माथा पर मोटरी, जय सियाराम !

माथा पर मोटरी, जय सियाराम !

१५ दिवसीय परिक्रमामा सहभागी हुन नसकेका अधिकांश जनकपुरवासी अन्तरगृह परिक्रमामा सहभागी हुन्छन्। परिक्रमा सम्पन्न भएको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाइन्छ। 


परिकरमा माहात्म्य बहुत भारी, परिकरमा 

रामसियाके अनुपम जोरी
हुनकर महिमा बहुत भारी, परिकरमा
परिकरमा माहात्म्य बहुत भारी, परिकरमा...

टाउकोमा कपडाको मोटरी। हातमा बेतको लाठी र कमण्डल। अनि, खाली खुट्टा १५ दिनको यात्रा। ५५ वर्षीय सन्तोषी दास त्यागी यस्तै कठोर यात्रामा निस्किएका छन्। शरीर केही वृद्ध भए पनि उनको ऊर्जा र भगवानप्रतिको श्रद्धा कम देखिँदैन। बाटोमा रोडा, ढुंगा र बाधक तत्वहरू भेटिन्छन्। तर पनि आस्था र उल्लासले सबै चुनौती स्वीकार्य हुन्छ। 

‘४० वर्षदेखि यो यात्रा गर्दै आएको छु। गर्मी, चिसो वा बाटोको कष्टले केही फरक पर्दैन मनमा सीतारामको बास भएपछि। सबै समस्या टर्छ’, बिहीबार हनुमानगढीमा भेटिएका दास भन्छन्, ‘आस्था र सद्भावको यो यात्राले जीवनलाई ऊर्जा प्रदान गर्छ र दुःखकष्टबाट मुक्ति दिन्छ। ’ मिथिलामा फगुनहट (फागुन महिनामा बग्ने हावा) सुरु हुनेबित्तिकै मध्यमा परिक्रमाको तयारी पनि सुरु हुन्छ। परिक्रमा जाने महिला पुरुषहरूले नयाँ वस्त्रको जोहो गर्छन्। यसरी १५ दिनका लागि चाहिने अन्न, कपडा र आवश्यक सरसामग्री जुटाएर यात्राको तयारी गरिन्छ। 

मिथिलाका गाउँगाउँमा अहिले छुट्टै उल्लास छ। त्रेता युगदेखि रामसीतासँग गाँसिएको साइनो वर्तमान अवस्थामा विभिन्न धार्मिक अनुष्ठानका माध्यमले जीवन्त गरिन्छ। देशमा बदलिएको राजनीतिक घटनाक्रम वा राजनीतिक परिवर्तनहरूले ऐतिहासिक र पौराणिक सम्बन्धलाई कुनै असर पार्न सकेको छैन। हुन त जनकपुर अहिले मधेस प्रदेशको राजधानी भएको छ। आठ जिल्लालाई समेटेर यो प्रदेश निर्माण गरिएको छ। तर, प्राचीन मिथिला र राजा जनकको विरासतको रूपमा रहेको यो नगरी मिथिलाको राजधानीको रूपमा हिन्दू धर्मग्रन्थहरूमा वर्णन पाइन्छ। मिथिलाञ्चलको भूभाग नेपाल र भारत दुवै देशमा छ। जसलाई प्रमाणित गर्छ, मिथिला माध्यमिकी परिक्रमाले। 

यसरी भयो परिक्रमा सुरु
यस परिक्रमाको चर्चा बृहत् पुराणअन्तर्गतको मिथिला माहात्म्यमा छ। भगवान्को मन्दिर, देवस्थल, पवित्र नगरी, तीर्थ वा सरोवरको चारैतिर प्रदक्षिणा गरिनुलाई नै परिक्रमा भनिएको छ। मिथिला माहात्म्यमा चर्चा गरिएअनुसार तीनवटा परिक्रमा छन्, बृहत् परिक्रमा, मध्यमा परिक्रमा र लघु परिक्रमा। बृहत् परिक्रमा भनेको नदी, कौशिकी, गण्डकी, गंगा र हिमालयको परिक्रमा हो। यसका साथै बृहत् परिक्रमा मिथिलाको सन्दर्भमा मिथिला देशको परिक्रमा पनि हो। साधुसन्तहरूले यो परिक्रमा गरिराखेका हुन्छन्। मिथिलामा हुने परिक्रमा मध्यमा परिक्रमा हो। यसका विभिन्न नामहरू छन्। कसैले यसलाई माध्यमिकी, कसैले ८४ कोस परिक्रमा त कसैले १५ दिने परिक्रमा पनि भन्छन्। मध्यमा परिक्रमा मिथिलाको राजधानीको परिक्रमा हो भने अन्तरगृह परिक्रमा भनेको राजा जनकको दरबारको परिक्रमा हो भन्ने विश्लेषण छ। शास्त्र पुराणहरूमा यस परिक्रमाको चर्चा पहिलादेखि भए पनि यो शास्त्र पुराणमै सीमित भइसकेको थियो। 

