संरक्षण केन्द्रका गाईको बेहाल
![संरक्षण केन्द्रका गाईको बेहाल](https://annapurnapost.prixacdn.net/media/albums/cow-cover_20220310231446_XdcAgBYUOq.jpg)
तनहुँ : चउरमा हाडखोर छरपस्ट छन्। गिद्धको बथानले मासु लुछिरहेको देखिन्छ। ठाउँ–ठाउँमा मृत चौपाया फालिएका छन्। ती कुहिन थालेपछि दुर्गन्ध फैलिएको छ। यो बेहाल दृश्य शुक्लागण्डकी–९ स्याउलीबजार टोलस्थित मरेताराको हो। स्थानीय सरकारले यहीनजिकै गौ संरक्षण केन्द्र सञ्चालन गरेको छ। तर, खाना र उपचार अभावमा यहाँका चौपाया दैनिक मर्ने गरेका छन्। तिनीहरूको व्यवस्थापन नहुँदा ३०–४० वटा मृत गाई चउरभरि छरिएका छन्।
दूध दिइन्जेल पाल्ने, थाकेका र रोगी भएपछि यहाँ ल्याएर छोडिदिँदा खानपान नमिलेर धेरै मर्ने गरेको हेरालु धनबहादुर पराजुली बताउँछन्। ‘ठूला गाई मरेपछि दुई जनाले घिसार्न सकिँदैन। नगरपालिकालाई फोन गर्यो। जेसीबी पठाइदिइहाल्छम भन्नुहुन्छ, समयमा आउँदैन’, हेरालु पराजुली भन्छन्, ‘जतिसम्म सक्छौं। त्यहीं लगेर फाल्दिने हो।’ उनका अनुसार स्थानीय जातभन्दा पनि जर्सी गाई र बच्चा छिट्टो मर्ने गरेका छन्।
नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थित गर्न २०७५ सालमा करिब ४ सय रोपनी जग्गा बारेर केन्द्र स्थापना गरेको हो। गाईको हेरचाह गर्न कार्यालय सहयोगीले पाउने सुविधासहित दुई हेरालु छन्। उनीहरूले पराल र पानी दिने, गोबर संकलन गर्ने, गाई ल्याउने र लैजानेको तथ्यांक राख्ने गरेका छन्।
यहाँ सुरुमा गाईको संख्या ४ सयसम्म पुग्यो। अहिले १ सय ४० वटा मात्र छन्। तिनीहरूलाई दिनमा ६ भारी पराल दिइने गरेको हेरालुको भनाइ छ। ‘जति पराल आउँछ, त्यति हाल्ने हो। कहिलेकाहीँ परालै सकिन्छ। कति दिनसम्म त भोकै पनि हुन्छन्’, उनी भन्छन्, ‘नुनपानी र चोक्कर मात्र पनि खुवाएर राखेका छौं।’
यहाँका पशुचौपायाले बर्खाबाहेक अरू याममा हरियो घाँस देख्न पाउँदैनन्। केन्द्रको चउर सुक्खा र धुलाम्मे छ। पेट भर्न नपाएका गाईवस्तुले धुलोमाटोमा लटपट्टिएका परालका त्यान्द्रा टिप्दै खाएको दृश्यले स्थानीयवासी ७२ वर्षीय केशवप्रसाद सापकोटाको मन कटक्क खान्छ। शुक्लागण्डकी अद्धैत संस्थामा आबद्ध वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता कटाएर ट्रस्ट, पानीको डोँण र हेरालु बस्ने कोठा बनाइदिएका छन्। पराल सकिँदा पटक–पटक खरिद गरेर उपलब्ध गराएका छन्। संस्थाले संरक्षण केन्द्रमा ९ लाखभन्दा बढी लगानी गरिसकेको सापकोटा सुनाउँछन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्र। तस्बिर : राजकुमार आले
यहाँ संरक्षणका नाममा गौ हत्या भइरहेको गुनासो उनी गर्छन्। ‘दुनियाँलाई सजिलो भाछ। तर, यहाँ गौ माताको पाप भयो। यहाँ संरक्षण होइन, गौ हत्या भएको छ’, संस्थाका सदस्य सापकोटा भन्छन्, ‘न यिनले पेटभरि पराल खान पाउँछन् न त स्याउला खान पाएका छन्। चउरमा केही छैन। खानाबिना मरेका छन्।’
