मधेस प्रदेशमा चार वर्षमा ५९ अर्ब ५४ करोड खर्च
जनकपुरधाम : मधेस सरकारले कुनै वर्ष पनि पूर्ण बजेट खर्च गर्न सकेन। २०७५\०७६ देखि २०७८\०७९ सम्म कुल १ खर्ब ३५ अर्ब ८६ करोड ५० लाख १८ हजार बजेट ल्याएकामा चालू आवको ६ महिनासम्म कुल ५९ अर्ब ५४ करोड ७३ लाख ३० हजार मात्र खर्च गरेको छ। यस अवधिमा सरकारको आय आन्तरिक, राजस्व र नेपाल सरकारबाट गरी कुल ८९ अर्ब १५ करोड ३३ लाख ८१ हजार छ।
पहिलो पटक २०७४÷०७५ चैत देखि असारसम्मका लागि संघबाट प्राप्त अनुदानलाई बजेटका रूपमा पेस गरिएको थियो। चार वर्षको उपलब्धि सार्वजनिक गर्ने क्रममा सरकारले संक्रमणकालका कारण पूर्ण बजेट खर्च गर्न नसकेको जनाएको छ। संघीय सरकारको अवरोध र कर्मचारी अभावले विकासमा बाधा गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए।
मधेस सरकारको सबैभन्दा ठूलो आम्दानीको स्रोत संघबाट प्राप्त अनुदान हो। २०७५\०७६ देखि २०७८\०७९ सम्म अनुदानबापत ५२ अर्ब ४३ करोड ४० लाख ३ हजार, राजस्व बाँडफाँटबाट २६ अर्ब ५० करोड ९२ लाख ९४ हजार र आन्तरिक आयबाट १० अर्ब २१ करोड ६३ हजार प्राप्त भएको छ।