गरिबीले गरायो सामूहिक विष सेवन
काठमाडौं : वरिपरि कालो प्लास्टिकको बार। टिनले छाएको बार्दली। नागार्जुन–६ रामकोटस्थित डाँडापौवामा ‘ठिंग उभिए’ जस्तो दुईतले सेतो रङको पक्की घर। दोस्रो तलामा कात्तिकदेखि ‘फल्याट’ भाडामा लिएर बस्थ्यो, ६२ वर्षीया इन्दिरामाया प्रधानको पाँच जनाको परिवार। छिमेकीसँग खासै कुराकानी नगर्ने यो परिवारमा सोमबार ‘अकल्पनीय’ दुर्घटना आइपर्यो। परिवारका एक सदस्य सोमबार साँझ मृत भेटिए। चार जना अचेत अवस्थामा। पाँचै जनाले सामूहिक रूपमा विष सेवन गरेको मनमोहन अस्पताल स्रोतले जनाएको छ।
यो घटनापछि छिमेकीको निद्रा खलबलिएको छ। शान्त वातावरण भंग भएको स्थानीयवासी बताउँछन्। सामान्य आर्थिक अवस्था भएको इन्दिरामायाको परिवार गत कात्तिकदेखि डाँडापौवामा बस्न आएको थियो।
६२ वर्षीया इन्दिरामाया, उनका छोरा ३८ वर्षका भीममान, बुहारी ३५ वर्षीया मन्दिरा र नातिनी ११ वर्षीया सुप्रिया अचेत छन्। ३३ वर्षीय सुर्वणमान प्रधान मृत भेटिएका थिए। सुवर्णमान भीममानका दाइका छोरा भएको स्थानीयवासी बताउँछन्।
इन्दिरामायाको परिवारले चारवटा कुकुर पालेको थियो। तिनीहरू प्रायः भुकिरहन्थे। सोमबार बिहानदेखि नै नराम्रोसँग भुकेको छिमेकी मानन्धर स्टोर्सका सञ्चालक राजेश मानन्धरले बताए। साँझसम्म पनि कराउन नछाडेपछि गडबडी भयो कि भनेर शंका लागेको राजेशले सुनाए।
उनले अन्नपूर्ण पोस्ट्सित भने, ‘रात पर्दा पनि कोठामा बत्ती बलेन। मान्छेको कुनै चालचुल पनि देखिएन। त्यसपछि मैले घरबेटीलाई फोन गरेँ।’ राजेशको फोनपछि घरबेटीले इन्दिरामायाका आफन्तलाई फोन गरे।
इन्दिरामायाको परिवार डल्लुबाट अंशबन्डा गरी रामकोट बस्दै आएको थियो। शंका लागेपछि राजेशलगायत स्थानीयवासीले घरको कैंची गेटबाट हेरे। त्यो बेला झ्यालनजिक कोही सुतिरहेजस्तो खुट्टा देखिएको राजेशले बताए। त्यसपछि, प्रहरीलाई खबर गरिएको थियो। प्रहरी घरभित्र पुग्दा सुर्वणमानको ज्यान गइसकेको थियो। चार जना अचेत थिए। ‘त्यो सानी बच्ची (११ वर्षीया सुप्रिया)लाई त मैले नै बोकेर तल झारेको हुँ’, राजेशले भने।
उनका अनुसार प्रधान परिवारका कोही पनि सदस्य छिमेकीसँग कुराकानी गर्दैनथे। सधैं तनावमै भएजस्तो देखिन्थे। कोही सदस्य बिरामी छन् भन्ने सुनेको उनले बताए। ‘उनीहरू यो घरमा सरेको पनि धेरै भएको छैन’, उनले भने, ‘बाहिर कसैसँग बोल्दैनथे।’ तीन महिनाको समयमा भीममान दुई पटक मात्रै राजेशको पसलमा आए। इन्दिरामाया भने अण्डा किन्न बेला–बेला पसल आउजाउ गरेको राजेशले बताए।
