तिमी कस्ती कस्ती !
आँखा भरिभरि
अपलक हेरिरहुँ जस्ती !
ओढेर पछ्यौरी उद्दाम र मृदुताको
शान्त बसेकी
छोउँछोऊँ जस्ती !
उद्वेलित हुँदै वायुवेगमा पुगुँ
र छलेर दुनियाँको आँखा
ओठहरू कुटुक्क पारुँ जस्ती !
दायाँबायाँ कतै नहेरी
नयनकुण्डमा चुर्लुम्म डुबुँ
र आफैंलाई बिर्सेर
कपोल र अधरमा
च्वाप्प म्वाईं खाऊँ जस्ती !
अझ भनुँ– सिनित्तै रित्याएर
अधरामृतको पाला–प्याला
पिएको पियै गरिहुँ जस्ती !
गहिरो पोखरीमा
चलमलाइरहेका माछालाई
माझीले जाबीमा थुनेझैं
थुनेर मनभित्रै राखुँ जस्ती !
कस्तो अद्भुत र उदात्त प्रेम उमाल्छ्यौ तिमी
चपक्क काखमा राखुँ
र, अंगअंगका कोमल मादक–मृदुतामा
निष्फिक्री सयर गरुँ जस्ती
तिमी कस्तीकस्ती !
नीरगगनको निराभ्र सौन्दर्यको
रसपानमा मुग्ध भएर
समुद्रजस्तै त्यही विशाल वक्ष–उद्यानमा
हराइरहुँ जस्ती !
सूर्यका न्याना करकिरणले
हरेक बिहानीमा सुमसुम्याए जस्तै,
उत्तुंग शिखरभरि डुलाएर नयन
तृप्त हुने गरी अपलक हेरिरहुँ
र, निर्वाण प्राप्तिका लागि
बुद्धको बोधीसत्वमा पुगेर
निर्बाध सुमसुम्याइरहुँ जस्ती !
तिमी कस्ती कस्ती !