१८१० सालको सेरोफेरोमा (करिब अढाई सय वर्ष) सियालाल शरण परमहंस नाम गरेका सिद्ध साधु थिए। उनी जनकपुरको रत्नसागर मठछेउको फूलबारीमा बस्ने गर्थे। उनले सो बेला मिथिलाको परिक्रमा गर्ने योजना बनाए। उनले करिब १०, १५  साधुलाई जम्मा पारी ढोलक, झ्याली पिट्दै भजन–कीर्तनसहित परिक्रमा सुरु गरे। सो बेला परिक्रमा सुरु हुँदा यो क्षेत्र जंगल थियो। पैदल यात्रा गर्नु सहज थिएन तर ती आँटिला जोगीले भगवान्को नाम लिँदै यस परिक्रमालाई जारी राखे। केही साधुसन्तले सुरु गरेको परिक्रमामा विस्तारै यात्रु थपिँदै गए। 

नेपाल र भारतको गरी १ सय ३३ किलोमिटर लामो यस यात्राले दुई देशबीचको धार्मिक सम्बन्धलाई पनि प्रगाढ बनाउँछ। नेपालको १०७ र भारतको २६ किलोमिटर भूमिमा यात्रीले पैदल यात्रा गर्ने परम्परा छ।

परिक्रमा बृहत् हुँदै गयो। सियालाल परमहंसले सुरु गरेको धार्मिक यात्राले करिब ३० वर्ष पूरा गरेपछि जनकपुरको सीताकुण्ड भन्ने आश्रमबाट मिथिला बिहारीको डोला परिक्रमामा सहभागी गराउने क्रम सुरु भएको अग्निकुण्ड सुन्दरसदनका वर्तमान महन्थ नवलकिशोर दास बताउँछन्। मिथिला बिहारी भगवान् रामकै नाम हो। रामको डोला परिक्रमामा सहभागी हुन थालेको केही दिनपश्चात् जनकपुरस्थित सीताकुण्डको साधु परिवार डोला सञ्चालन गर्न असमर्थ भयो। तर, सो परिवारकै साधुहरूले धनुषाको ठेरा कचुरीमा पनि मठ सञ्चालन गरेका थिए। सो बेला कचुरी मठको महन्थले मिथिला बिहारीको डोला सञ्चालन गर्न स्वीकार गरे। सोही बेलादेखि डोला त्यहाँबाट सञ्चालन हुन थाल्यो। 

मिथिला बिहारीको डोला परिक्रमामा विधिवत् सहभागी भए पनि त्यति बेला जानकीजीको डोला सहभागी भएको थिएन। तर, जहाँ रामको डोला हुन्छ त्यहाँ सीताजीको डोला पनि सहभागी हुनुपर्छ भन्ने विचार विमर्श साधुसन्तहरूमा भयो। त्यतिबेला जनकपुरस्थित सुन्दरसदनका तत्कालीन महन्थ पण्डित रामदुलारी शरणजी महाराजले सुन्दरसदन अग्निकुण्ड मठबाट जानकीजीको डोलाको स्थापना भयो। त्यसपछि राम र जानकीको डोला थपियो। 

१५ वटै पडावको यस्तो छ महत्तव
मध्यमा परिक्रमाको चर्चामा पाँच दिनमै यो यात्रा सकिने उल्लेख छ। तर, साधुसन्तहरूले पाँच दिनमै यति धेरै हिँड्न गाह्रो भयो भनेर साझा विचार गरे। त्यसपछि सबैको सहमतिले सुविधाअनुसार १५ वटा विश्रामस्थल स्थापित गरिएका हुन्। यी पडावहरूको विषयमा कुनै शास्त्रीय प्रमाण नभए पनि यिनको धार्मिक महत्व भने रहेको छ। 

