मटिहानीको गौरव : मिथिला माध्यमिक परिक्रमा
काठमाडौं : सप्तमृतिको संगम स्थल मटिहानी गुलजारमय बनेको छ। स्वागतद्वारले झकिझकाउँछ। मिथिलाको पावनभूमि ‘मृतखानी’लाखौं भक्तजनले भरीभराउँछ। जहाँ मिथिला माध्यमिक परिक्रमाको उल्लास छ। भक्तिभावको रंगले सबैको मन पोतिएको छ। तपोभूमिका मनहरु सेवा र सत्कारमा समर्पित छन्। त्रेताकालमा माता सीताको विवाहहुँदा मटोकर विधी मटिहानी भएको थियो। जहाँ राम-सीताको डोलासहित भक्तसागरको घुँइचो छ।
भगवान् राम सीताको जयजयकारको भक्ति संगितले मटिहानी उत्सवमय बनेको छ। सन्त तस्मैया बाबा र सुफि सन्त पिरबाबाको तपोभूमिको रुपमा मटिहानी प्रख्यात छ। जहाँ ऋषीमुनी कठोर तपस्या सिद्धि प्राप्त गरेको ईतिहास छ।
माध्यमिक परिक्रममास्वरुप अनौठौ खालको छ। विना निम्तो लाखौं भक्तजन मटिहानीसहितको परिक्रमाबासी पुगेको स्थानमा पुग्छन्। जहाँ ठूलो मेला लाग्छ। नेपाल भारतको १३३ किलो मिटरको दुरी नांगो खुटाबाटै भ्रमण गरिन्छ। जहाँ १५ देव तथा तिर्थस्थलमा तिर्थालु पुग्छन्। प्रत्येक रात त्यहीँ बास बस्छन्। यसै मध्यको एउटा पावन भूमि हो मटिहानी। जहाँ मठहरूको पनि महामठ–लक्ष्मीनारायण मठ छ। महन्थहरूका पनि महन्थ यहाँका ‘मानमहन्थ’ छन्। मानहन्थ पनि भक्तजनको सेवा खट्छन्। मटिहानीको साँढे ५ सय वर्ष पुरानो पौराणिक, धार्मिक तथा सांस्कृतिक ईतिहास छ। देश तथा विदेशलाई शिक्षा ज्योति फैलाउने ३०३ वर्ष राजकीय संस्कृत माध्यमिक विद्यालय छ। जहाँ बालागुरु षडानन्दले पढेका थिए। माध्यमिक परिक्रमाले मटिहानीको रामायनकालिन गौरवगाथालाई झल्काउँछ। मटिहानीबासीले परिक्रमालाई आफ्नो ‘पगडी’को रुपमा लिन्छन्।
मिथिला माध्यमिक परिक्रमा १८ औं शताब्दीबाट चल्दैं आएको साधुसन्त बताउँछन्। फागुन शुक्ल प्रथमा (परेवा) तिथिबाट परिक्रमाको सुरुवात हुन्छ। जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै यसको सम्पन्न हुन्छ।त्यसको भोली पल्ट मिथिलामा होली मनान्छ। महोत्तरी,धनुषाको १२ र भारतको मधुवनीका ३ स्थानगरि १५ स्थानमा परिक्रमाबासी धार्मिक यात्रा गरिन्छ। दिनभरी यात्रा गर्छन्, साँझ परेपछि वनमा गएर तिथालुहरु विश्राम गर्छन्। आईतबार परिक्रमाबासी मटिहानीमा रात्री विश्राम गर्छन्। साधुसन्त, महन्थहरु बास बसेको स्थानमा ठूलो धार्मिक मेला लाग्छ। भगवान् राम र सीताको दर्शन गर्न गाउँगाउँबाट मानव सागर नै उर्लिन्छ।
