सुन आयातमा कडाइ : दैनिक ६ लाख ३० हजार डलर जोगिने
काठमाडौं : मुलुकबाट प्रत्येक दिन २० किलो सुन खरिदमा १२ लाख ६० हजार अमेरिकी डलर बाहिरिरहेको थियो। यो प्रतिअमेरिकी डलर १२२.२ को दरले १ खर्व ५३ अर्व ९२ करोड १६ लाख रुपैयाँ हो। बैंकले प्रतिकेजी सुनमा ६३ हजार अमेरिकी डलर खर्चिंदै आएको छ।
एकातिर दैनिक आयातीत वस्तुमध्ये सबैभन्दा बढी हिस्सा सुनले ओगट्छ। अर्कोतर्फ यो महँगो वस्तुभित्र पर्छ। अहिले प्रति तोला छापावाला सुनको मुल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ र तेजावी सुनको प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ छ। यसरी सुन आयातका कारण ठूलो भोलममा डलर खर्च हुँदै आएको छ।
मुलुकमा विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ। अब सुन आयात गर्न अधिकार पाएका वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकले दैनिक १० केजी सुन मात्रै आयात गर्न पाउँछन्। केन्द्रीय बैंकले आइतबार एकीकृत परिपत्र– २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि दैनिक २० केजी सुन आयात गर्दै आएका थिए। अब सुन आयातमा दैनिक आधा परिमाण कटौती गरेपछि मुलुकले दैनिक ६ लाख ३० हजार अमेरिकी डलर (७६ अर्व ९६ करोड ८ लाख रुपैयाँ) मात्रै खर्च हुने भएको छ।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल बढी आयातीत वस्तुमै भर पर्नु परेकाले पछिल्लो समय विदेशी विनिमय सञ्चिति घट्दै गएका कारण सुन आयातको सीमा कटौती गर्नु परेको बताउँछन्।
‘पछिल्लो समय लगातार विदेशी विनिमय सञ्चितिमा चाप परेको छ। सबैभन्दा बढी भोलुम र भ्यालुमा आयात हुने वस्तु सुन पनि एक हो,’ उनले अन्नपूर्णसँग भने,‘एक केजी सुनकै ६३ हजार अमेरिकी डलर तिर्नुपर्छ। यसो गर्दा २० केजीमा बढी मुद्रा जान थालेपछि सञ्चिति घटाउन यस्तो उपाय अपनाउन बाध्य भएका हौं।’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य मुलुकको हितका लागि सुन आयातको सीमा घटाए पनि पछि बढाउने गरी परिमार्जन हुने अपेक्षा गर्छन्। मूल्य बढेकाले बजारमा माग कम हुनसक्ने भएकाले यस अवधिमा आपूर्ति पनि कम भए केही फरक नपर्ने उनको भनाइ छ। यद्यपि अहिले बजारमा दैनिक २५ किलो हाराहारीमा सुन बिक्री भइरहेको उनले जानकारी दिए।
मुलुकमा विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ।
आयात गर्ने परिमाण बाहेकको सुन सर्वसाधारणसँग भएका पनि बजारमा आउने भएकाले किनबेच भइरहँदा २५ किलोसम्म किनबेच हुने गरेको उनको भनाइ छ। ‘लगन भएको बेला दैनीक ३०–४० केजी सुन खपत हुने गरेको थियो।’ उनले भने। बजारमा करिब २५ हजार सुनचाँदी व्यवसायी छन्।
विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न थालेपछि यसअघि केन्द्रीय बैंकले ४७ शीर्षकका १६ सय वस्तुको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म मार्जिनको व्यवस्था गरेको थियो। बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहनेछ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार गत पुससम्म कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ छ। अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ८९ करोड मात्र छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ११ खर्ब १५ अर्ब ५९ करोड छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ पुस मसान्तमा २.७ प्रतिशतले कमी आई रु. १ खर्ब ५० अर्ब २१ करोड कायम भएको छ। २०७८ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ।