धनुषा कांग्रेसको निर्वाचन : दोस्रो चरणको मतदान हुने
धनुषा : नेपाली कांग्रेस धनुषाको १४ औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। २३ गते भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।
कांग्रेसको विधान अनुसार पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसके दोस्रो चरणको मतदानमा जानुपर्ने प्रावधान छ। जिल्ला नेतृत्वका लागि तीनजना उम्मेदवार मैदानमा उत्रिएका थिए। सोमबार पहिलो चरणको निर्वाचनमा उम्मेदवार, योगी पजियार, सन्तोष यादव र दिनेश प्रसैला यादव मध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन सकेनन्।
मंगलबार अबेर राति आएको मतगणना परिणाम अनुसार सभापतिका उम्मेदवार योगेन्द्र पजियारले सर्वाधिक १ हजार २ सय ४८ मत ल्याएका थिए। त्यस्तै सन्तोष यादवले ८ सय ८२ र दिनेश प्रसाद प्रसैला यादवले ६ सय ३० मत ल्याएका थिए।
धनुषामा जम्मा ३ हजार १ सय १९ मतदाता रहेकोमा पहिलो चरणमा २ हजार ९ सय १८ मत खसेको थियो। जस मध्ये १५८ मत बदर भएको थियो। पहिलो चरणमा तीनै जना उम्मेदवार मध्ये कसैले ५१ प्रतिशत मत ल्याउन सकेनन्।
समितिका अनुसार अब दोस्रो चरणमा क्रमश प्रथम र दोस्रो स्थानका उम्मेदवार पजियार र यादवबीच प्रतिस्पर्धा हुनेछ। पार्टीको विधान अनुसार दोस्रो चरणमा सभापतीको दौडबाट प्रसैला बाहिरिएका छन्। दोस्रो चरणको निर्वाचनका लागि २६ गते बिहीबार बिहान ८ बजेदेखि मतदानको समय तोकिएको बताइएको छ।
पजियार विमलेन्द्र निधि समूहका उम्मेदवार हुन्। यादव संस्थापन पक्ष र प्रसैला शेखर कोइराला समूहका उम्मेदवार थिए।