मरनीदेवीलाई महिला साहसी सम्मान
जनकपुरधाम : २० वर्षअघि बोक्सीको आरोपमा अमानवीय व्यवहार खेपेकी मरनीदेवीलाई महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले महिला साहसीको रुपमा सम्मान गरेको छ। मटिहानी नगरपालिकाले ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार नगरपालिकामा आयोजित एक सार्वजनिक कार्यक्रमको आयोजना गर्दै मरनीदेवीलाई उक्त सम्मान गरेको हो।
नगरप्रमुख हरिप्रसाद मण्डलले दोसल्ला र ५० हजार रकमसहित उनलाई सम्मान गर्दै बोक्सीप्रथा सामाजिक कलंकको रुपमा रहेकाले यसलाई निर्मूल गर्नुपर्नेमा जोड दिए। नगरप्रमुख मण्डलले समाजमा पूनःस्थापित भइसकेकी मरनीदेवीलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए।
उनले २० वर्ष अगाडि भएको घटना मटिहानी नगरपालिकाको लागि कलंकको रुपमा रहिरहने समेत बताए। घटनाको केही समयपछि मरनी फेरि सामाजिक कार्यमा लागेको उदाहरणको प्रशंसा गर्दै सोही कार्यको उच्च मूल्यांकन स्वरुप साहसी महिलाको रुपमा सम्मान गरिएको स्पष्ट पारे।