...के जिन्दगी ? भित्रको जिन्दगी
हर्ष थापाले ‘...के जिन्दगी ?’ नामक कविता संग्रहमा आफ्नो जीवनका भोगाईहरूलाई यथार्थ रूपमा प्रस्तुत गर्नुभएको छ। ग्रामीण परिवेशमा हुर्केका अधिकांस नेपालीहरूको तत्कालीन अवस्थाको समाज, शिक्षा, आर्थिक अवस्था आदिलाई उहाँले स्पष्ट रूपमा राख्नुभएको छ। राजधानी काठमाडौं प्रवेश गरेपछि प्रारम्भिक दिनहरूमा हातमुखको समस्या समाधानका लागि उहाँले गर्नुभएको संघर्षहरू कारुणिक छन्। दुःखबाट मानिस भाग्न खोज्दछ तर हर्षजीले दुःखलाई खुशी साथ ग्रहण गरेर निरन्तर अगाडि बढीरहनु भएको किताब पढ्दा बुझ्न सकिन्छ। बालक कालदेखि नै घर व्यवहार, शिक्षा आर्जन, सामाजिक कार्यहरूमा उहाँ उत्प्रेरित भएर लाग्नुभएको बुझिन्छ।
हर्ष थापा अधिकांस नेपाली युवाहरूको भोगाइको प्रतिनिधि पात्र हो भने जस्तो लाग्दछ। किताव पढ्दा उहाँका संघर्षमय दिनहरू गाउँबाट शहर आएर रोजगारी खोज्ने जो कोहीको पनि बिषय हुन सक्दछ। यो किताब पढदा अबस्य पनि संघर्षशील युवाहरूको मन छुन्छ। चाहे स्वदेशमा रहेका युवा हुन वा विदेशमा। आफ्नो भविष्य निर्माण गर्नेका लागि अहिले पनि त्यत्तिकै महत्व राख्दछ यो पुस्तकले। ग्रामीण भेगको तत्कालीन अवस्थाको सजीव चित्रण गर्नुभएको छ हर्षजीले आफ्नो पुस्तकमा। टुकी बालेर पढ्नु पर्ने, डण्डी वियो खेलेको, गोठालो गएको, बाल्यकालमा साथीहरूको स्मरण अति नै रोचक छ। यद्यपि गोठका गाईको नाम (भूण्टी र सोवर्नें) समेत उहाँको स्मरणमा ताजै छ। भनिन्छ “आमा र जन्मभूमी स्वर्गभन्दा ठूलो हुन्छ”। हर्षजीले आफ्नो मातृभूमिलाई अति नै माया गर्नुभएको किताबको पहिलो पंक्तिबाट नै व्यक्त हुन्छ। मातृभूमिबारे उहाँ यसो भन्नुहुन्छ—
“चारैतिर हरियाली बन, वीचमा मेरो गाउँ।
उक्त हरफ पढ्दा लाग्दछ एउटा प्रतिष्ठित विद्वान र कविभन्दा कम छैन उहाँको सृजना। पाठकको मन छुन्छ।
उहाँले भनिसक्नु भएको छ यस पुस्तकमा म ठूलो कवि होइन, म साहित्यकार पनि होइन। कविता रूपी व्याकरणीय छन्द, शुद्धाशुद्धि नमिले पनि उहाँको व्यक्त भावना कुनैपनि अव्वल श्रष्टाकोभन्दा कम छैन। पद्य साहित्यलाई हर्षजी अति मन पराउनु हुन्छ भन्ने पनि यस पुस्कको प्रस्तुतिले बताउँछ। गद्यभन्दा पद्य लेखन धेरै कठीन हुन्छ। अध्ययन गर्न गद्यभन्दा पद्य सजिलो लाग्दछ। पद्यमा श्रृंगारिक रसदेखि, उत्साह, उमङ्ख, निरासा, कुण्ठा, सुखदुःख, आदि लयात्मक शैलीमा पढ्न पाईन्छ। त्यसैले देवकोटाको मुनामदन गीति काव्यले ग्रामीण परिवेशको जीवन शैलीलाई जीवन्त रूपमा प्रस्तुत गरेको हुँदा अजर अमर छ।
