दिनदिनै बरामद हुन्छ, खैरो हेरोइन

दिनदिनै बरामद हुन्छ, खैरो हेरोइन

राजविराज : कैलाली धनगढीका मनोज जोशी ३ ग्राम ब्राउन सुगर (खैरो हेरोइन)सहित फागुन १२ गते पक्राउ परे। सोही दिन धनगढीका २६ वर्षीय दीपक विष्ट र ३१ वर्षीय गोपी विक छिमेकी जिल्ला कञ्चनपुरबाट समातिए। प्लास्टिकभित्र ब्राउन सुगर बेरेर मुखमा राखेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

झापाको बिर्तामोड नगरपालिका–४ पश्चिम स्टेसनबाट फागुन ११ मा ५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परे। झापा गाउँपालिका—४ का १९ वर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका–४ का १९ वर्षीय उत्तम बर्देवा पक्राउ परेका हुन्। अघिल्लो मंगलबार नै फरक–फरक चार स्थानबाट खैरो हेरोइनसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लियो। मोरङको विराटनगर महानगरपालिका—१२ स्थित एक होटलमा बसेका विराटनगर–६ का २६ वर्षीय कुनाल सिंहलाई करिब ३२ ग्राम खैरो हेरोइन र डिजिटल तराजुसहित प्रहरीले नियन्त्रणमा लियो। 

पछिल्लो साता सीमावर्ती विभिन्न जिल्लाबाट खैरो हिरोइनसहित पक्राउ परेका घटनाको उदाहरण हुन् यी। केही समययता सीमावर्ती जिल्ला लागूऔषध खैरो हेरोइन (ब्राउनसुगर) को ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ। प्रहरीका अनुसार खुला सीमाका कारण भारतीय बजारमा ब्राउन सुगरका कारोबारी र प्रयोगकर्ता बढेका छन्। सीमावर्ती भारतीय बजारमा ब्राउन सुगर सहजै पाइने भएकाले खुला सीमाको फाइदा उठाउँदै नेपाल भित्यारइने गरेको प्रहरी अधिकारीहरू बताउँछन्। 

दिनहुँ ब्राउन सुगरसहित पक्राउ पर्नेको संख्या उच्च रहेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीको भनाइ छ। पछिल्लो समय झापा, मोरङ, सुनसरी, बाँके, कैलाली र रूपन्देही जिल्लाबाट सबैभन्दा बढी ब्राउनसुगर कारोबारी पक्राउ परेका छन्। सीमावर्ती जिल्लालाई केन्द्र बनाएर भारतीय बजारबाट ल्याउने र काठमाडौंसहित नेपालका विभिन्नमा अवैध कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानले देखाउँछ। 

सात महिनामा ६ किलो बरामद
आर्थिक वर्ष २०७८\०७९ को ७ महिनामा नै नेपाल प्रहरीले ५ किलो ७ सय ९८ ग्राम ८ सय २५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। लागूऔषध नियन्त्रण ब्युरोबाट ८ सय ३० ग्राम ९ सय ६० मिलिग्राम तथा उपत्यकाबाट ४ सय ४५ ग्राम ११ मिलिग्राम ब्राउन सुगर बरामद भएको हो। 

प्रदेश १ मा १ किलो ७ सय १५ ग्राम ३ सय ७३ मिलिग्राम, मधेस प्रदेशमा १ सय ८ ग्राम १ सय ३१ मिलिग्राम, बागमती प्रदेशमा ४२ ग्राम ३ सय मिलिग्राम, गण्डकी प्रदेशमा ४५ ग्राम ८ सय ६८ मिलिग्राम एक सातामा बरामद भएको हो। यस्तै लुम्बिनी प्रदेशमा १ किलो ८ सय १५ ग्राम ७ सय ८७ मिलिग्राम, कर्णाली प्रदेशमा २ सय १५ ग्राम २ सय ९५ मिलिग्राम र सुदूरपश्चिम प्रदेशमा ५ सय ८० ग्राम १ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको तथ्यांक छ।

गत वर्ष प्रहरीले ९ किलो २ सय ३६ ग्राम ३ सय ४६ मिलिग्राम, आर्थिक वर्ष २०७६÷०७७ मा ७ किलो ९ सय २९ ग्राम ३ सय ९८ मिलिग्राम र आर्थिक वर्ष ०७५/०७६ मा ११ किलो ३ सय २० ग्राम ३ सय ६८ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो।

लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख हृदय थापाका अनुसार पक्राउ परेका अधिकांशले भारतबाटै ल्याएको बताउने गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगन्ज, भैरहवा तथा काँकडभिट्टा कारोबारीको मुख्य नाका भए पनि थापाका अनुसार भारतबाट सहजै तराई मधेसको सहरसम्म पुग्ने र त्यहाँबाट देशका विभिन्न सहरमा पुग्ने गरेको छ। एकातिर कडाइ भए लागू पदार्थ कारोबारीहरू अर्को नाकामा सक्रिय हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन्। 

भारतको वित्त मन्त्रालयले मेडिकल र वैज्ञानिक प्रयोजनका लागि मध्यप्रदेश, राजस्थान र उत्तर प्रदेश राज्यका केही इलाकालाई सूचीकृत गर्दै अफिम खेतीको लाइसेन्स दिने गरेको छ। उत्तर प्रदेशको बाराबंकी अफिम खेतीका लागि प्रख्यात छ। बाराबंकीका औषधि उत्पादक कम्पनीले अफिमबाट औषधिसँगै ब्राउन सुगर उत्पादन गरेर बिक्री गरिरहेको प्रहरी अनुसन्धानले देखाएको छ। सप्तरीका एसपी अविनारायण काफ्ले भन्छन्, ‘नेपालमा गाँजा, रक्सीका कारोबारी छन्, भारतमा सेवनकर्ता छन्। भारतमा ब्राउन सुगर, मनोद्वीपक लागूपदार्थका कारोबारी छन्, नेपालमा प्रयोगकर्ता छन्। खुला सीमाका कारण साझा समस्या बनेको लागूपदार्थ ओसारपसार दुवै देश मिलेर नै हल गर्नुपर्छ।’

लागूऔषधका अभियुक्तले भरिए हिरासत
लागूपदार्थ ओसारपसारसँगै पक्राउको क्रम बढेपछि नेपालका अधिकांश प्रहरी हिरासत लागूऔषधकै अभियुक्तले भरिएका छन्।  प्रहरी हिरासतमा गाँजा, चरेस, अफिम, कोकिन र मनोद्विपक लागूऔषधसँगै ब्राउन सुगरका आरोपीहरूको संख्या बढ्दै गएको छ। 

आर्थिक वर्ष २०७८\०७९ को ७ महिनाको अवधिमै लागूऔषध कसुरमा ३ हजार २ सय ५८ जना पक्राउ परेका छन्। जसमा ८६ जना भारतीय र ५ जना अन्य मुलुकका छन्। १ सय ४७ महिलासहित ३ हजार १ सय ६७ जना नेपाली छन्। आर्थिक वर्ष २०७७\०७८ मा लागूऔषध कसुरमा ४ हजार ६ सय २६ जना पक्राउ परेका थिए। जसमा १ सय ४० जना भारतीय, ७ अन्य मुलुकका र १ सय ९५ महिलासहित ४ हजार ४ सय ७९ जना नेपाली थिए।
आर्थिक वर्ष २०७६\०७७ मा लागूऔषध कसुरमा ४ हजार ५४६ जना पक्राउ परेका थिए। जसमा १ सय ३१ जना भारतीय, १८ जना अन्य मुलुकका र १ सय ९३ महिलासहित ४ हजार ३ सय ९७ जना नेपाली थिए। आर्थिक वर्ष २०७५\०७६ मा लागूऔषध कसुरमा ५ हजार ५ सय ५८ जना पक्राउ परेका थिए। जसमा १ सय ८५ जना भारतीय, १६ जना अन्य मुलुकका र २ सय ३५ महिलासहित ५ हजार ३ सय ५७ जना नेपाली थिए।

भारतबाट सहजै आउँछ ब्राउन सुगर
लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठ भन्छन्, ‘नेपालमा ब्राउन सुगर उत्पादन नभए पनि भारतबाट तराईको सहर हुँदै चितवन हेटौंडा, पोखरा, काठमाडौं आउने गरेको छ ।’ केन्द्रमा रहेको ब्युरोअन्तर्गत लागूऔषध नियन्त्रणमा लागि काकँडभिट्टा, विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, पोखरा, महेन्द्रनगर, नागढुंगा, विमानस्थलमा शाखा कार्यालय छन्। सबै प्रहरी कार्यालयले निगरानी, पक्राउ र बरामद गर्दै आएको तथा जनचेतनामूलक कार्यक्रमअन्तर्गत अन्तरक्रिया, समीक्षा, स्कुलसम्पर्क, शैक्षिक र कानुनी कक्षाहरू गर्दै आएको श्रेष्ठले बताए। 