भारतको कलाणेश्वर महादेव स्थानबाट परिक्रमावासीले विधिवत् रूपमा संकल्पित भई यस धार्मिक यात्राको प्रारम्भ गर्छन्। यी विश्रामस्थलहरूको विषयमा थुप्रै किंवदन्ती र कथाहरू मिथिलाञ्चलमा व्याप्त छन्। भनिन्छ, राजा जनकले आफ्नो राजधानी जनकपुरको रक्षाका लागि जनकपुरधामको चारै कुनामा चारवटा शिवालयको स्थापना गरेका थिए। जसमा जलेश्वरमा जलेश्वरनाथ, भारतको कलनामा कल्याणेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ र सप्तेश्वरनाथ रहेका छन्। यिनै शिवालयहरूलाई आधार मानेर तिनको प्रदक्षिणा गर्नुलाई परिक्रमाको रूप दिइएको हो। 

केही कथाहरूमा भनिन्छ, भगवान् राम अयोध्याबाट जनकपुरसम्म आउँदा जुन बाटाहरू भएर आए तिनलाई नै परिक्रमाका पडाव बनाइएका छन्। तर, यी कथाहरूमा जे जस्तो यथार्थ भए पनि परिक्रमा यात्रीहरूको आस्था र विश्वासले यस धार्मिक यात्रालाई जीवन्त बनाउने गर्छ। नेपाल र भारतको गरी १३३ किलोमिटर लामो यस यात्राले दुई देशबीचको धार्मिक सम्बन्धलाई पनि प्रगाढ बनाउँछ। नेपालको १०७ र भारतको २६ किलोमिटर भूमिमा यात्रीले पैदल यात्रा गर्ने परम्परा छ। परिक्रमाका विश्रामस्थलहरूको महत्व यस्ता छन्। 

कलना : मध्यमा परिक्रमामा भगवान् शिवलाई साक्षी मानेर भारतको बिहार राज्यको कलनास्थित कलाणेश्वर महादेव मन्दिरबाट यात्रा प्रारम्भ हुन्छ। कलाणेश्वर महादेवलाई मनोकामना सिद्धि गर्ने महादेव भनी जनविश्वास गरिएको छ। यहाँ पूजा आराधनापछि पहिलो विश्राम यात्रीहरूले गर्छन्। 

धार्मिक यात्रामा श्रद्धालुहरू स्वतःस्फूर्त रूपमा सहभागी हुन्छन्। यो आध्यात्मिकताको प्रगाढता हो। यसमा सहभागी हुनेहरूले न कसैसँग कुनै अपेक्षा राखेका हुन्छन् न त कसैप्रति निर्भरता हुन्छ। यो संसारकै दुर्लभ यात्रा हो।

गिरिजास्थान : कलाणेश्वरबाट हिँडेका परिक्रमा यात्रीहरूको दोस्रो विश्राम भारतकै गिरिजास्थान हो। गिरिजास्थानमा माता गिरिजाको मन्दिर छ। गिरिजा गौरीलाई भनिएको छ। प्राचीन समयमा माता सीता गिरिजास्थानमा गएर त्यहाँको कुण्डमा स्नान गरी गौरीको पूजाअर्चना गर्ने गरेको जनविश्वास छ। माता जानकी र भगवान् रामको पहिलो भेट पनि यसै स्थानमा भएको कथाहरूमा उल्लेख छ। 

मटिहानी : गिरिजास्थानबाट परिक्रमा गरी यात्री फेरि नेपाल फर्किन्छन्। महोत्तरीको मटिहानी तेस्रो विश्राम हो। रामसीता विवाहका लागि मण्डप बनाउन र विवाहको वेदी बनाउन मटिहानीकै पवित्र जलाशयमा मटकोर विधि गरिएको थियो। त्यसैले यसस्थानको महŒव छ। यहाँस्थित लक्ष्मीनारायण मन्दिरमा यात्रीहरूले दर्शन गर्ने गर्छन्। 

जलेश्वर : चौथौ पडाव हो, महोत्तरी सदरमुकाम जलेश्वर। यहाँ भगवान् शिव जलमा निवास गर्छन्। जलेश्वरनाथ महादेवको नामले नै यस सहरको नामकरण भएको हो। जलेश्वरनाथको दर्शन परिक्रमा यात्रीहरूको लागि महत्वपूर्ण हुन्छ। 