काठमाडौंमा खान नपाउँदाको अवस्था, कलेजको फिस तिर्न नसकेको व्यथा, मजदुरी गरेर प्राप्त हुन आएको पहिलो परिश्रमको महत्व, यो पुस्तक पढ्ने जो कोहीको पनि मन रुन्छ। असनमा भारी बोक्न नसकेर भारीले किचेको, अवैध व्यापार चोरी निकासीका काममा चौथमल जटिया (मारवाडी)ले आपूmलाई पत्तै नपाई प्रयोग गरेकोमा हर्षजी झल्याँस्स हुनुभएको छ। तस्करहरूले अवैध व्यापार कसरी गर्दछन् भन्ने बिषयमा भुक्तभोगी उहाँ स्वयम् बन्न पुग्नुभएको छ। तस्करहरूलाई उहाँ घृणा गर्नुहुन्छ। अवैध कामबाट भगवान्ले आपूmलाई बचाएकोमा धन्य छु, नत्र भारतको जेलमा दुःख पाएर मर्थें हुँला सम्म भन्नुभएको छ हर्षजीले आफ्नो पुस्तकमा। हर्षजीलाई नजीकबाट चिन्ने बुझ्ने मानीसहरूले यो पुस्तक पढ्न शुरु गरेपछि छोड्न मनै लाग्दैन। निरन्तर पढीरहुँ जस्तो लाग्दछ। जुन मलाई अनुभूति भएको बिषय हो। पुस्तक पढ्न जटिल पनि छैन। सरल शव्द र वाक्य छनौट उहाँको मौलिकता हो। सर्वसाधारणले सहजै कविताका भाव बुझ्न सकुन् भनेर गद्यमा संक्षिप्त व्याख्यासहित प्रस्तुत गरिएको छ। सात वर्षको उमेरमा माछा र नौ वर्षको उमेरदेखि नै मासु खान छाड्नु भएकोले सात्विक आहार र सद्विचार तर्फ मोडिनु भयो। उहाँले हाम्रो समाजलाई व्यंग्य पनि गर्नुभएको छ–
“माछा मासु नखानेमा गाउँमै पहिलो भएँ।
शाकाहारी बनौंभन्दा पृथक धारमा गएँ।।”
अझै पनि हाम्रो समाजमा गैर मांसाहारीलाई छुट्टै दृष्टिकोणले हेरिन्छ र अलग व्यबहार गरिन्छ।
यो किताव पढ्दा लाग्छ हर्ष थापाले आफ्नो जीवनलाई तीन वटा पक्ष अँगालेर डोर्याई रहनुभएको छ। समाजसेवा, धार्मिक चिन्तन, उद्यमशीलता (व्यवसाय) जीवन पद्धति हुन् भनेर बुझ्न सकिन्छ। दुःख र संघर्षहरूमा पनि खुशी रहने उहाँको ब्यबहारले हर्ष नामको साध्य भएको महशुस जो कोहीले पनि गर्न सक्लान् भन्ने लाग्दछ। पुस्तकमा जीवनका भोगाईहरूको उहाँले बिस्तृत रूपमा चर्चा गर्नुभएको छ। सबै बिषयहरू यहाँ उल्लेख गर्न सम्भव पनि छैन। पुस्तकको भित्री पृष्ठमा पढ्दा उहाँको गुरु को हुनुहुन्थ्यो ? भन्ने बुझिन्छ तर पनि उहाँ निकट मान्छेहरूले मात्र बुझ्न सक्छन्। सर्वसाधारण सर्व पाठकले बुझ्ने गरी गुरुको नाम र ठेगाना पनि तस्वीर संगै उल्लेख गरिदिनु भएको भए अझ स्पष्ट हुने थियो। आगामी अंकहरूमा उहाँको ध्यान जाने नै छ।
गोपीकृष्ण ढुंगानाले सम्पादन गर्नुभएको ‘...के जिन्दगी ?’ नामक संग्रहभित्र आचार्य श्री १०८ कृष्णमणिजी महाराजदेखि सबै व्यक्तिले दिनुभएको आशीर्वचन र शुभकामनाले उहाँको सृजनालाई ठूलो महत्व दिएको छ। स्रष्टाको ...के जिन्दगी ? पुस्तकले नयाँ आयाम थपेको छ। आफ्नै मौलिकतामा प्रकाशित यो पुस्तक अनौठो पनि छ। तर भाव र मर्म स्पष्ट छ। ...के जिन्दगी भनेर कितावको नामाकरण गरिएको बिषयले शाव्दिक अर्थ के होला भन्ने पाठकहरूलाई अवश्य पनि पढ्ने कौतुहलता जगाउँछ। जिन्दगी दुःख हो ! जिन्दगी निराशा छ ! जिन्दगी समस्यै समस्याको भूमरी हो ! ... के हो जीवन ? जीवनको अर्थ कुन किसिमले बुझ्ने साच्चै जटिल छ। विभिन्न व्यक्तिहरूले जिन्दगीलाई अथ्र्याइएको पाइन्छ। तर यो नै सत्य हो भनेर कसैले पनि स्वीकार्न सकिरहेको छैन। त्यसैले लेखकले पनि आफ्नो पुस्तकको शीर्षक के... जिन्दगी ? भनेर राख्नुभएको हो कि ? भने जस्तो लाग्छ। तर यस बिषयमा भविष्यमा उहाँले प्रष्ट पार्नु नै होला। समग्रमा यो किताव पढी सक्दा जिन्दगी सुखी छ भनेर अनुभूत गर्न सकिँदैन किनकि जिन्दगी जीवनको बिभिन्न उकाली ओरालीको यात्रा हो भन्ने यसका बिषयहरूले प्रष्टयाउँछ।
सम्पादक गोपीकृष्ण ढुंगानाले ‘जिन्दगीले कोरेको खुसीको गोरेटो’मा कवि हर्ष थापाबारे भूमिकामा लेख्नुभएको छ, ‘जिन्दगी लेखक÷साहित्यकारहरूले किताबहरूमा लेखेजस्तो न सुखी छ न दुःखी नै। साहित्यमा स्वैरकल्पना मिसियो भने वास्तविकताभन्दा परको जिन्दगी भेटिन्छ तर हर्ष थापाको यो साहित्य जीवन र जगत्सँग जोडिएको छ। उनको साहित्य व्यावहारिक छ। उनले न कसैलाई रिझाउन लेखे न कसैलाई चिड्याउन।’ धार्मिक मानीसमा करुणा, दया, क्षमा, सहनशीलताका गुणहरू विद्यमान हुन्छन्। हर्षजीमा उल्लेखिन गुणहरू मैले नजीकको संगतबाट महशुस गरेको छु। आगामी दिनमा उहाँको अविराम यात्रा सृजनामा लागि रहोस् र सफलताको शुभकामना।
फेरि थप लेख्नै पर्यो... अपूर्ण भयो पुरा गर्छु...
हर्षजीको सृजना पढ्दै जाँदा फेरि केही थप्न मन लाग्यो। अब बुँदागत रूपमा लेख्छु अनि पूर्णता दिन्छु –
१) हर्ष थापा राष्ट्रवादी व्यक्तित्व हो।उहाँको यस पुस्तकमा राष्ट्रियता र देशप्रेम मन मुटु छुने गरी झल्किएको छ। शहिद, नजाउ परदेश, आमा, राष्ट्रिय गान, मेरो देश नेपाल, टोपी दिवस जस्ता शीर्षकमा प्रस्तुत भावना हुनु नेपाल राष्ट्र प्रति ओतप्रोत भएर उहाँले प्रस्तुत गर्नुभएको भन्ने बुझिन्छ।
२) भगवान् र अध्यात्म प्रति उहाँको अटल विश्वास छ। परोपकार नै धर्म हो भनेर लेखकले दुर्घटनामा परेको अपरिचितलाई उद्धार गर्नुभएको कार्य मानवीय मूल्यको नमूना हो। वृद्धवृद्धाको सेवामा उहाँको सक्रियता उदाहरणको रूपमा सबैले ग्रहण गर्ने किसिमको प्रेरणादायी छ। भगवान्को भजनकीर्तनमा उहाँ समर्पित हुनुहुन्छ।
