हुलास खाद्य उद्योगबाट उत्पादित पिठोमा प्लाष्टिक भेटियो
दैलेख : दैलेखमा एक कम्पनीले उत्पादन गरेको आँटा (पिठो) मा प्लाष्टिक जस्तो पदार्थ भेटिएको छ। हुलास खाद्य उद्योग प्रालि पार्वतीपुर नेपालगञ्जले उत्पादन गरेको आँठामा पलाष्टिक जस्तो पदार्थ भेटिएको हो। दैलेख सदरमुकामको होटल रोयल गार्डनले रोटी पकाउनका लागि खरिद गरेको आँटामा प्लाष्टिक जस्तो पदार्थ भेटिएको हो।
उक्त होटलका सञ्चालक रविन्द्रप्रसाद शर्माका दम्पत्ति उच्च रक्तचापका बिरामी हुन्। शर्मा दम्पत्तिले नियमितरुपमा रोटी खाँदै आएका छन्। उनीहरुले नजिककैको एलिजा स्टोरबाट आटा किनेर ल्याएका थिए।
शर्माले आफूले रोटी खाँदै आएको आँटा (पिठो) मा प्लाष्टिक जस्तो पदार्थ भेटिएको बताए। ‘आँटा अर्थात पिठोको रोटी बनाउँने क्रममा तन्किने र छोड्दा खुम्चिने गरेपछि पानीले पखाल्यौं, पानीले पखाल्दासमेत आँटा पग्लिएन्, आगोमा जलाउँदासमेत रबर अर्थात पलाष्टिक जलाउँदा आउने गन्धसमेत आयो,’शर्माले अन्नपूर्णसँग भने।
०५–५७–५९–०७–०८३ नम्बर खाद्य अनुमति अनुज्ञापत्र रहेको हुलास खाद्य उद्योग प्रालिले उत्पादन गरेको ५ केजीको प्याकेटमा उक्त रबर जस्तो पर्दाथ भेटिएको हो। कम्पनीले पौष्टिक र मुलायम राम्रो भन्दै बिक्री वितरण गर्दै आएको आँटाको माग बजारमा उच्च छ। तर जिल्लामा हुलास आँटा कति आयात भएको छ त्यो भने यकिन छैन्।
यता ल्याव टेस्ट गरेर मात्र आटा बजारमा पठाएको हुलास उद्योग प्रालिका एक कर्मचारीले दाबी गरेका छन्। हुलास खाद्य उद्योगले उत्पादन गरेको आँटामा प्लाष्टिक जस्तो पदार्थ भेटिएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनसमेत गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाको नेतृत्वमा प्रहरी निरीक्षक राजेश कुमार तेली, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, स्वास्थ्य सेवा कार्यालयको टोलीले अनुगमन गरेको हो।
‘हामीले होटल रोयल गार्डनमा रहेको आँटा र नजिककैका केही खाद्य पसलहरुमासमेत अनुगमन गरेका छौ,’अनुगमनपछि निमित्त प्रमुख जिल्ला अधिकारी कोइरालाले भने ‘आँटाको सामान्य परिक्षण गर्दा शंकास्पद् अखाद्य बस्तु भेटिएको छ।’आँटामा अखाद्य बस्तु अर्थात प्लाष्टिक मिसावट भए नभएको पुष्टि गर्न परिक्षणका पठाउने तयारी गरिएको कोइरालाले बताए।