बिरामी पर्दा उपचारसमेत नपाएकाले यसमा नगरपालिकाले ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘हामी बूढाबूढीले कतिञ्जेल सक्छौं त नि ! गौमाताको मायाले भत्ताको पैसै कटाएर भए नि यति गरेका छौं’, उनी भन्छन्, ‘सबैले सहयोग गर्नुपर्यो। नत्र भने भोकभोकै यसरी तारजालीभित्र थुनेर पाप गर्नुहुन्न।’
चर्को जनगुनासोपछि केन्द्र स्थापना गरिए पनि व्यवस्थित हुन नसकेको बताउँछन् शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल। ‘राजमार्गमा पशुचौपाया त केही कमी भएको छ। तर, केन्द्रभित्रको अवस्था व्यवस्थित हुन सकेन’, अध्यक्ष खनाल भन्छन्, ‘गाईले खान नपाएको, मरेको चौपायाको व्यस्थापन नगरेको जस्ता जनगुनासो आएको छ। यसतर्फ नगरपालिकाले ध्यान दिनुपर्छ।’
१२ वटै वडाले स्वामित्व ग्रहण गरेर सबैले वार्षिक रूपमा १/१ लाख छुटाए सहज हुने उनी बताउँछन्। नगरपालिकाले व्यवस्थापन गर्नै नसक्ने हो भने कुनै निजी कम्पनी खोजेर भए पनि व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने उनको भनाइ छ।
नगरपालिकाको १७ लाख, स्थानीयवासीको ३ लाखमा एउटा ट्रष्ट, शुक्लागण्डकी अद्धैत संस्थाको ४ लाख ५३ हजारमा डोँणसहितको ट्रष्ट, दाताहरूको सहयोगमा अर्को गरी तीनवटा ट्रष्ट निर्माण गरिएको छ। बाघको आक्रमण बढेपछि ४ लाख लगानीमा चारवटा सोलार प्यानल जडान गरिएको वडाध्यक्ष लोकनारायण श्रेष्ठको भनाइ छ।
हेरालुहरूको भनाइलाई आधार मान्दा ल्याउनेभन्दा मर्ने संख्या धेरै छ। उनीहरूका अनुसार वार्षिक ५०–६० वटा नयाँ चौपाया थपिँदा मर्नेको संख्या ७०–८० हुने गरेको छ। २०७६ मा चितुवाको आक्रमणबाट २२ वटा मरेका थिए। सोलार जडान गरेपछि भने आक्रमण कम भएको छ। केन्द्र परिसरमा मरेका चौपायाको मासु खाएका गिद्धहरू पनि मरेको पाइएको छ। वडाध्यक्ष श्रेष्ठका अनुसार अहिलेसम्म पाँचवटा गिद्ध मरेको भेटिएको छ।
केन्द्रमा छाडा चौपाया राख्न थालेपछि तिनीहरूकै कारण हुने गरेका सवारी दुर्घटना, यातायात जाम र मलमूत्रले बजार क्षेत्र दुर्गन्धित हुने क्रम घटेको छ। गिद्ध संरक्षणमा टेवा पुगेको छ। पर्याप्त पराल खरिद नगर्दा, औषधि तथा पोषणमा ध्यान नदिँदा अधिकांश चौपाया मर्न थालेपछि र मरेका चौपायाको व्यवस्थापन नगर्दा स्थापनाको वर्ष वावाही कमाएको नगरपालिकाकोे आलोचना सुरु हुन थालेको छ। केन्द्रमा तनहुँ र कास्कीको पशु चौपाया ल्याउने गरिएको छ।
केन्द्र स्थापनादेखि हालसम्मका विवरण हेर्दा चौपायाको संख्या घटिरहेको छ। नगरपालिकाले वार्षिक कति चौपाया आयो, कति बिक्री भयो र कति मरे भनेर यकिन तथ्यांक राख्ने गरेको छैन।
को जिम्मेवार ?
गौ संरक्षण केन्द्र व्यवस्थापन समिति छ। तर, समितिले कुनै जिम्मेवारी नपाएको र नगरपालिकाले बाइपास गरेर काम गरेको बताउँछिन् अध्यक्ष गीता महत। ‘पहिला हामीलाई जिम्मेवारी देथ्यो। अहिले समितिलाई बाइपास गरेर कति पराल चाहिन्छ, हामी नै खरिद गर्छौं भनेर नगरपालिकाले नै जिम्मा लेछ’, अध्यक्ष महत भन्छिन्, ‘यहाँको खरिद र आवश्यकता सबै चिज नगरपालिकाले एकलौटी गरेको छ। समिति त देखावटी रूपमा मात्रै हो। जिम्मेवारी नै नदिएको समितिको के अर्थ हुन्छ ?’
