मिथिलाञ्चलको गौरव मध्यमा परिक्रमा

मिथिलाञ्चलको गौरव मध्यमा परिक्रमा

सप्तमृतिकाको संगमस्थल मटिहानी गुल्जारमय बनेको छ। स्वागतद्वारले झकिझकाउ छ। मिथिलाको  पावनभूमि ‘मृतखानी’ लाखौं भक्तजनले भरिभराउ छ। जहाँ मिथिला माध्यमिक परिक्रमाको उल्लास छ। भक्तिभावको रंगले सबैको मन पोतिएको छ। तपोभूमिका मनहरू सेवा र सत्कारमा समर्पित छन्। त्रेताकालमा माता सीताको विवाह हुँदा मटोकर विधि मटिहानी भएकोे थियो। जहाँ राम–सीताको डोलासहित भक्तसागरको घुइँचो छ। भगवान् रामसीताको जयजयकारको भक्तिसंगीतले मटिहानी उत्सवमय बनेको हो। रामानन्दी सन्त तस्मैया बाबा र सुफी सन्त पीरबाबाको तपोभूमिको रूपमा मटिहानी प्रख्यात छ। जहाँ ऋषिमुनि कठोर तपस्या सिद्धि प्राप्त गरेको इतिहास छ।

माध्यमिक परिक्रममा स्वरूप अनौठो खालको छ। बिनानिम्तो लाखौं भक्तजन मटिहानीसहितको परिक्रमावासी पुगेको स्थानमा पुग्छन्। जहाँ ठुलो मेला लाग्छ। यसमा नेपाल भारतको १३३ किलोमिटरको दूरी नांगो खुट्टाबाटै भ्रमण गरिन्छ। जहाँ १५ देव तथा तीर्थस्थलमा तीर्थालु पुग्छन्। प्रत्येक रात त्यही बास बस्छन्। यसैमध्येको एउटा पावन भूमि हो, मटिहानी। जहाँ मठहरूको पनि महामठ–लक्ष्मीनारायण मठ छ। महन्थहरूका पनि महन्थ यहाँका ‘मानमहन्त’ छन्। मानमहन्त पनि भक्तजनको सेवा खट्छन्। मटिहानीको साढे ५ सय वर्ष पुरानो पौराणिक, धार्मिक तथा सांस्कृतिक इतिहास छ। देश तथा विदेशलाई शिक्षा ज्योति फैलाउने ३०३ वर्ष राजकीय संस्कृत माध्यमिक विद्यालय छ। जहाँ बालागुरु षडानन्दले पढेका थिए। माध्यमिक परिक्रमाले मटिहानीको रामायनकालीन गौरवगाथालाई झल्काउँछ। मटिहानीवासीले परिक्रमालाई आफ्नो ‘पगरी’ को रूपमा लिन्छन्।

संस्कृति र संस्कार जीवनका अभिन्न अंग हो, हाम्रो जीवन भोगाइको कला पनि।

मिथिला माध्यमिक परिक्रमा १८औं शताब्दीबाट चल्दै आएको साधुसन्त बताउँछन्। फागुन शुक्ल प्रथमा (परेवा) तिथिबाट परिक्रमाको सुरुआत हुन्छ। जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै यसको सम्पन्न हुन्छ। त्यसको भोलिपल्ट मिथिलामा होली मनाइन्छ। महोत्तरी, धनुषाको १२ र भारतको मधुवनीका तीन स्थान गरी १५ स्थानमा परिक्रमावासी धार्मिक यात्रा गरिन्छ। चौथो दिनमा परिक्रमावासी मटिहानीमा रात्री विश्राम गर्छन्।  जहाँ साधुसन्त, महन्थहरू बास बसेको स्थानमा ठूलो धार्मिक मेला लाग्छ। भगवान् राम र सीताको दर्शन गर्न गाउँगाउँबाट मानव सागर नै उर्लिन्छ। हाम्रो समाज राजनीतिक कित्ताले विभक्त छ। तर, परिक्रमावासीले सामाजिक सम्बन्धको गाँठोलाई बलियो बनाउँछ। आफ्नो प्रभावले सबैलाई परिक्रमावासीले स्वःस्फुर्त विश्राम ल्याउँछ। जसले समाज एकताको भावलाई ‘रिचार्ज’ गर्छ। त्यसैले यो परिक्रमा मटिहानीसहित 
मिथिलाञ्चलका लागि पहिचान हो। सँगै अद्भुत सांस्कृतिक ‘वैभव’ पनि।

संस्कृति र संस्कार जीवनका अभिन्न अंग हो, हाम्रो जीवन भोगाइको कला पनि। माध्यमिक परिक्रमा संस्कृतिलाई एक पुस्ताले अर्को पुस्तालाई ‘नासो’को रूपमा हस्तान्तरण गर्दै आएको छ। १८औं शताब्दीमा सुरु भएको परिक्रमा अझै जीवितै छ। मटिहानी नगरपालिकाले परिक्रमावासी चौथो दिन महिटानी आउने भएपछि स्वागतमा सार्वजनिक बिदा दिने चलन चलाएको छ। गत मंसिर ६ मा मटिहानीमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण भयो। उनले ऊर्जाशील भूमि मटिहानीको विशेष चर्चा गरिन्। ‘देशभर मटिहानीको गुरुकुलले शिक्षाको ज्योति फैलाउने काम गर्‍यो। यो प्राचीन गुरुकुलले तराई, पहाड र हिमालको भूगोल सम्बन्धलाई सामाजिक सद्भाव तथा भावनात्मक रूपमा जोड्नेसमेत काम गरिहेको छ’, राष्ट्रपति भण्डारीले भनेकी थिइन्, ‘यो गुरुकुलले बालगुरु षडानन्दजस्ता विद्वान, विदुषी जन्मायो। त्यसैले मटिहानी भूमि प्राचीन ज्ञानभूमि, तपोभूमि हो।’ १७७३ सालमा स्थापित भएको देशकै जेठो गुरुकुल हो। अर्थात् १८२५ सालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पनि ५० वर्ष पहिले मटिहानीमा गुरुकुल खोलिएको थियो। जनकनन्दी सीताको पावनभूमि मटिहानी सबैका लागि प्रेरणाको स्रोत रहेको भण्डारीले भनेकी थिइन्। जहाँ प्रत्येक वर्ष एक दिन माध्यमिक परिक्रमाको रौनक छ।

माध्यमिक परिक्रमा नेपालकै ठूलो धार्मिक यात्रा हो। १५ दिनसम्म चल्ने यस्तो परिक्रमा अनौठौ र एक मात्र परिक्रमा हो। जहाँ नेपालसँगै छिमेकी देश भारत गरी दुई देशमा परिक्रमा गरिन्छ।

पहेंलो वस्त्र धारण गरेका दुई साधु घरीघण्टा बजाउँदै एकाबिहानै मिथिला बिहारी (राम) र किशोरीजी (सीता)को डोलासहित दगुर्दै मटिहानी आउँछन्। त्यो आवाजले बच्चादेखि वृद्धवृद्धासम्मको मनमा ऊर्जा भर्छ। डोला पछाडि आँखाले देखेसम्म हजारौं तिर्थालु भक्तजनको लावालस्कर हुन्छ। ढोलक, झायल, कर्ताल, हारमुनियमको तालमा भक्तजन कीर्तन मण्डली गर्छन्, नाच्छन्। जय सियाराम, जय सियाराम... भन्दै भगवान्को महिमा गान गाउँछन्। यो संगीतम वातावरणले जो कोहीको लागि मन्त्रमुग्ध बनाउँछ। मानिस वर्षभरिका दुःख बिर्सिन्छन्।

मानव नै भगवान् हो। दुःख परेकालाई सहयोग गर्दा, भोकालाई भोजन गराउँदा, पुण्य प्राप्ति हुन्छ भन्ने मानवतावादी भावना परिक्रमाले जगाउँछन्। यसले राजनीतिक कित्तामा विभाजित समाजलाई पनि जोडेको छ। किनकि वर्षभरि भएका सबै क्रोध, झैं–झगडालाई बिर्सिंदै धार्मिक मेलामा रमाएको देख्न सकिन्छ। विशेष गरेर प्रौढप्रौढाहरू परिक्रमामा सहभागी हुन्छ। छोराबुहारीले घर व्यवहार सम्हाल्न थालेपछि जीवनमा कम्तीमा पनि एकपटक माध्यमिक परिक्रमा गर्न सबै चाहन्छन्। रमाइलो पक्ष, साधुहरू भने आफूसँग गाई, घोडा, बाँदरसहित परिक्रमा हुन्छन्। परिक्रमामा विशुद्ध पारिवारिक माहोल हुन्छ। धार्मिक यात्राबाट शान्ति र आनन्द मिलेको भाव स्पष्ट देखिन्छ। न दुःख न शोक। न चिन्ता न त बिध्न बाधा नै हुन्छ परिक्रमा यात्रामा। केवल आनन्द नै आनन्द मिल्छ।

परिक्रमा हाम्रो संस्कृति हो। मिथिलाको सुसंस्कृत सभ्यता हो। यो एउटा मिथिलाको सांस्कृतिक पर्व हो, जसले आन्तरिक पर्यटनलाई बढावा दिन्छन्। नेपाल–भारतबीचको भावनात्मक सम्बन्धलाई ‘रिचार्ज’ गर्छ। रोटी–बेटीको सम्बन्धलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्छ। ‘जहाँ कृपा रामके होई, उहाँ कृपा सबकोई के।’ अर्थात् जहाँ भगवान् रामको कृपा हुन्छ त्यहाँ सबैको कृपा हुने लक्ष्मीनारायण मठ मटिहानीका महन्थ जगरनाथ दास वैष्णवको भनाइ छ। थप्छन्, ‘परिक्रमा हाम्रो संस्कृति, हाम्रो सभ्यता हो। जहाँजहाँ राम र सीताको चरण परेको छ। ती ठाउँहरू भ्रमण गर्दा मनोकामना पूरा हुने जनविश्वास छ।’

हिमाल नपग्लिए मधेस सिञ्चित हुन्न। पहाड नउम्रे मधेसले पानी पाउन्न। मधेस डढे पहाड मर्छ। पहाड वर्षिए मधेस डुब्छ। हिमाल पग्ले पहाड खस्छ र मधेस पुरिन्छ। यस्तै सन्देश फैलाउँदै मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने मिथिला मध्यमा परिक्रमा ठूलो संख्यामा पहाडी समुदाय सहभागी हुन्थ्यो। तर, २०६३/६४ सालको मधेस आन्दोलनले जनकपुर, जलेश्वरबाट पहाडी समुदाय बसाई सर्न थाले। यसको नकारात्मक प्रभाव परिक्रमा परेको देखिन्छ। उहिले जस्तो अहिले पहाडी समुदायको बाक्लो सहभागिता मिथिला परिक्रमामा देखिँदैन। उनीहरूको सहभागिताले धार्मिक, भाषिक, सांस्कृतिक, सामाजिक अन्तरघुलन बढाउँछ। खासमा, विगतजस्तै तराई–मधेस र पहाड गरी दुई क्षेत्रका नेपालीलाई एक ठाउँमा ल्याउने सेतु बनिरहोस् माध्यमिक परिक्रमा। यो भक्तजनको चाहना हो। प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा राज जनकले चार वटा शिवालय क्रमशः कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर स्थापना गरेका थिए। जसलाई आधार मानी परिक्रमा गरिन्छ। चारवटै शिवालय राजाजनकको इष्ट देव हुन्। वर्षमा एक पटक विशाल रूपमा तीर्थालुहरू मोक्ष प्राप्तिका लागि मिथिलाको माध्यमिक परिक्रमा गर्छन्। मिथिलाको आफ्नै महत्त्व छ। संसारमा कुनै न कुनै पाप जानेर वा नजारे मानिसबाट भइरहेको हुन्छ। तीर्थ गरेपछि त्यसबाट मुक्ति पाइन्छ। तीर्थहरूमा गएर गरिएको पापहरू मिथिलाधामको परिक्रमा गरेपछि मात्रै कट्छ भन्ने धार्मिक विश्वास छ। अति प्राचीन ग्रन्थ विष्णुपुराण अन्तर्गतको मिथिला माहात्मको अध्याय–१२ को ३३ श्लोकमा मिथिला परिक्रमाको बारेमा विस्तृत वर्णन गरिएको छ। मिथिला भूमि पावन, पवित्र छ। सीता पनि मिथिला भूमिमै उत्पन्न भइन्।

राजा जनक शिवभक्त थिए। उनले जनकपुरको पूर्व र दक्षिण कुनामा स्थापना गरेको कलान्याश्वर महादेव स्थानबाट दुई साता चल्ने माध्यमिक परिक्रमा प्रारम्भ हुन्छ। यो परिक्रमालाई विस्तार गर्ने काम जानकी मन्दिरका महन्थ सुरकिशोर दासले व्यवस्थित रूपमा अगाडि बढाउने काम गरेका थिए। भारत वर्षमा यसरी तीर्थहरूको परिक्रमा गर्ने चलन छ। माध्यमिक परिक्रमा नेपालकै ठूलो धार्मिक यात्रा हो। माता, पिता, तीर्थ, गौं, यिनीहरूको परिदक्षिणा गर्नुपर्छ भन्ने भाव परिक्रमाले झल्काउँछ। त्यसैले पनि टाढाटाढा गएका मान्छेहरू वर्षमा एक पटक भए पनि परिक्रमा गरेर स्मरण गर्छन्। मिथिला क्षेत्रमा आराध्यदेव नै राम र सीता हुन्।
१५ दिनसम्म चल्ने यस्तो परिक्रमा कहीँ छैन, जहाँ नेपालसँगै छिमेकी देश भारत गरी दुई देशमा परिक्रमा गरिन्छ। यो एउटा अनौठौ परिक्रमा हो। कोसी, गण्डक, गंगा, हिमालय मिथिला क्षेत्रभित्र पर्छ। यो बृहत् परिक्रमाभित्र पर्छ। राजा जनकको राजधानी जनकपुरलाई परिक्रमा गर्नु भनेको माध्यमिक परिक्रमा हो। दुई ठाउँमा मात्रै भगवान् नाचेका छन्– वृन्दावनमा कृष्ण र अध्योधामा राम। मिथिलामा मिथिलानीले मात्रै भगवान्लाई नचाउँछन्। परिक्रमा शास्त्रपुराणमा सीमित भइसकेको थियो। करिब पौने दुई सय वर्षपहिले सियालाल प्रभंश नाम गरेको सन्तले १०–१२ जना साधु मिलेर परिक्रमाको सुरु गरे। त्यसपछि मिथिला बिहारी (राम)को डोला सुरु भयो। त्यसपछि किशोरीजीको पनि डोला सुरु भयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.