मडै : फागुन पञ्चमी तिथिमा परिक्रमा यात्री महोत्तरीकै मडै पुग्छन्। यो स्थानमा प्राचीन समयमा माण्डव्य ऋषिको बासस्थान यहाँ रहेको थियो। 

धु्रवकुण्ड : मडैबाट षष्ठी तिथिमा परिक्रमा छैटौं दिन धु्रवकुण्ड आइपुग्छ। माहात्म्यमा धु्रवले यस स्थानमा कठोर तपस्या गरेका थिए। त्यसैले यस स्थानको नाम धु्रवकुण्ड पर्न किंवदन्ती छ। 

कञ्चनवन : यात्राको सातौं पडाव हो, कञ्चनवन। यहाँ परिक्रमा यात्रीका लागि निकै भव्य आयोजना हुने गर्छ। इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल हो यो। यस भूमिमा भगवान् रामले माता सीतासँग होली खलेको कथा छ। बूढापाका भन्छन्, पहिला कञ्चनवनको माटो पनि रातो थियो। परिक्रमा यात्रीहरूका लागि यहाँ होली आयोजना गरिन्छ। यात्रीले यहाँ रंगअबीरबाट होली खेल्छन्। परिक्रमा कञ्चनवन पुगेर होली खेलेपछि मिथिलाञ्चलमा विधिवत् होली प्रारम्भ हुन्छ। 

पर्वता : यात्राको आठौं पडाव हो, पर्वता। यो पाँच पर्वतको संगमस्थल रहेको जनविश्वास छ। 

धनुषाधाम : परिक्रमाको नवौं पडाव हो, धनुषाधाम। यस स्थलको विशेष रामायणिक महत्व छ। मिथिलाका राजा जनकले छोरीको सीताको विवाहका लागि स्वयंबर आयोजना गरेका थिए। सो स्वयंबरमा सहभागी भएकाका लागि शिवजीको धनुषमा प्रत्यन्चा चढाउनुपर्ने सर्त राखिएको थियो। ठूलठूला राजाहरू सहभागी भएको सो स्वयम्बरमा कसैले पनि शिवको धनुषलाई उचाल्नसमेत सकेनन्। तर, भगवान् रामले सो धनुषलाई उठाएर प्रत्यन्चा चढाउँदा धनुष तीन टुक्रामा भाँचियो। जसमध्ये एउटा टुक्रा आकाश, अर्को पाताल र अर्को धरतीमा झरेको थियो। धरतीमा झरेको सो धनुषको टुक्रा धनुषाधाममा अहिले पनि रहेको जनविश्वास छ। यहाँको धनुष मन्दिरमा शिवको धनुषको अवेशषलाई अहिले पनि पूजापाठ गरिन्छ। परिक्रमा यात्री यहाँ पूजापाठ गरेर मात्र विश्राम गर्छन्। 

सतोषर : दशमी तिथिको दिन परिक्रमा सतोषर पुग्छ। यो सप्तऋषिको तपोभूमि रहेको जनविश्वास छ। मिथिला आगमनमा गुरु विश्वामित्रले भगवान् राम र लक्ष्मणलाई यहाँ ल्याएका थिए। ११औं दिनमा यात्रीहरू औरही पुग्छन्। १२औं दिन करुणा र १३औं दिनमा फेरि परिक्रमा यात्री कलाणेश्वर फर्किन्छन्। १४औं दिन परिक्रमा डोला जनकपुर आइपुग्छ। रातमा विश्राम गरेपछि फागु पूर्णिमाका दिन जनकपुरको अन्तरगृह परिक्रमा गरिन्छ। 
१५ दिवसीय परिक्रमामा सहभागी हुन नसकेका अधिकांश जनकपुरवासी अन्तरगृह परिक्रमामा सहभागी हुन्छन्। परिक्रमा सम्पन्न भएको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाइन्छ। 

यात्राका नियमहरू
‘माथा पर मोटरी जयसिया राम’, रामसीताको जयजयकारले गुञ्जिने परिक्रमा यात्रा सोचेजसो सहज छैन। दृढ संकल्प र मनमा भगवान्प्रतिको आस्थाले मात्रै यस कठिन यात्रालाई तय गर्न सघाउँछ। १५ दिनसम्म घरपरिवारबाट छुट्टिएर सात्विक भई नांगो खुट्टा यो यात्रा तय गरिन्छ। ‘पहिला त बाटोहरू कच्ची थिए। चिसो माटोमा हिँड्दा खासै अप्ठ्यारो थिएन’, ५२ वर्षीय परिक्रमा यात्री रामअशेष सहनी भन्छन्, ‘अहिले बाटोहरू पक्की भएका छन्। रोडा पत्थरहरूको प्रयोग बढी छ। नांगो खुट्टा हिँड्दा साह्रै कष्ट हुन्छ। ’

