न्यायमा हतारो
एक दिनको कुरो हो। ब्वाँसो भोकले छट्पटायो। सधैं पाउने ठाउँहरूमा पुग्यो तर केही खान पाएन। यसरी घुमिहिँड्ने क्रममा ऊ एउटा किसानकै झुपडीमा पुग्यो। त्यहाँ किसान, उसकी पत्नी, दुई छोरा, दुई छोरी र आमाबुबासँग खानपिनमा रमाइरहेको देख्यो। त्यहाँ उसले भेडाहरू पनि पालेको देख्यो। ब्वाँसोले र्याल काढ्दै के गर्ने के नगर्ने भएर निकैबेर छट्पटायो।
किसान भान्छा कोठाबाट फुत्त बाहिर निस्कियो। उसले ब्वाँसोलाई देख्यो। ब्वाँसोले भेडा खान खोजेको ठान्दै उसले लखेट्यो। खेतबारी हुँदै खाल्डाखुल्टी सबै पार गर्दै ब्वाँसो भाग्यो। एक सातापछि, ब्वाँसो पुनः केही खानेकुरा भेट्टाउने आशामा खेतमा फर्कियो। उसले किसानको भान्छा कोठाको पछाडि पुगेर भित्र चिहायो। त्यहाँ त्यो परिवार भेडाकै रोस्ट बनाएर खाइरहेका थिए। ब्वाँसोको मुखमा पानी रसायो। त्यो दिन पनि ऊ भोकै थियो। भोक लागेको बेला त्यो पनि भेडाको मासु!
के गर्ने के नगर्ने, ब्वाँसो छट्पटायो। ‘आहा!’, ब्वाँसोले सोच्यो, ‘यो खान पाए आज अघाउँथें।’ फेरि उसको अर्को मन बोल्यो, ‘होइन, यदि किसान र उसका परिवारले अहिले गरिरहेको काम मैले गरें भने मलाई कमजोर बनाइनेछ, निर्दोष भेडाको हत्या गरेको भन्दै मलाई धम्की दिइनेछ, खेदिनेछ वा मारिनेछ।’ किसानको परिवार हाँसोखुसीमै रमाइरहेका बेला ब्वाँसो चुपचाप आफ्नो निवास फर्कियो।
नैतिक शिक्षा : हामी न्याय गर्न हतार गर्छौं। अरूलाई तिनीहरूले गरेको कामको निन्दा गर्छौं। तर, आफूले त्यसो गर्नमा केही गलत गरे पनि देख्दैनौं।