कैदीबन्दीको जोखिमयुक्त अदालत यात्रा
गुलरिया : कारागारमा रहेका कैदीबन्दीलाई जोखिम मोलेरै बर्दिया जिल्ला अदालत पुर्याइने गरिएको छ। उनीहरुका मुद्धाको सुनुवाइका लागि उपस्थित गराउन अटोरिक्सा मार्फत बर्दिया कारागारले असुरक्षित रुपमा जिल्ला अदालत लैजाने गरेको हो।
कैदीबन्दीहरुलाई अदालतमा उपस्थित गराउन तथा उपचारका लागि अस्पताल लैजान अटोरिक्साकै भर छ। कार्यागार कार्यालय बर्दियाका जेलर डिल्लीचन्द्र पौडेलले भने, 'हामीसँग गाडी छैन। जिल्ला प्रशासन कार्यालय बर्दियाले उपलब्ध गराएको गाडी बिग्रिएर ग्यारेजमा थन्किएको छ। इन्जिन बिग्रिएको गाडी मर्मतको इष्टिमेट ६ लाखको छ। हामीसँग गाडी मर्मत गर्न बजेट छैन। सहयोग माग्दा समेत गाडी उपलब्ध हुन सकेन।' उनले कैदीबन्दीलाई अटोरिक्सामा असुरक्षित यात्रा गराउन बाध्य भएको बताए।
जेलर पौडेलले कहिले काही त बिरामी लैजान पनि समस्या पर्ने गरेको बताए। जोखिमयुक्त अटोरिक्साको यात्राबाट कैदीबन्दी भाग्न सक्ने प्रवल सम्भावना देखिन्छ। कारणवश कैदीबन्दीको भगौडा घटना भैहाले समस्या हुन्छ।
कैदीबन्दी बस्ने क्षेत्र पनिस साघुँरो भएको उनको भनाइ छ। कारागार कैदीबन्दीले भरिएर खचाखच छ। १ सय कैदीबन्दीको क्षमता रहेको पुरुष कारागारमा ३ सय ५१ जना छन्। पौडेलले थपे जसमा २ सय १५ जना कैदी र १ सय ३६ जना थुनुवा छन्।
२५ जना क्षमता भएको महिला कारागारमा १४ जना कैदी र १८ जना थुनुवा गरी ३२ जना छन्। जसमा ३ जना नाबालक छन्। बर्दिया कारागारमा २ सय २९ जना कैदी र १ सय ५७ जना थुनुवा गरी कुल ३ सय ८६ जना कैदीबन्दी रहेका जेलरले बताए।
जिल्लाकै एकमात्र कारागार कैदीबन्दीले भरिभराउ छ। वर्षौदेखि सञ्चालनमा रहेको कारागारको नयाँ भवन नबन्दा समस्या परेको छ। कैदीबन्दी राख्ने क्षेत्र साघुँरो छ। भित्र खानेपानी, लाइब्रेरीको राम्रो प्रवन्ध भए पनि ठाउँ साघुरो हुँदा कैदीबन्दी समस्यामा परेका छन्। खेलकुद मैदानको अभाव रहेको पौडेलको भनाइ छ।