भारतले महाकालीमा एकतर्फी स्काभेटर चलाएपछि ढुंगा हानाहान
दार्चुला : दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नदीमा भारतीय पक्षले पक्की तटबन्ध निर्माणको कार्यलाई अगाडि बढाइ रहेको छ। नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतीय पक्षले एकतर्फी तरिकाले महाकालीमा पक्की तटबन्ध निर्माणको कार्य गरिरहेको हो।
एकपक्षीय ढंगले महाकाली नदी क्षेत्रमा भारतको ज्यादती बढेको भन्दै सिरबगडका स्थानीयले विरोध जनाउन थालेका छन्। भारतीय पक्षले नेपालतर्फ नदीको धार फर्काएपछि स्थानीयबीच विवाद सुरु भएको हो। महाकाली नदीको धार सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित नदीमा स्काभेटर चलाएपछि ढुंगा हानाहान भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनले भने नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले तटबन्ध निर्माण गरिहेको छ।
भारतीय पक्षले पुरानो तटबन्धसँगै महाकाली नदीमा ८ देखि १० मिटर चौडाइ र १० मिटर उचाइको तटबन्ध निर्माण गरिरहेको स्थानीयले बताएका छन्।
अन्तर्राष्ट्रिय सन्धिसम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाइँदैन। तर दार्चुलामा भने नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुने किसिमले आफूखुसी पक्की तटबन्ध निर्माण भन्दै स्थानीय विरोध जनाउँदै आएका छन्।
अहिले उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वमा प्रहरी परिचालन गरेको छ। भारतले पनि एक्स्काभेटर आफ्नोतिर लगेर काम रोकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
सिमा रक्षामा तयनाह प्रहरीलाई भने कुनै पनि जानकारी छैन। सुरक्षा निकयका घुमवाहरुलाइ पनि जानकारी नभएको स्थानीयले बताएका छन्। भारतीय पक्षले कोही नभएको मौका छोपी महाकाली नदिमाथि स्काभेटर चलाइरहेको छ तर दार्चुलामा सुरक्षा निकायका प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र अनुसन्धानका घुमवाहरुलाइ पनि कुनै जानकारी नभएको स्थानीयले जमनसिह मन्यालले बताए। उनले भने हाम्रो सुरक्षा निकायका प्रमुखहरु के हेरेर बसेका छन् थाहै छैन जब भारतले काम सक्छ त्यतिबेला क्यामेरा लिएर फोटो खिच्ने काम मात्रै हुने गरेको छ।