मधेश भ्रमणको क्रममा मुख्यमन्त्री पोखरेलले गरे मटिहानी अवलोकन
जनकपुरधाम : मधेश प्रदेशको भ्रमणमा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालकै सबैभन्दा पुरानो राजकीय संस्कृत माध्यमिक विद्धालयको अवलोकन गरेका छन्। तीन दिवसीय भ्रमणमा आएका मुख्यमन्त्री पोखरेल भ्रमणको तेश्रो तथा अन्तिम दिन सोमबार मटिहानी नगरपालिकामा भ्रमण गरेका हुन्। सोही क्रममा उनले लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्नुका साथै लक्ष्मी सागरमा आरती गरेका छन्।
राजकीय संस्कृत माध्यमिक विद्धालयको अवलोकन गरेका मुख्यमन्त्री पोखरेलले रुद्रीपाठमा सहभागी भएका थिए। मटिहानी पुगेका मुख्यमन्त्री पोखरेलसहितको टोलीलाई नगर प्रमुख हरिप्रसाद मण्डल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विजय कुमार साह, महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता लगायत स्थानीयहरुले स्वागत तथा सम्मान गरेका थिए।
हवाई कनेक्टिभिटी अन्तर्गत शनिवारबाट जनकपुरधामदेखि पोखरासम्म सिधा हवाई सेवा शुभारम्भ भएपछि पोखराबाट आएको पहिलो फलाईटमा मुख्यमन्त्री पोखरेले १८ जनाको टोलीसहित मधेश भ्रमणमा आएका थिए। मधेश भ्रमणको क्रममा मुख्यमन्त्री पोखरेलले जनकपुरधामको जानकी मन्दिर, रेल्वे स्टेशन, धनुषाधाम, महोत्तरीको टुटेश्वरनाथ, सर्लाहीको मानव निर्मित नेपालकै सबैभन्दा ठूलो भरत ताल, पर्सा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रको भ्रमण गरेका हुन्।
तीन दिवसीय भ्रमण गरेर सोमबार उनी पूनः पोखरा फर्कने कार्यक्रम रहेको छ।