महतका अनुसार प्राविधिक स्टिमेन्टअनुसार वार्षिक २७–२८ लाख खर्च आउने देखिन्छ। नगरपालिकाले भने हेरालुको वार्षिक तलब खर्चसहित र पराल खरिद गर्न वार्षिक १० लाख मात्र छुट्ट्याउने गरेकाले बजेट अभावले आफ्नो योजनाअनुसार कामै गर्न नसकेको महतको भनाइ छ।
‘यहाँ गाईको संरक्षण भएको छैन। हत्या भएको छभन्दा उपयुक्त होला’, उनी भन्छिन्, ‘आवश्यकता पूरा गर्न बारबार बोर्डमा प्रस्ताव पनि लगेको हो। सुनुवाइ नै भएन। आफंै बोर्ड सदस्य भएर काम नहुँदा मलाई त लाज पनि लागेको छ। कि यो काम गर्दै नगरम्, होइन भने पूरा हुने तरिकाले गरम्। यसरी यो बिजोग नदेखाम् भन्ने मेरो भनाइ हो।’
नगरपालिका उपप्रमुख सविता रसाइली केन्द्रको सम्पूर्ण जिम्मेवारी समितिलाई दिइएको बताउँछिन्। समितिको माग र सुझावअनुसार नगरपालिकाले व्यवस्था मिलाउँदै आएको उपप्रमुख रसाइलीको भनाइ छ्। ‘हामीले समिति निर्माण गरेका छौं। त्यहाँको अवस्थाबारे नगरमा जानकारी गराउने र के गर्नुपर्ने हो त्यो नगरले गर्ने भनिएको छ’, उपप्रमुख रसाइली भन्छिन्।
पराल सकिएको विषयमा नगरलाई जानकारी नआएको र सूचना भए खरिदका लागि नगरले समितिलाई नै अनुरोध गर्ने उनको भनाइ छ। अध्यक्ष महतले भनेजस्तो भने नभएको
तर्क उनी गर्छिन्।
दुर्गन्धले सास्ती
केन्द्रबाट केही दूरी माथि घर भएकी सन्तुमाया ढकाल घरसम्मै सिनोको गन्ध आउने बताउँछिन्। ‘संरक्षण केन्द्र र वडानजिकै पनि गाईहरू मरेका छन्। वडाले पनि वास्ता गर्दैन’, ढकाल भन्छिन्, ‘खाना खाने बेला गन्धले वाक्कवाक्क आउँछ। बाटो नजिकै गाई फालेका छन्। सिनो गहनाएर हिँड्नै नसक्ने भएको छ। हाम्रो स्वास्थ्यमा पनि असर गर्नी भयो, पाहुनाहरू आउँनुहुन्छ, के हो यस्तो भनेर सोध्नुहुन्छ, हामीलाई त साह्रै लाज भो।’
अर्की स्थानीयवासी बुद्धिमाया गुरुङ केन्द्र व्यवस्थित नहुँदा आसपासका बासिन्दालाई समस्या भएको सुनाउँछिन्। ‘सबैको सजिलोका लागि जताततैको डियाँ ल्याएर राखे। अहिले हामीलाई एकदमै दुर्गन्ध भएको छ’, गुरुङ भन्छिन्, ‘नगरपालिकाले गर्न खोजेको त राम्रो हो। तर, व्यवस्थित भएन। सुरु–सुरुमा देखाउनका लागि पनि गर्यो। अहिले त गाई मरेको मरै छ, गन्हाएर बस्सी खानु छैन।’
वातावरण विद् भुपेन्द्र दास खुला ठाउँमा मरेको पशुचौपाया फाल्नु वातावरणीय हिसाबले राम्रो नहुने बताउँछन्। विभिन्न रोग लागेर मरेको हुन सक्ने भएकाले सिनो खाने पशुपन्छी अन्यको सम्पर्कमा जाँदा मानव बस्तीमै जोखिम हुन दासको भनाइ छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्रमा मरेका गाई जथाभावी फालिएको अवस्थामा ।