परिक्रमा यात्रामा निस्कने यात्रीले यात्रा अवधिभर सात्वक भोजन गर्नुपर्ने हुन्छ। यात्रीहरूले माछा, मासु, प्याज, लसुन, मुसुरोको दाललगायतका ‘अशुद्ध’ मानिएका भोजन गर्दैनन्। खाना पनि विश्रामस्थलमा पुगेपछि मात्रै खान पाइन्छ। यात्रामा १५ दिनका लागि अन्न बोकेरै यात्री निस्कन्छन्। 

कतिपय मठमन्दिरको डोलासँग हिँड्नेहरूले खाने र पिउने सरसामान बयलगाडामा राखेर पैदल यात्रा गर्छन्। प्रत्येक पडावस्थलमा पुग्दा अस्थायी टहरा बनाएर भुइँमै ओछ्यान गरी बस्नुपर्ने हुन्छ। परिक्रमा यात्री विश्रामका लागि पडाव स्थलहरूमा पहिलादेखि नै ठाउँ निर्धारण हुन्छ। विश्रामस्थलमा भजनकीर्तन गरी यात्रीले रात काट्छन्। 

कोही भाकल त कोही श्रद्धाले आउँछन्
महोत्तरीको परौल निवासी ५० वर्षीया कैलाशीदेवी गत वर्षदेखि माध्यमिकी परिक्रमामा सहभागी हुन थालेकी छन्। उनी यस वर्ष पनि परिक्रमा यात्रामा निस्केकी छन्। बिहीबार हनुमानगढीमा भेटिएकी कैलाशीले भाकल भगवान्ले पूरा गरेको बताइन्। सुनाउँछिन्, ‘भगवान्ले गत वर्ष एउटा र यस वर्ष अर्को नाति दिएपछि परिक्रमा यात्रा गर्न आएको छु। ’

६० वर्षीय भोगिन्दर साह पहिलो पटक परिक्रमामा सहभागी भएका छन्। ‘मेरो घरपरिवार, छिमेकीहरू पहिलादेखि नै परिक्रमामा आउँथे’, एकडारा निवासी साह भन्छन्, ‘म त अहिलेसम्म घरपरिवारमै अल्झेर बसेको थिएँ तर यसपालि सोचें यदि अब पनि धर्मकर्म गरिनँ भने जीवन बितेपछि के गर्ने ? त्यसैले धर्म गर्न आएको छु। ’ महोत्तरी भोइलका करिब ५५ वर्षीय साधु सन्तोषी दास त्यागी पछिल्लो ४० वर्षदेखि परिक्रमामा निरन्तर सहभागी भइरहेको अनुभव सुनाए। ‘सानैदेखि मठमा गएर साधु बनें। घरपरिवारबाट सन्न्यास लिएँ। मेरा गुरुसँगै परिक्रमामा सहभागी हुन थालें। जबसम्म बाँच्छु, तबसम्म परिक्रमा गर्छु’, त्यागी निकै खुसी हुँदै सुनाउँछन्। 

व्यवस्थापनमा छैन सरकारको चासो
यात्रालाई प्रवद्र्धन र व्यवस्थापन गर्नतर्फ तीनै तहको सरकारको उदासीनता देखिन्छ। हुन त परिक्रमा यात्रा जुन जुन गाउँ वा सहर भएर जान्छ, त्यहाँका स्थानीयले यात्रीलाई सक्दो स्वागत सत्कार गर्दै आएका छन्। तर, परिक्रमा विश्रामस्थलहरूलाई व्यवस्थित गर्न कतैबाट ठोस पहल भएको छैन। 

‘पर्यटन प्रवद्र्धनको नाममा लाखौं करोडौं खर्चने मधेस सरकारको आँखा यस यात्रामा पुग्न सकेको छैन’, महन्थ नवलकिशोर साह भन्छन्, ‘पहिला त संघीय सरकारले गरेन भनेर दुःखी हुन्थ्यौं। अहिले आफ्नै गाउँघरमा सरकार छ तैपनि यस यात्रालाई हेर्न सकेको छैन। ’ परिक्रमा यात्रीहरूलाई खानेपानी, शौचालय र विश्रामस्थलहरूमा धर्मशालासमेतको बन्दोबस्त हुन नसक्दा यस ऐतिहासिक यात्राप्रति आकर्षण घट्दै गएको देखिन्छ।

