शव बुझ्ने मान्छे पनि नभएकाको ‘हत्यारा’ १६ वर्षपछि यसरी समातिए
पोखरा : न कोही आफन्त न चिनजानकै मान्छे। घर ठेगाना पनि राम्ररी नखुलेको। २० वर्षका रोजन राई मारिए। न्याय खोज्न त परै शव बुझ्न पनि कोही आएनन्। टाउकोमा दाउराको चिर्पटको चोट लागेको ३ दिनपछि उनको मृत्यु भएको थियो। रोजनको शव बुझ्ने पनि कोही नभएपछि कानुनी प्रक्रिया पूरा गरेर दाहसंस्कार भयो।
रोजन खुदीखोलाको तटबन्ध बाँध्ने ग्याबिनमा ढुंगा भर्ने काम गर्थे। एक दिन स्थानीय अशोक गुरुङसँग रोजनको झगडा पर्यो। झगडामा रोजन घाइते भए, अस्पताल भर्ना गरिए र ३ दिनपछि मृत्यु भयो। अशोक भने भागे। ३\४ महिना काठमाडौंमा होटल फेरीफेरी बसे। अनि दिल्लीको बाटो हुँदै कुवेत गए। ३ वर्ष त्यहाँ बसेर एकपटक नेपाल आए अनि बहराइन पुगे।
रोजनलाई खोज्दै कोही आएन। १६ वर्ष यसै बित्यो। गएको २१ असारमा कास्की प्रहरी प्रमुख भएर आएका एसपी रमेश थापा भदौमा कार्यालयमा गरेको एउटा मिटिङमा अफिसर र जवानहरुलाई निर्देशन दिँदै थिए। उनले भने, ‘पुराना र पेन्डिङ केसहरु खोतलेर हेरौं।’अनि भेटियो रोजनको फाइल। रेकर्ड अनुसार रोजन र अशोकको झगडा भएको २९ वैशाख २०६३ मा हो। उपचारकै क्रममा जेठ २ गते उनको मृत्यु भएको थियो।
असोज ६ गते कास्की जिल्ला अदालतबाट अशोकलाई पक्राउन अनुमति पूर्जी कास्की प्रहरीले प्राप्त गर्यो। गण्डकी प्रदेश प्रहरीको सहयोगमा नेपाल प्रहरीको इन्टरपोल शाखालाई अशोक गुरुङ पक्रन इन्टरपोलको सहायता लिनुपर्ने भन्दै पत्राचार गर्यो।
असोज १२ गते शाखाले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई पत्र पठायो। मंसिर २८ मा इन्टरपोल सचिवालयले नोटिस निकाल्यो। पुस १ गते अशोकलाई बहराइन प्रहरीको अनुसन्धान ब्युरोले पक्राउ गरिहाल्यो। तिनै अशोकलाई मंगलबार कास्की प्रहरी ल्याइएको छ। बुधबार प्रहरीले उक्त घटना विवरण र अशोकलाई सार्वजनिक गरेको हो।
मारिनेको आफन्त नभएको भनेर हत्यामा संलग्नलाई प्रहरी नखोज्ने गर्दैन भन्ने सन्देश कास्की प्रहरीले दिएको छ। ‘जसको कोही छैन, त्यसको राज्य छ,’ एसपी थापाले भने, ‘पुरानो घटना भन्ने पनि हुन्न, जति पुरानो भए पनि कोही उम्कन पाउँदैन।’ नेपाल ल्याउन दुई देशबीच पारस्परिक सहयोग आदानप्रदान गर्ने समझादारी गरी बहराइनबाट अशोकलाई ल्याउन सकिएको जानकारी उनले दिए। सुपर्दगी सन्धि नभएको हुँदा कूटनीतिक पहलबाट उनलाई ल्याइएको उनले बताए।
मारिएका युवाका आफन्तले न खोजीनीति गरे, न अरु कसैले, तर, कास्की प्रहरीले पेन्डिङ फाइल उधिनेर निकाल्यो, आरोपित पनि पक्राउ गर्यो।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार त्यस्तै घटनामा फरार भएर नेपाल आएको बहराइनको नागरिक नेपालले पनि त्यसै गरी बुझाउने समझदारीपछि अशोकलाई बहराइनले नेपाल पठाएको हो। यसरी पारस्परिक सहयोग आदानप्रदान गर्ने समझदारीमा पहिलोपटक ओरोपित ल्याउन सफल भइएको उनले सुनाए। यसबीचमा प्रहरीले अशोक उक्त घटनामा संलग्न रहेको भनेर जुटाएका प्रमाण, कागाजातहरुको अनुवाद गरी बहराइन पठाएको थियो। तिनको आधारमा अशोकलाई नेपाल पठाउन त्यहाँको प्रहरीको अनुसन्धान ब्युरो सहमत भएको हो।
एसपी थापाका अनुसार अशोकलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट बुधबार ७ दिनको अनुमति पाइसकेको छ। उनले प्रहरीले जुटाएका प्रमाणहरुको प्रतिवेदनकै आधारमा अशोकविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुर गरेको मुद्दा चल्छ।
तर प्रहरी अझै पनि रोजनका आफन्त भने खोज्ने क्रममै छ। त्यही भएर उसले बुधबारै पोखरास्थित किराँत समाजका अगुवाहरुलाई रोजनका आफन्त खोजीका लागि सहयोग निम्ति पनि भनेको छ। घटना भएको पोखरा ३२ सातमुहानेका स्थानीयसँग रोजले आफ्नो घर सुनसरीको धरान भएको बताएको सूचना कास्की प्रहरीले फेला पारेको छ। त्यही आधारमा त्यो जिल्लामा आफन्त खोजीको पहल भइरहेको छ।
‘आफन्तलाई पनि न्यायको अनुभूति होस् भन्ने चाहना हो,’एसपी थापाले भने। आफन्तको जाहेरीसमेत हुँदा अझै राम्रो हुने पनि उनी बताउँछन्।