प्रदेशस्तरीय प्रतियोगिता फागुन २८ बाट
हेटौंडा : बागमती प्रदेश सरकारले पहिलो पटक प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्ने भएको छ। प्रदेश खेलकुद विकास परिषद्ले फागुन २८ गतेबाट प्रतियोगिता आयोजना गर्न लागेको हो। फागुन २८ गते हेटौंडाको क्याम्पडाँडा मैदानमा उद्घाटन हुने प्रतियोगितामा फुटबल, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट, कराते, एथलेटिक्स, भलिबल र बक्सिङ प्रतियोगिता हुने परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए।
प्रतियोगिताअन्तर्गत मकवानपुरमा फुटबल, तेक्वान्दो र ब्याडमिन्टन, चितवनमा भलिबल र क्रिकेट, सिन्धुपाल्चोकमा कराते, काठमाडौंमा एथलेटिक्स र काभ्रेमा महिला फुटबल र बक्सिङ हुनेछ। प्रतियोगितामा जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका दुई हजार एक सय ८८ खेलाडी सहभागी हुने परिषद्ले जनाएको छ। तीमध्ये एक हजार दुई सय ४९ जना पुरुष र नौ सय ३९ जना महिला छन्। प्रतियोगिता चार सय ५७ जना अफिसियल र निर्णायकले सञ्चालन गर्ने छन्।
प्रतियोगिता सम्पन्न गर्न आठ करोड चार लाख रुपैयाँ खर्च हुने परिषद्का अध्यक्ष तथा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीले दैनिक भत्ता दुई हजार रुपैयाँ पाउने छन्। सबै बिधाका खेलमा प्रथम हुनेले पाँच हजार, दोस्रोले चार हजार र तेस्रो हुनेले जनही तीन हजार रुपैयाँ पुरस्कार पाउने छन्।
खेलाडीहरूको प्रदेश सरकारले बीमा पनि गरिदिने भएको छ। घाइतेको उपचारमा १५ लाख र मृत्यु भएमा ३० लाख रुपैयाँ बीमाबाट पाउने मन्त्री ढकालले बताए।