हाम्रो समाज राजनीतिक कित्ताले विभक्त छ। तर, परिक्रमाबासीले समाजिक सम्बन्धको गाँठोलाई बलियो बनाउँछ। आफ्नो प्रभावले सबैलाई परिक्रमाबासीले स्वाःस्फुर्त विश्राम ल्याउँछन्। जहाँ समाज एकताको भावलाई ‘रिचार्ज’ गर्छ। त्यसैले परिक्रमा मटिहानीसहित मिथिलाञ्चलकाका लागि पहिचान मात्रै होइन् अदभूत साँस्कृतिक ‘वैभव’ पनि हो। संस्कृति र संस्कार जीवनका अभिन्न अंग हो, हाम्रो जीवन भोगाईको कला पनि। माध्यमिक परिक्रमा संस्कृतिलाई एक पुस्ताले अर्को पुस्तालाई ‘नासो’को रुपमा हस्तान्तरण गर्दै आएको छ। त्यसैले १८ औं शताब्दीमा सुरु भएको परिक्रमा अझै जीवितै छ। मटिहानी नगरपालिकाले परिक्रमाबासी आइतबार महिटानी आउने भएपछि स्वागतमा सार्वजनिक विदा दिएको छ।
गत मंसीर ६ मा मटिहानीमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण भयो। उनले उर्जाशील भूमि मटिहानीको बिशेष चर्चा गरिन्। ‘देशभर मटिहानीको गुरुकुलले शिक्षाको ज्योति फैलाउने काम गर्यो। यो प्रचीन गुरुकुलले तराई, पहाड र हिमालको भूगोल सम्बन्धलाई समाजिक सद्भाव तथा भावनात्मक रुपमा जोड्ने समेत काम गरिहेको छ’, राष्ट्रपति भण्डारीले भनेकी थिइन्,‘यो गुरुकुलले बालगुरु षडानन्द जस्ता विद्वान, विदुषी जन्मायो। त्यसैले मटिहानी भूमी प्राचिन ज्ञानभूमि, तपोभूमि हो।’ वि.सं. १७७३ मा स्थापित भएको देशकै जेठो गुरुकुल हो। १८२५ सालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा ५० वर्ष पहिले मटिहानीमा गुरुकुल खोलिएको थियो। जहाँबाट देश, विदेशलाई संस्कृति शिक्षा ज्योति फैलाइएको थियो। जनकनन्दी सिताको पावन भूमि मटिहानी सबैका लागि प्रेरणाको स्रोत रहेको उनले भनेकी थिइन्। जहाँ अहिले माध्यमिक परिक्रमाको रौनक छ।
पहेलो बस्त्र धारण गरेका दुई साधु घरीघण्टा बजाउँदै एकाविहानै मिथिला विहारी(राम) र किशोरीजी(सीता)को डोला सहित दगुदैं मटिहानी आउँछन्। त्यो आवाज सुनेर बच्चादेखि वृद्धवृद्धा सबै सबैको मनमा उर्जा भर्छ। डोला पछाडी आँखाले देखेसम्म लाखौं तिर्थालु भक्तजनको लवालस्कर हुन्छ। उनीहरु त्यसैमा मिसिएर विश्रामस्थल पुग्छछन्। मनोरम दृश्य र उल्लासमय वातावरणले तपोभूमि मटिहानी भक्तसागरले भरिभराउ हुन्छ।
१५ दिने माध्यमिक परिक्रमा भक्तजनहरु दिलखोलेर रमाउँछन्। ढोलक, झायल, कर्ताल, हारमुनियमको तालमा कृतन मण्डली नाच्छन्। जय सियाराम, जय सीयाराम...भन्दै भगवान्को महिमा गान गाउँछन्। यो संगीतम वातावरणले जो कोहीकोलागी मन्त्रमुग्ध बनाउँछ। मानिसहरु वर्षभरीका दुःख बिर्सिन्छ। गृहस्थी जीवनबाट समय निकाले भगवान् प्रति आस्था राख्नेहरु तिर्थयात्रामा सामेल हुन्छ। परिक्रम आउनु अगावै यसको तयारीमा भक्तजनहरु जुट्छन्। उनीहरुको सेवा मटिहानी नगरपालिकाको आह्वानमा गाउँले, समाजिक संघसंस्थाहरु आफै खटिन्छन्। आवास, भोजन, दाउरा, औषधी उपचार सबैको व्यवस्था गर्छन्।