‘परिक्रमा रामायणको जीवन्तता’
मिथिला मध्यमा परिक्रमाले त्रेता युगमा रचित रामायणलाई वर्तमान समयसम्म जीवन्त पार्दै आएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन्। ‘मिथिला माहात्म्यमा यसको वर्णन गरिएको छ। मिथिलापुरीमा मानवको रूपमा जन्म लिनु ठूलो सौभाग्य हो। यस भूमिको यात्रा गर्नाले अनन्त फल प्राप्त हुन्छ’, महन्थ दास भन्छन्। हिन्दू धर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्व छ। हिन्दू धर्मशास्त्रमा प्रदक्षिणाको महत्व निकै बढी छ। 

माध्यमिकी परिक्रमा रामायणकालीन सभ्यता
- हिमांशु चौधरी, संस्कृतिविद्

मूलतः यो एउटा आध्यात्मिक यात्रा हो। साधनाका विभिन्न माध्यम हुन्छन्। कसैले ध्यान गर्छ, कसैले योग गर्छ। कसैले भजनकीर्तन गर्छन् भने कसैले सात्वक यात्रा गर्छ। माध्यमिकी परिक्रमा पूर्णतः सात्वक यात्रा हो। हाम्रो धर्म संस्कृतिमा यो कुनै नयाँ प्रचलन पनि होइन। हिन्दू सभ्यतामा प्रदक्षिणाको पौराणिक परम्परा छ। तथापि कतै यसलाई साताव्यापी त कतै कम दिनको परिक्रमाका रूपमा गरिँदै आएको छ। 

यो परिक्रमा रामायणकालीन सभ्यतालाई उजागर गर्छ। यसको १५ वटा परिधि वा भनौं पडाव स्थलहरू रामायणकालीन सभ्यतासँग जोडिएको छ। कतै शिवको शिवालय छ। कतै रामको स्थल छ भने कतै सीतासँग जोडिएका स्थान छन्। यस यात्राको क्रममा व्यक्तिको आत्मामा भएको भगवान््प्रतिको आस्थालाई साधनाको रूपमा परिणत गरी इच्छा, आकांक्षा, सपना वा मनोरथ पूर्तिका लागि कामना गर्ने गर्छन्। 

अन्य व्रत वा पूजापाठ गर्दा धेरै कुरा वर्जित हुँदैन। तर, यस परिक्रमामा सहभागी हुनेले खुट्टामा चप्पलसमेत नलगाई पदयात्रा गर्ने गर्छन्। यो निकै अनुपम छ। अन्य यज्ञ वा धार्मिक अनुष्ठानहरूमा जनमानसलाई निम्तो दिइन्छ। अथवा, कोही आयोजक भएर सबैलाई सहभागिताका लागि आह्वान गर्छ। 

यस धार्मिक यात्रामा श्रद्धालुहरू स्वतःस्फूर्त रूपमा सहभागी हुन्छन्। यो आध्यात्मिकताको प्रगाढता हो। यसमा सहभागी हुनेहरूले न कसैसँग कुनै अपेक्षा राखेका हुन्छन् नत कसैप्रति निर्भरता हुन्छ। सहभागी आफ्नो यात्राको सम्पूर्ण बन्दोबस्त आफैं गर्छन्। मात्र भगवान्को नामको सहारामा कठिन यात्रा पूरा गर्छन्। समग्रमा भन्नुपर्दा, यो संसारकै दुर्लभ यात्रा हो। 

वर्तमान परिपेक्ष्यमा यस परिक्रमालाई केही परिष्कृत गर्नु आवश्यक छ। यात्राका पडाव स्थलहरूका आआफ्नै विशिष्टता छन्। ती विशिष्टतालाई ध्यानमा राखी तिनको विकास र पर्यटकीय प्रवद्र्धनसँग जोड्नु पनि आवश्यक छ। यसका पडाव स्थलहरूको व्यवस्थापन र परिक्रमा यात्रुहरूको सहजतालाई पनि ध्यान दिन्छन्। तीन तहका सरकारले यस धार्मिक यात्रालाई विश्वमाझ प्रस्तुत गर्न वातावरण निर्माण गर्नुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.