मिथिला मध्यमा परिक्रमामा भारतीय महिलाको मृत्यु
जनकपुरधाम : मध्यमा मिथिला परिक्रमाको क्रममा एक भारतीय महिलाको मृत्यु भएको छ। परिक्रमाको क्रममा पदयात्रा गरेर जलेश्वर पडाव स्थल पुगेकी परिक्रमा यात्री भारतको विहार राज्य मधुवनी जिल्ला बासोपट्टीका राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवी साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले महोत्तरीकै मठिहानी पडाव स्थलबाट जलेश्वरको पुगेकी महिला जलेश्वर नगरपालिका वडा नं. २ स्थित पोखरीमा नुहाउने क्रममा रिंगाटा लागेर बेहोस भएकी थिइन् ।
बेहोस भएकी साहलाई उपचारका लागि जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पताल जलेश्वरमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता विष्टले बताए । शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मिथिलाको महाकुम्भको रुपमा रहेको मिथिला मध्यमा परिक्रमा बिहीबारबाट सुरु भएको हो ।
जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात् भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ । नेपालकै सबैभन्दा लामो १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल र भारतका विभिन्न स्थानमा श्रद्धालुहरु पुग्ने गर्छन् ।
नेपालको धार्मिक ऐतिहासिक ठाउँहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भू–भागको यात्रा गर्नेछ । यसमा नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरु पदयात्रा गर्ने गर्छन् ।