मानव नै भगवान् हो। दुःख परेकालाई सहयोग गर्दा, भोकालाई भोजन गराउँदा, पुण्य प्राप्ती हुन्छ भन्ने मानवतावादी भावना परिक्रमाले जगाउँछन्। मटिहानीबासीले यो परोपकारी भवानालाई आफ्नो आदर्श ठान्छन्। राजनीतिक कित्तामा विभाजित समाजलाई परिक्रमाले जोड्छ। परिक्रमाबासीको स्वागत् गर्न के धनी, के गरिब, के दलित, के ब्रह्मण, मुसलिम सबै एक भएर जुट्छन्। तिर्थालुको स्वागत सत्कारमा सबै मस्तेज रहन्छन्। एक विश्रामस्थलबाट अर्को विश्रामस्थल जाँदा स्थानीयबासी, सरकार, संघसंस्था सबका सब सडकमा लामबद्ध हुन्छन्। गाउँको सीमानामा (प्रवेशद्वार)मा भव्य स्वागत गरेर भित्र्याईन्छ, हर्षबढाई गर्दै विदाई गरेर भोली पल्ट अर्को विश्राम स्थलमा पठाउँछन्। बर्षभरी भएका सबै कोध्र, झैं–झगडालाई बिर्सिदैं धार्मिक मेलामा रमाउँछन्।
बिशेष गरेर प्रौढ प्रौढाहरू परिक्रमा सहभागि हुन्छ। छोरा बुहारीहरू घर व्यवहार सम्हाले पछि जीवनमा कम्तीमा पनि एकपटक मध्यमिक परिक्रमा गर्न सबै चाहन्छन्। अधिकांश सहभागी १५ दिनको सामल, लत्ता कपडा, औषधि आदि सँगै बोकेर हिँडछन्। सर सामान बोक्न दर्जनौं जना लान्छन्। साधुहरू भने आफूसँग आफ्ना गाई, घोडा, बाँदरसहित परिक्रमा हुन्छन्।
परिक्रमामा विशुद्ध पारिवारिक माहौल हुन्छ। परिक्रममा आउँदा मन गदगद हुन्छ। आरामले खान पाइन्छ, सबैले सबैलाई प्रेम गरेको लोभ लाग्दो दृश्य यहाँ देख्न पाइन्छ। विश्वभरी सधैं यस्तो हो भन्ने कामना गरिन्छ। धार्मिक यात्राबाट शान्ति र आननद मिलेको छ। न दुःख न शोक। न चिन्ता न त विध्न बाधा नै हुन्छ परिक्रमा यात्रामा। केवल आनन्द नै आनन्द मिल्छ। हिड्दै हिड्दै धर्म पनि हुने र तिर्थ स्थलको दर्शन पनि हुने यस्तो पर्व कतै छैन। पैदल यात्रा गर्दा शारीरीक तन्दुरुस्ती सित्तैमा पाइन्छ।
परिक्रमा हाम्रो संस्कृति हो। मिथिलाको सुसंस्कृत सभ्याता हो। यो एउटा मिथिलाको साँस्कृतिक पर्व हो, जसले आन्तरिक पर्यटनलाई बढावा दिन्छन्। नेपाल –भारत बीचको भावनात्मक सम्बन्धलाई ‘रिचार्ज’गर्छ। रोटी–बेटीको सम्बन्धलाई संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्छ।
जहाँ कृपा रामके होई,
उहाँ कृपा सबकोई के।
अर्थात जहाँ भगवान् रामको कृपा हुन्छ त्यहाँ सबैको कृपा हुने लक्ष्मीनारायण मठ मठिहानीका महन्थ जगरनाथ दास बैष्णब भन्छन्। ‘परिक्रमा हाम्रो संस्कृति, हाम्रो सभ्यता हो। जहाँ जहाँ राम र सीताको चरण परेको छ। ती ठाउँहरु भ्रमण गर्दा मनोकामना पुरा हुने जनविश्वास छ।’