३) ‘अबोध पशुलाई वली दिएर आफ्नो इच्छा पुरा नगर’। ‘मानवधर्मले हिंसालाई स्वीकार्दैन’ उहाँ कडा र शालीन रूपमा,आफ्नो लेखनीमा प्रस्तुत हुनुभएको छ। “अहिंसा परमोधर्म” भन्ने मूल मन्त्रलाई उहाँले विस्तार गर्न संकल्पित हुनुहुन्छ।
४) निजानन्द सम्प्रदाय र कृष्ण प्रणामी धर्मको अनुयायी भएता पनि “सर्वधर्म” प्रति उहाँको आस्था र विश्वासको समभाव छ भन्ने बारे उहाँको व्यक्त सुजनाले बताउँछ।
५) आफ्नो परिवार प्रतिको सफलतामा उहाँ गर्व गर्नुहुन्छ। सुखद् परिवार नै जीवनको सफलता हो। आखिर हामी घर व्यबहार रूपी संसारमा नौका सयर गरिराखेका त हौ नी। जसको घरपरिवारमा हार्दिकता हुन्छ अबस्य पनि त्यो घर स्वर्ग हुन्छ। मानिसको जीवन सरल रेखामा त हिडदैन नि जसरी हर्षजीको जीवन भोगाईबाट स्पष्ट हुन्छ।
६) लेखकले मानिसहरूलाई सात्विक जीवन जीउन, शाकाहार खानपिन गर्न, कर्तव्य परायण हुन, पशुपन्छी लगायत प्राणीको महत्व बुझ्न र संरक्षण गर्न मर्मस्पर्शी अभिव्यक्ति सृजनामा पस्किनु भएको छ। जीवमा आत्मा हुने भएकाले परमात्माको अंश नै आत्मा हो भन्नुहुन्छ।
७) लेखकले देशको राजनीति वेथिति प्रति पनि चुप लागेर बस्न सक्नुभएको छैन। माओवादी पार्टी र त्यसपछिका अध्यक्ष प्रति नम्र भाषामा कठोर व्यंग्य गर्नुभएको छ। परिणामले के देखायो जगजाहेर छ। हामी सबैले समीक्षा गरौं। “म सर्वहारा मान्छे” कविता मार्मिक छ। “अब्बल शेर बहादुर” शुन्य भ्रष्टाचार”, भोट के मा, पीडा जनताको, बदलिएको परिदृश्य लगायत लगायतका शीर्षकहरूबाट नेताहरूको चरित्र, जनताको पीडा, देशको अवस्थालाई मार्मिक रूपमा प्रस्तुत गर्नुभएको छ। व्यंग्यात्मक शैलीमा प्रस्तुत भावनाले राजनीति क्षेत्रमा उहाँको प्रचुर चासो समेत रहेको स्पष्ट बुझ्न सकिन्छ।
८) प्रचण्ड, शेर बहादुर र केपी ओलीको लेखकले व्यंग्यात्मक शैलीमा खुलेर आलोचना गर्नुभएको छ। तर यो व्यंग्य होइन जनताको भावना व्यक्त गरेको भनेर आफू सेफ साइड लागे जस्तो देखिन्छ। उहाँ समग्र देश र जनताको चिन्ता कलमका माध्यमबाट ओकल्न सफल हुनुभएको सहजै बुझ्न सकिन्छ।
९) माया र प्रेमका विषयहरूलाई पनि यस पुस्तकमा स्थान दिएर युवा युवतीको प्रेमल भावनाहरू व्यक्त भई पाठकलाई मनोरञ्जन दिन कोशीस यस पुस्तकमा देखिन्छ।
१०) मातृ र पितृ भक्तिमा हर्षजीको लेखनीमा समर्पणको भाव भेटिन्छ। साथै ‘महिलालाई कमजोर नठान’, ‘विभेद नगर’, ‘अवसर देउ’ भन्ने लैंगिक समानता प्रति उहाँको आवाज बुलन्द छ।