नाकामा चौबिसैघण्टा ब्युरोको टोली बसे पनि लागूऔषध कारोबारीले ब्राउन सुगर पास गर्न विभिन्न उपायहरू अपनाइरहेका छन्। नाक, मुख, कान, भित्रीवस्त्र, गुदद्वार, पेटभित्र, साइकल, रिक्सा, मोटरसाइकलका विभिन्न ठाउँमा राखेर ब्राउन सुगर ल्याउने गरेको पाइएको छ। भारत गएर फर्किने व्यक्तिको हाउभाउका आधारमा अनुमान गरेर ब्युरोको टोलीले चेकजाँच गर्छ। लागूपदार्थ सेवनकर्ता र साना कारोबारी प्रायः दिनहुँ पक्राउ परे पनि मुख्य नाइके पक्राउ पर्दैनन्। कतिपयले सीमा पारि नै सेवन गरेर आउने तथा भारतबाट किनेर नेपाल ल्याउनेहरूले मुख्य कारोबारीलाई नचिन्ने हुँदा मुख्य नाइके पक्राउ नपर्ने गरेको प्रहरीको भनाइ छ।

हाइप्रोफाइलदेखि स्कुले बालबालिकासम्म सेवनकर्ता
बरामद ब्राउन सुगरको परिणामलाई आधार मान्दा यसका सेवनकर्ता ह्वात्तै बढेको अनुमान गर्न सकिने प्रहरी अधिकारी बताउँछन्। एक वर्षअघि तुलसीपुर उपमहानगरपालिका–५ स्थित घरबाट उच्च अदालत, सुर्खेतका न्यायाधीशकी श्रीमती २ ग्राम २६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेको समाचार सार्वजनिक भएको थियो। ना. १ ब. ३५९५ नम्बरको सरकारी मोटरसाइकल चढेका पर्साको पकहाँ मैनपुर गाउँपालिकाका—१ का वडाध्यक्ष अमिरिका सहनी वीरगन्ज महानगरपालिका १९ बाट ७९ ग्राम खैरो हेरोइनसहित गत साउनमा पक्राउ परेका थिए। यी उच्च पदमा रहेका कारोबारी रहेको प्रहरीले जनाएको छ।

कपिलवस्तुको मायादेवी गाउँपालिका—४ पिपराबाट चाकरचौडातर्फ जाँदै गरेको पिस ग्लोबल इङ्लिस बोर्डिङ स्कुलको बसबाट २०७६ साउनमा ४४ हजारबराबरको नक्कली नोटसहित १० पोका खैरो हेरोइन बरामद भएको थियो। हाइप्रोफाइलदेखि स्कुले बालबालिका पनि लागूऔषधको कुलतमा फस्दै गएकाले हरेक अभिभावकको चिन्ता लागूऔषध भएको छ। यसबाट बच्न बृहत् अभियान सञ्चालन गर्न जरुरी रहेको सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष हितनारायण लाल दास बताउँछन्। 

कानुनी व्यवस्था
लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार लागूऔषध भन्नाले गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवणसमेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएको प्राकृतिक तथा कृत्रिम लागूऔषध बुझिन्छ।  

नेपालको कानुनले लागूपदार्थको अवैध ओसारपसार, सञ्चय तथा प्रयोग गर्न बन्देज लगाएको छ। लागूऔषधको कारोबार वा प्रयोगका सम्बन्धमा सूचना दिनेलाई २० प्रतिशत पुरस्कार दिने व्यवस्थासमेत गरेको छ। त्यस्ता व्यक्तिको नाम भने गोप्य राखिन्छ।

ऐनले अफिम, कोका वा सोबाट बनेको लागूऔषधको सेवन गर्नेलाई १ वर्ष कैद र १० हजार जरिबानाको व्यवस्था गरेको छ भने कारोबार गर्नेलाई कसुर अनुसार ५ वर्षदेखि जन्मकैदसम्म र २५ लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरेको छ। ऐनको दफा १४ (१) को (छ) अनुसार अफिम, कोका वा सोबाट बनेको लागूऔषधको सेवन र खेती गर्ने कार्यबाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई १५ वर्षदेखि जन्मकैद र ५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिबाना छ।

ऐनमा २५ ग्रामसम्मको कारोबार गर्नेलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिबाना, २५ ग्रामदेखि एक सय ग्रामसम्मको कारोबार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना तथा एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र ५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ ।
पटके अभियुक्तका लागि प्रत्येक पटकको निमित्त तोकिएको सजायमा थप ५ वर्षसम्म कैद र १ लाख रुपियाँसम्म जरिबाना थपिन्छ। ऐनविपरीतको काम गरी आर्जन गरेको सम्पत्ति परिवार वा अन्य कसैको नाममा राखे पनि जफत हुने व्यवस्था ऐनमा छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.