धनुषामा अहिलेसम्मकै ठूलो मात्रामा अवैध सालको काठ बरामद
ढल्केवर(धनुषा) : धनुषामा लुकाई छिपाई राखिएको ठूलो मात्राको अवैध सालको काठ बरामद भएको छ। सोमबार डिभिजन वन कार्यालय धनुषाले धनुषाधाम नगरपालिका–६ मालटोलस्थित खेतबारीमा लुकाइछिपाई राखिएको १८५ थान सालको गोलिया बरामद गरेको हो।
जिल्लामै पहिलो पटक यतिको परिमाणमा अवैध काठ बरामद भएको डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख सुनिलकुमार कर्णले जानकारी दिए। उनले १८१ थान गोलिया र चार थान चिरान गरी १८५ थान बरामद भएको काठ २५५.०९ क्यूफिट रहेको बताए।
‘यति ठूलो मात्रामा अवैध सालको काठ बरामद भएको यो जिल्लाकै पहिलो घटना हो,’ प्रमुख कर्णले भने ‘यसअघि बढीमा २० थानसम्म अवैध काठहरु बरामद भएको तथ्याङ्क छ।’ वन कर्मचारी, जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा काठ बरामद गर्न सफल भएको उनले उल्लेख गरे।
उनका अनुसार बरामद गरिएको काठ मिथिला नगरपालिका–४ पुष्पवलपुरस्थित सव डिभिजन वन कार्यालयमा राखिएको छ। वनबाट काठ कटान गर्नेहरुको पहिचान गर्न कर्मचारी खटाइएको उनको भनाइ छ। पहिचान खुलेपछि संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रमुख कर्णले बताए।