सोही घरको तल्लो तल्लामा भाडामा बस्ने कालीमाटीकी चन्द्रा कार्की पनि उक्त परिवार प्रायः अरूसँग नबोल्ने गरेको बताइन्। ‘कहिलेकाहीँ मन्दिरा दिदी बोल्नुहुन्थ्यो,’ कार्कीले भनिन्, ‘प्रेसरमै देखिनुहुन्थो। बिरामीजस्तो।’ उनका अनुसार सानी नानी स्कुल जाँदा–आउँदा बोल्ने गर्थिन्। सुर्वणमान भने कौसीमा निस्केर चुरोट पिउने गरेको देखेको कार्कीले बताइन्। ‘मन्दिराले आमा र भीममान दाइ पनि बिरामी हुनुहुन्छ भनेर सुनाउँथिन्,’ उनले भनिन्।
घटनाको अनुसन्धानमा सहभागी प्रहरीका अनुसार आइतबार साँझ नै विष सेवन गरेर ‘आत्महत्या’को प्रयास गरेको देखिन्छ। कोठामा विषादीका प्याकेट, जुसको खाली बोतल र चिनी यत्रतत्र भेटिएको जनाइएको छ।
इन्दिरामायाको परिवार आर्थिक रूपमा समस्यामा पाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले सुनाए। इन्दिरामाया क्यान्सर बिरामी थिइन्। भीममान र सुर्वणमानले मानसिक रोगको औषधि सेवन गरिरहेको प्रेस्किप्सन फेला परेको छ। विष सेवनबाट घाइते चारै जनाको मनमोहन अस्पताल सीतापाइलामा उपचार जारी रहेको मैनालीले बताए। मन्दिराको स्वास्थ्यमा केही सुधार भएको जानकारी अस्पतालले दिएको मैनालीले बताए।
घटनाको प्रकृति हेर्दा मन्दिरा र भीममानको योजनामा अन्यले पनि अन्जानबस विष सेवन गरेको प्रहरी बताउँछ। जुसमा विष घोलेर आमा, छोरी र भतिजालाई खुवाएको प्रहरीको अनुमान छ। मन्दिरा र भिममानले केही दिनअघि नै आत्महत्याको योजना बनाएको अनुसन्धानले देखाएको छ। मन्दिराले फागुन १८ गते र भीममानले फागुन २० गतेको मिति राखेर सुसाइड नोट लेखेको प्रहरीले जनाएको छ। सुसाइड नोट उनीहरूको हो÷होइन परीक्षण गर्न फरेन्सिक ल्याबमा पठाइएको मैनालीले बताए।
त्यसमा सबै हरहिसाब बुझाएर १४ पानाको विवरण लेखिएको छ। आर्थिक लेनदेनका कारण निकै समस्यामा परेको र मानसिक रूपमा बिच्छिप्त बनेको लेखिएको प्रहरीले जनाएको छ। लेनदेनको हिसाब बिग्रिएपछि आफूहरूको संसार नै अध्यारो भएको उनीहरूले लेखेका छन्। कोठामा भएको सामान दाइलाई दिनको लागि नोटमा लेखिएको छ।
मन्दिराले काम गर्ने फाइनान्सबाट परिवारले ऋण लिएको देखिएको प्रहरीको अनुमान छ। आर्थिक हिनामिना देखिएपछि फाइनान्सका प्रतिनिधि र मन्दिराबीच केही दिनअघि जनसेवा प्रहरीमा छलफल भएको थियो। तर, ऋण कति थियो भनेर एकिन भई नसकेको मैनालीले बताए। ‘कोभिडपछि उनीहरूको व्यापार व्यवसाय घाटामा गएको देखिन्छ,’ मैनालीले भने, ‘यसकै कारण मानसिक रूपमा बिछिप्त भएको अवस्था छ।’
मनोविद् करुणा कुँवर सामूहिक आत्महत्या बिछिप्त मानसिक अवस्थाको कारण हुने गरेको बताउँछिन्। ‘जसले जीवनदेखि हार खान्छ, बाँच्ने संभावना देख्दैन, उ डिप्रेसनको जटिल अवस्था फेस गरिरहेको हुन्छ,’ मनोविद् कुँवर भन्छिन्, ‘यस्तो अवस्थामा मानिसले, मर्नु मात्रै सबैभन्दा उत्तम विकल्प ठान्ने गर्छ।’ यो विषयमा घरपरिवारमा छलफल हुनुपर्ने, सहयोग हुनुपर्ने उनी बताउँछिन्।