सहमति नजुटे माओवादी केन्द्रको पदाधिकारी चयन चुनावपछि

सहमति नजुटे माओवादी केन्द्रको पदाधिकारी चयन चुनावपछि

काठमाडौं : सहमति नजुटे स्थानीय तहको चुनावपछि मात्रै नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउने भएको छ। केन्द्रीय पदाधिकारी, पोलिटव्यूरो, केन्द्रीय समितिलाई पूर्णता दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक गृहकार्य गरिरहेका छन्। महासचिव पदमा वर्षमान पुन र जनार्दन शर्माको कडा प्रतिस्पर्धा छ। यो पदमा सहमति नजुट्दा पार्टीको केन्द्रीय पदाधिकारी, पोलिटव्यूरो, केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन।

महासचिव पदको टुंगो लगाउन अध्यक्ष प्रचण्डले कोसिस गरिरहेका छन्। पार्टीका कमिटीलाई पूर्णता नदिएको भन्दै पार्टीभित्र प्रचण्डको चर्को आलोचना भइरहेको छ। स्थानीय तहको चुनावका बेला पदाधिकारी छनौटका लागि पार्टीभित्र चुनाव गराउँदा पार्टीमा अन्तरविरोध बढ्ने पार्टीका नेताहरुले बताएका छन। त्यसैले अध्यक्ष प्रचण्ड सहमतिमै पार्टीका कमिटीहरु चयन गर्न चाहन्छन्। तर, पदाधिकारीमा सहमति हुने छाँटकाँट नदेखिएको पार्टीका केन्द्रीय सदस्य राजु खड्काले बताए।

पदाधिकारी छनौटमा गृहकार्य नपुगको भन्दै आइतबार बोलाइएको केन्द्रीय कमिटिको बैठक आज सोमबार ११ बजेका लागि अन्तिम समयमा आएर सारिएको थियो। पदाधिकारी चयन, एमसीसी र स्थानीय निर्वाचन लगायतका एजेण्डालाई छलफलको बिषय बनाइएको छ।

‘पदाधिकारी चयनका लागि गृहकार्य नपुगेर आइतबारको बैठक स्थगित भयो,’ पार्टीका प्रमुख सचेतक देव गुरुङले भने,‘सहमतिमा पदाधिकारी चयनको प्रयास भइरहेको छ। यसो हुन नसक्दा चुनावपछि नै होला।’ पदाधिकारी चयन नहुँदासम्म एउटा केन्द्रीय कार्यालय टिम बनाएर स्थानीय तहमा नेताहरुलाई परिचालन गर्न अध्यक्ष प्रचण्डले रोडम्याप बनाएका छन्।

पुस १८ गतेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई निर्वाचित गरेको थियो। वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–६, महासचिव–१, सचिव–३, कोषाध्यक्ष–१ सहित १४ वटा पद खाली छ। महाधिवेशन भएको दुई महिनासम्म पनि पदाधिकारीले पूर्णता नपाउँदा पार्टी सञ्चालनमा समस्या भइरहेको छ। पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि बैठक लम्बिएको पार्टीका केन्द्रीय सदस्य प्रकाश पोखरेलले जनाए। वरिष्ठ उपाध्यक्ष पदमा नारायणकाजी श्रेष्ठको दावी छ। उपाध्यक्षमा कृष्णबहादुर महरा, गिरिराजमणी पोखरेल, गणेश साह, पम्फा भूसाल, हरिबोल गजुरेल, देव गुरुङ, लिलामणी पोखरेल, मात्रिका यादवलगायत आकांक्षी देखिएका छन्।

‘कमिटी निर्माणमा भोटिङ भए पार्टीभित्र अन्तरविरोध बढ्छ। त्यसको असर लगतै हुने स्थानीय तहको चुनावमा पर्छ,’केन्द्रीय सदस्य पोखरेल भन्छन्,‘ त्यसैले सहमतिमा पदाधिकारी छनौट भए राम्रो। नभएर स्थानीय तहको चुनावपछि मात्रै पार्टीका कमिटीलाई पूर्णता दिन नेताहरु सहमति नजिक पुग्नुभएको  छ।’

केन्द्रीय कमिटिको २९९ सदस्यमध्ये ६२ सदस्यको नामावलीमा सहमति जुटेको अर्का केन्द्रीय सदस्य रामकुमार शर्माले बताए। ‘सोमबारको बैठकले केन्द्रीय समितिले पूर्णता पाउँछ,’उनले भने,‘अरुमा सहमति नभए चुनाव पछाडि हुन्छ।’

अपूरो केन्द्रीय समिति चयन गर्दै पुस ११–१८ जारी पार्टी आठौं राष्ट्रिय महाधिवेशन काठमाडौं सकिएको थियो। बन्दसत्रमा प्रचण्डले महाधिवेशन आयोजक समितिका तर्फबाट दुई सय ९९ सदस्यीय केन्द्रीय सदस्यमा ६२ जना रिक्त राखेर दुई सय ३७ जनाको नाम प्रस्तुत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.