेर्निहाइभमा बमबारी जारी छ।
- बिहीबार राति युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसले गरेको आक्रमणको आलोचना गर्दै अमेरिकाले विश्व ठूलो त्रासदीबाट बचेको बताएको छ ।
- अन्तर्राष्ट्रिय अनुगमन टोलीले परमाणु संयन्त्रमा विकिरण नभएको र प्लान्ट सुरक्षित रहेको बताएको छ ।
- युक्रेनबाट ठूलो संख्यामा मानिसहरूको पलायन जारी छ।
- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कले बीबीसीलाई युक्रेनले रुसलाई युद्धमा हराउनेमा आफू विश्वस्त रहेको बताएका छन् । अमेरिकी विदेशमन्त्रीले युद्ध कहिलेसम्म चल्ने हो भन्न नसकिने तर युक्रेनको पराजय अपरिहार्य नभएको बताए। बीबीसी