विजय हितानको ‘मगर रिन्हाक’

विजय हितानको ‘मगर रिन्हाक’

काठमाडौं : साहित्यकार विजय हितानद्वारा लिखित ‘मगर रिन्हाक’ पुस्तक विमोचन गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. मीन श्रीसले पुस्तक विमोचन गरे। कार्यक्रममा समीक्षक र वक्ताहरूले पुस्तक ऐतिहासिक दस्तावेज भएको बताए।

नेपाली साहित्यमा कलम चलाउँदै आएका विभिन्न स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपाल मगर लेखक संघका अध्यक्ष डा. विष्णु सिङ्जाली, प्राज्ञ श्रवण मुकारुङ र नेपाल मगर संघकी उपाध्यक्ष गंगा खासु उपस्थिति रहेको थियो। पुस्तकको समीक्षा साहित्यकार भावेश भुमरी र लेखक अनिता पुनले गरेका थिए। 

अनिताले विजय हितानको लेखकीय क्षमता र पुस्तकमा रहेका विभिन्न लेखरचनाका बारेमा  समीक्षा गरेकी थिइन्। विजयले आफ्नो समय सामाजिक काम र लेखनमा लगाएको भन्दै अनिताले यस पुस्तकले मगर समाजका लागि अत्यन्त महत्वपूर्ण अर्थ राख्ने धारणा राखिन्। उनले मगर संस्कृति, भाषा र अन्य क्षेत्रमा पुस्तकहरू लेखिनुपर्नेमा जोड दिइन्।

साहित्यकार भावेश भुमरीले विजय हितान र अन्य मगर साहित्यकारहरूको संख्या विस्तारै वृद्धि भएको बताउँदै शैक्षिक र सिर्जनात्मक चेतबाटै समाजमा परिवर्तन ल्याउन सकिने बताए। उनले हितान साहित्यकार मात्र नभई बेलायतजस्तो सम्पन्न देशमा बसेर पनि हरेक दिन नेपाल र नेपालीका लागि केही गर्नुपर्छ भन्ने समाजसेवी भएको बताए। 

पुस्तकका लेखक विजय हितानले ठूलो उद्देश्य लिएर यो पुस्तक नलेखेको भन्दै आफूले अध्ययन गरेका, देखेका मात्र नभई काममा संलग्न भएका राम्रा कुराहरूलाई लिपिबद्ध गरेको बताए। उनले बेलायती सेनामा लागेर धेरै वर्ष बन्दुक समाएको र अवकाशपछि मूलतः कलम समाउने काममा लाग्दै यो ठाउँसम्म आएको प्रस्ट्याए। 

प्राज्ञ श्रवण मुकारुङले आर्य जातिको संस्कार र धर्मका रामायण, महाभारतजस्ता पुस्तक पनि कवितामै लेखिएको भन्दै लेख्ने कार्य कठिन भए पनि यसले सबैलाई सुसंस्कृत बनाउने बताए। 

डा. विष्णु सिङ्जालीले मगरहरूको ज्ञान निर्माणमा मगर लाहुरे, सरकारी जागिरे र शिक्षकहरूले लेख्न जरुरी रहेको भन्दै अबको समयलाई हरेक कुराको दस्तावेज आवश्यक भएको विचार राखे। 

विगत लामो समयदेखि बेलायतमा बस्दै आएका विजय हितान वातावरण साहित्य लेखनका अभियन्ता हुन्। हरेक वर्ष आफ्ना कृति पाठकसामु ल्याउँदै आएका हितानको मगर रिन्हाक (मगर चेतना) १०औं कृति हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.