हिमाल नपग्लिए मधेश सिञ्चित हुन्न। पहाड नउम्रे मधेशले पानी पाउन्न। मधेश डढे पहाड मर्छ। पहाड वर्षे मधेश डुब्छ। हिमाल पग्ले पहाड खस्छ र मधेश पुरिन्छ भन्ने सन्देश फैलाउदै मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने मिथिला मध्यमा परिक्रमा ठूलो संख्यामा पहाडी समुदाय सहभागि हुन्थ्यो। तर, २०६३–०६४ को मधेश आन्दोलनले जनकपुर, जलेश्वरबाट पहाडी समुदाय पलायन भयो। यसको नकारात्मक प्रभाव परिक्रमा परेको देखिन्छ। उहिले जस्तो अहिले पहाडी समुदायको बाक्लो सहभागित मिथिला परिक्रमा देखिदैंन। उनीहरुको सहभागिताले धार्मिक, भाषिक, सांस्कृतिक, सामाजिक अन्तरघूलन बढाउँछ। तराई–मधेश र पहाड गरी दुई क्षेत्रका नेपालीलाई एक ठाउँमा ल्याउने सेतु हो माध्यमिक परिक्रमा।
प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा राज जनकले चार वटा शिवालय क्रमशः कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर स्थापना गरेका थिए। जसलाई आधार मानी परिक्रमा गरिन्छ। चार वटै शिवालय राजाजनको इष्ट देव हुन्। बर्षमा एक पटक विशाल रुपमा तिर्थालुहरु मोक्क्ष प्राप्तिका लागि मिथिलाको माध्यमिक परिक्रमा गर्छन्। मिथिलाको आफ्नै महत्व छ।संसारमा कुनै न कुनै पाप जानेर वा नजारे मानिसबाट भइरहेको हुन्छ। तिर्थ गरेपछि त्यसबाट मुक्ति पाइन्छ।तिर्थहरुमा गएर गरिएको पापहरु मिथिलाधामको परिक्रमा गरेपछि मात्रै कट्छ भन्ने धार्मिक विश्वास छ।
अति प्राचिन ग्रन्थ विष्णु पुरान अन्तर्गतको मिथिला माहात्मको अध्याय–१२ को ३३ श्लोकमा मिथिला परिक्रमाको बारेमा बिस्तृत वर्णन गरिएको छ। मिथिला भूमी पावन, पवित्र छ। सीता कहिपनि उत्पन्न हुँदा हुन्थ्यो।तर, मिथिलाको भूमिमै उत्पन्न भइन्। मिथिलाको माटो नम्र थियो।खाली खुट्टा हिडेर परिक्रमा गर्न सजिलो थियो। मटिहानी जस्तो सप्तमृतिकाबाट माटो लगेर माता जानकीको विवाहको वेदी बनाइयो। मिथिला माध्यमिक परिक्रमाको १५ वटा विश्राम स्थल छन्। सबै ५ कोसको दुरीमा लगभग छन्। अर्थात १५ किलो मिटर भित्रै पर्छन्।
राजा जनक शिवभक्त थिए। उनले जनकपुरको पूर्व र दक्षिण कुनामा स्थापना गरेको कलान्याश्वर महादेव स्थानबाट दुई साता चल्ने माध्यमिक परिक्रमा प्रारम्भ हुन्छ।यो परिक्रमालाई विस्तार गर्ने काम जानकी मन्दिरका महन्थ सुरकिशोर दासले व्यवस्थित रुपमा अगाडी बढाउने काम गरेका थिए। भारत बर्षमा यसरी तिर्थहरुको परिक्रमा गर्ने चलन छ। मध्यमिक परिक्रमा नेपालकै ठूलो धार्मीक यात्रा हो।
माता, पिता, तिर्थ, गौं, यिनीहरुको परिदक्षिना गर्नुपर्छ भन्ने भाव परिक्रममाले झल्काउछ। आफु जन्मेको भूमी जो कोहीका लागि प्राण भन्दा प्यारो हुन्छ। उसलाई स्वर्ग भन्दा सुन्दर लाग्छ। मिथिला भनेको जगत जननी सीता जीको जन्म भूमी हो। जन्मभूमिलाई कदापी बिर्सिनुहुदैंन। टाढा टाढा गएका मान्छेहरु सालमा एक पटक भएपनि परिक्रमा गरेर सुमरण गर्छन्। मिथिला क्षेत्रमा अराध्यदेव नै राम र सीता हुन्। नर रुपमा आएपछि राम र सीता जी भन्दा पहिला कुनै भगवान्को विहे नै भएको थिएन।
धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट रामजानकी डोला (प्रतिमा) को अगुवाइमा निस्केको यो धार्मिक यात्रा ठेरा, जमुनिया, बेंगाशिवपुर हुँदै जनकपुरको रत्नसागर मन्दिर पुग्छ। त्यहाँ खाना खाएर परिक्रमाका सहभागीहरू जानकी मन्दिरको दर्शन गर्दै राति जनकपुर–१२ कुवारामपुरस्थित हनुमानगढीमा विश्राम गर्छन्। सूर्योदयलगत्तै उनीहरु भारतको कलानेश्वरका लागि बाटो तताउँछन्। जहाँबाट विधिवत् परिक्रमा थालिएको मानिन्छ। यात्रा गरेको चौथौं दिन प्रवित्र भूमि मटिहानी आइपुग्छ। १५ दिनसम्म चल्ने यस्तो परिक्रमा कहि छैन, जहाँ दुई देश भएर जान्छ । यो एउटा अनौठौ परिक्रमा हो। कोसी, गण्डक,गंगा, हिमालय मिथिला क्षेत्र भित्र पर्दछ। यो बृहत परिक्रमा भित्र पर्छ। राज जनकको राजधानी जनकपुरलाई परिक्रमा गर्नु भनेको माध्यमिक परिक्रमा हो।
दुई ठाउँमा मात्रै भगवान् नाचेका छन्,–बृदाबनमा कृष्ण र अध्योधामा राम। मिथिलामा मिथिलानीले मात्रै भगवानलाई नचाउँछन्। परिक्रमा शास्त्रपुरानमा सीमित भइसकेको थियो। करिब पौने २ सय बर्ष पहिले सीयालाल प्रभंस नाम गरेको सन्तले १०–१२ जना साधु मिलेर परिक्रमाको सुरु गरे।त्यसपछि मिथिला बिहारी(राम)को डोला सुरु भयो।त्यसपछि किशोरी जीको पनि डोला सुरु भयो।
परिक्रमाले दुवै देशको संस्कृतिलाई जोड्ने काम गर्दछ। यसले मानवलाई धर्मको माध्यबाट नैतिकवान र आशावादी बनाउँछन्। हालै संघीय सरकारले मटिहानी नगरपालिका भित्र सघन शहरी कार्यक्रम अन्र्तगत ५० करोड बजेट पठाएको मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल भन्छन् 'प्रदेश र संघीय सरकारले परिक्रमालाई खासै बुझेकै छैन। यत्रो ठूलो धार्मिक यात्रा भइरहको छ। प्रदेश र संघीय सरकारलाई कुनै चासो नै छैन। पर्यटन मन्त्रालयले यसलाई महत्व दिनु पर्छ। यसको प्रचार प्रसार भएको भए यसले देशलाई राम्रै फाइदा हुन्छ।'
बाहिरका पर्यटकहरु आउँथें। माध्यमिक परिक्रमालाई सोध, खोज र अनुसन्धानको बिषय बनाउनु पर्छ। पन्ध्र दिने यस धार्मिक यात्रालाई व्यवसायीकरण गरेर वार्षिक करोडौं आर्जन गर्न सक्ने सम्भावना छ। हालसम्म यो धार्मिक यात्राले सोचे जस्तो व्यावसायिकस्वरूप लिन सकेको छैन। यस धार्मिक यात्रामा वार्षिक लाखौं श्रद्धालु सहभागी हुन्छन्। तर उनीहरूका लागि सुविधासम्पन्न आवासको सुविधा हुँदैन।
तीर्थयात्रीको बसाइँ र पर्यटकको व्यवस्थापनमा समस्या देखिन्छ। धार्मिक, कृषि र उधोग व्यापारको विकास गरी जनताको जीवनस्तर उकास्ने योजना सरकारले अघि बढाउनु पर्छ। यसले ज्ञानभूमि, तपोभूमिकोस्थल मटिहानी सहितका अन्य विश्रामस्थल र त्यहाँका नागरिकमा मिथिला मध्यमिक परिक्रमा बारे चासो अझै बढ्ने छ।