११) छोराछोरीलाई विदेश पठाउँदा बाबु आमाले महसुस गर्ने पीडालाई लेखकले स्वयम् प्रतिनिधि पात्र भएर आफ्नो छोरो विदेश (अष्ट्रेलिया) पठाउँदा र अष्ट्रेलियाको बसाईमा आपूले अनुभव गरेका विषय र पीडालाई ज्वलन्त रूपमा प्रस्तुत गर्नुभएको छ। विदेश जाने अधिकांस छोराछोरीका अभिभावकलाई उहाँको सृजना पढेपछि अवश्य मन छुन्छ। जुन विषयको भुक्तभोगी र अनुभवी म आफैँ पनि हुँ। अति मार्मिक छ यो विषय। हाम्रो परम्परा चाडवाड रीतिरीवाज पर्व, दशैं तिहार आदि मा छोराछोरीको अनुपस्थितिले रिक्तता हुन्छ। आखिरमा हामी मायामा त जिईरहेका छौं, जीवन्त प्रस्तुति छ हर्षजीको। अधिकांस नेपालीका छोराछोरी कि त खेतबारी बन्धकी राखेर बिदेश जान्छन् कतिपयले ऋण चुक्ता गर्न सक्दैनन्। बिदेश जाने छोराछोरीका अभिभावकलाई गर्व नगर्न खुलेर भन्नुहुन्छ-‘शान र रवैया नदेखाऊ’ साश्वत अभिव्यक्ति छ। नेपाल सरकारलाई धिक्कार्नु हुन्छ युवाको अवस्था देखेर।
१२) अष्टेलियाको विकास, मेहनत र घुमफिरबाट पाएको प्रेरणा अविस्मरणीय रूपमा प्रस्तुति भएको छ। राजधानी केनवेरा शहरको बर्णनमा काठमाण्डुलाई दाँज्नुभएको छ हर्षजीले। पहिलो र दोश्रो युद्धको सजीव चित्रको संरक्षण, सम्बद्र्धन, म्युजियमको अवलोकन, भ्यु टावर र सांसद भवन (दुबै सदन) को यथार्थ चित्रण प्रस्तुतिले रोमाञ्चित बनाउँछ।
१३) अरूलाई दोष नलगाउ “सबै दोष मेरो” “स्वार्थी मानिस”, “घमण्ड नगर”, “मेरो जस्तो गल्ती नगर”, “मान्छे किन बाँच्न चाहन्छ” शीर्षकका अभिव्यक्तिहरूबाट स्वयम् आपूm अनुशासित, कर्मशील, परोपकारी र अरूलाई पनि ईमान्दार बन भन्ने शन्देश हर्षजीले दिनुभएको छ। प्राणी मध्येको सर्वोत्कृष्ठ प्राणी मानव भएकाले मानवीय व्यबहार स्वयम्बाट प्रस्फुटित हुनुपर्छ। अरूलाई उपदेश दिएर मात्र आपू सर्वज्ञानी हुन सकिदैन भनेर व्यवहारलाई मूर्तरूप दिन लेखकले आफ्ना सृजनामा पाठकलाई उत्प्रेरणा प्रदान गर्नुभएको छ।
१४) ... के जिन्दगी ? भन्ने उहाँको यस पद्य संग्रहमा जिन्दगीका सम्बन्धमा यसरी भाव पोख्नुहुन्छ –
“खाली उतार चढावको मात्र हो जिन्दगी।
दुःखैदुःखले बेरिएको साङ्ली हो जिन्दगी।।”
जिन्दगीका भोगाईलाई बाल, यूवा, र बृद्ध अवस्थाको अलग–अलग किसिमबाट व्याख्या भएको छ।अति नै सान्दर्भिक प्रस्तुति छ। जीवनका भोगाईहरूको जिन्दगीको प्रस्तुति। उत्तरार्ध (पेज नं.१६१) उप शीर्षकमा जिन्दगीको बारेमा गहिराई भित्र डुबेर स्पष्ट पार्न कोशीस गर्नुभयो हर्षजीले।
१५) यस पछिका शीर्षकहरू “मान्छे किन बाँच्न चाहन्छ ?”र अरू पनि सबै समसामयिक छन्। आफ्ना उद्वेलित भावनाहरूलाई जस्ताको तस्तै प्रस्तुत गर्नुभएको छ।