‘मरेका बस्तु चराचुरुङ्गी वा पशुपन्छीहरू जस्तै काग, गिद्धहरूले खाएर वरिपरि सम्पर्कमा पुग्यो भने त नराम्रो मानिन्छ। त्यही कुहिएर गयो भने पनि माटो, पानीको स्रोत र हावा प्रदूषित गर्छ’, दास भन्छन्, ‘समग्रमा वातावरणीय विषयभन्दा यो स्वास्थ्यको विषयसँग जोडिएको विषय हो। जस्तै कोरोनाको कुरा छ। गाई–भैंसीलाई कोरोना लाग्दैन भन्ने त छैन, यदि कोरोनाको कारण चौपाया मरेको रहेछ भने सम्पर्कमा जानेलाई त सर्छ।’ यस्तो विषयमा अलि बढी नै होसियार हुनुपर्ने सुझाव उनी दिन्छन्।
नगरपालिकाको वातावरण शाखा प्रमुख राजेन्द्र सोती मरेका गाई व्यवस्थापनमा विविध कारणले ढिलाइ भएको स्वीकार गर्छन्। तुरुन्तै जेसिबी लगेर व्यवस्थापन गरिहाल्ने सोतीको भनाइ छ। ‘यहाँ १–२ सय गिद्ध पनि आउँछन्। तिनीहरूको लागि पनि आहारा भएको छ भनेर छोडिएको हो’, सोती भन्छन्, ‘मैले कर्मचारीलाई निर्देशन दिइसकेको छु, अब भोलि नै व्यवस्थापन हुन्छ।’
प्रमुख प्रशासकीय अधिकृत लीला वल्लभ न्यौपाने मरेका चौपाया पुर्न सवारी चालक अभाव भएको बताउँछन्। यसअघि नियमित व्यवस्थित गरिएको न्यौपानेको भनाइ छ। ‘नगरकै विविध काम विशेषले चालकहरू केही दिन बाहिर रहनुपर्यो। म पनि बाहिर थिएँ’, न्यौपाने भन्छन्, ‘तर, आज (बिहीबार) त्यहाँको समस्या समाधान गरिसक्यौं।’
आगामी दिनमा केन्द्रलाई व्यवस्थित गर्न बजेट तेब्बर विनियोजन गरिने न्यौपाने बताउँछन्। ‘व्यवस्थित गर्न आर्थिक विषय नै प्रमुख हुँदो रहेछ। यस वर्ष म आउँदा बजेट बाँडफाँट भइसकेको थियो। आगामी वर्ष अहिलेको बजेटलाई तेब्बर बनाउनुपर्ने देखिन्छ’, उनी भन्छन्, ‘त्यसका लागि कर्मचारीको विशेष टिम बनाएर लाग्ने छौं।’
उनका अनुसार खाली जमिन उपयोग गरी मौसमअनुसारको घाँस लगाइनेछ। चरणको व्यवस्था गरिनेछ। नियमित स्वाथ्य जाँच, औषधोपचार गरिनेछ। गिद्धको आहाराका लागि छुट्टै ढंगले व्यवस्थापन गरिने उनी बताउँछन्। बाँकी रहेका हाडखोरको पनि उचित रूपमा व्यवस्थापन गर्ने र सेवामूलक संस्थाहरूसँग सहकार्य गरेर संरक्षण केन्द्रलाई व्यवस्थित बनाउन लाग्ने योजना रहेको उनको भनाइ छ।
राजमार्गमा पशुचौपाया त केही कमी भएको छ। तर, केन्द्रभित्रको अवस्था व्यवस्थित हुन सकेन। गाईले खान नपाएको, मरेको चौपायाको व्यस्थापन नगरेको जस्ता जनगुनासो आएको छ।
खेमराज खनाल, स्थानीयवासी
पहिला हामीलाई जिम्मेवारी देथ्यो। अहिले समितिलाई बाइपास गरेर कति पराल चाहिन्छ, हामी नै खरिद गर्छौं भनेर नगरपालिकाले नै जिम्मा लेछ। यहाँको खरिद र आवश्यकता सबै चिज नगरपालिकाले एकलौटी गरेको छ।
गीता महत, अध्यक्ष, गौ संरक्षण केन्द्र व्यवस्थापन समिति
हामीले समिति निर्माण गरेका छौं। त्यहाँको अवस्थाबारे नगरमा जानकारी गराउने र के गर्नुपर्ने हो त्यो नगरले गर्ने भनिएको छ।
सविता रसाइली, उपप्रमुख, शुक्लागण्डकी नगरपालिका
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)