१६) श्रीकृष्ण प्रणामी धर्मका अनुयायी श्री हर्षबहादुर थापा इमाडोल ललितपुरको स्थायी बासिन्दा हुनुहुन्छ। कृष्ण प्रणामी मूल मन्दिरको प्राङ्गणमा उहाँको निवास जोडिएको छ। कृष्ण प्रणामी मूल मन्दिर इमाडोलको नव निर्माणमा उहाँको अथक मेहनत र परिश्रम परेको कितावको प्रस्तुतिबाट नै जो कोहीले बुझ्न सक्दछन्। मन्दिर निर्माणमा सहयोग गर्ने ठूला दाताहरूको उहाँले उच्च प्रशंसा गर्नुभएको छ। मन्दिर निर्माणमा सहयोग पु¥याउने प्रत्यक्ष अप्रत्यक्ष धेरै हातहरू होलान्। पर्दा पछाडिबाट सहयोग गर्ने भुईँ मान्छेहरूको पनि योगदान थोरै चर्चा गरिदिनु भएको भए सुनमा सुगन्ध थप्थ्यो यस कृतिले भन्ने मेरो बुझाई मात्र हो। सायद उहाँले बिर्सेको पनि हुन सक्छ।
१७) मूल मन्दिर इमाडोलमा २०६१ सालमा श्री मत्तारतम सागरको १०८ पारायण र गजुर अनावरण कार्यक्रममा राजा ज्ञानेन्द्रको सहभागिता बारे हर्षजीले रोचक प्रस्तुति गर्नुभएको छ। मन्दिर आयोजक समितिलाई नै विस्थापित गरी मञ्च कार्यक्रम कसरी सम्पन्न भयो भन्नेमा उहाँ आफै अनभिज्ञ र आश्चर्यचकितमा पर्नुभएको पाईन्छ। किताव पढ्दा पढ्दै “आफन्त मित्र सब पहिचान गरेँ” भन्ने कवितामा अन्तर्हृदयका भावना पोखिएका छन्। यस बारेमा धेरै सुन्दरसाथहरूले उहाँप्रति गरेको नकारात्मक टिप्पणी बारे हर्षजीले अति नै चित्त दुखाउनुभएको छ। राम्रो गर्दागर्दै पनि अपजस पाएकोमा आफ्नो सृजना मार्फत बास्तविकता दर्शाउँदै आफ्नो मनलाई हलुका बनाउन खोज्नुभएको छ। आफ्नो आत्माको विशुद्ध आवाज हो हर्षजीको।
अन्तमा...के जिन्दगी ? नामक कृतिबाट हर्षजीले आफ्नो जीवनका भोगाईहरूलाई लिपिबद्ध रूपमा सार्वजनिक गर्नुभएको छ। धेरै नेपालीहरूको जीवनसँग उहाँको जीवनका भोगाईहरू मिल्न सक्छन्। पाठकको मनलाई अबस्य पनि यस सृजनाले छुनेछ। ठ्याक्कै एउटै घटना परिघटनाहरू नभएताा पनि यो पुस्तक पढ्नेलाई एकपटक फर्केर आफ्नो जीवनको अतितको यात्राको स्मरण गराउनेछ। समग्रमा यो पुस्तक कविता, गीत र भजनको त्रिवेणी हो। अधिकांस बिषयहरू सत्य घटनामा आधारित छन् तर पढ्दै जाँदा कहीँकहिँ तिलस्मी जस्तो पनि लाग्दछ। यो लेखकको खुवी र मौलिकता पनि हो।
किताबको बनावट, कभर र कलेवर ज्यादै राम्रो लाग्यो। गुणस्तरिय कागजको प्रयोग भएको छ। किताब छुँदा नरम, हलुका र स्तरिय छ। प्रशंसनीय कार्य गर्नुभएको छ कृति प्रकाशन गरेर हर्षजीले। आदिदेखि अन्त्यसम्म पुस्तक अध्ययन गर्दा थकानको महशुस हुदैन। यसरी...के जिन्दगी पुस्तक पढेर मेरा मन मष्तिष्कले जे भेट्टायो जस्ताको त्यस्तै समीक्षात्मक टिप्पणी गरेको छु। शब्द संयोजन गर्दा तल माथि परेको भए क्षमा चाहन्छु। अस्तु...