लोकपरम्परा बचाउँदै मयूर नाच
मयूर नाचका फरकफरक प्रकार छन्। लठ्ठी हान्ने, संगीतमा नाच्ने, वनगारी नाच, पैसेरी नाच र सिगारु नाच हुन्छन्। यी नाचहरू भिन्न ताल र सुरमा नाचिन्छ।
मयूर नाचका विभिन्न ‘स्टेप’हरू हुन्छन्। पुरानो प्रचलनमा आएका नाच भिन्न प्रकारका थिए। पछिल्लो समय नयाँ पुस्ताले अलिकति सच्याएर फरक ढंगले नाच्ने गरेका छन्।
जब मादल बजाइन्छ। तब डुंग्रीले साथ दिन्छ। त्यसमा हार्मोनियमले मिठास भरिदिन्छ। बाँसुरीको धुन मिसाउन थालेपछि दर्शकमा जोस भरिन थाल्छ। यी सबैको संगम बनेर निस्किएको मधुर संगीतले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाइदिन्छ।
अगुवाले सिटी फुक्छ, अनि कलाकारहरू नाच्न थाल्छन्, मयूर नाच। मयूर नाच रुकुम पश्चिमको प्रचलित लोक नाच हो। मयूरको प्वाँखबाट गरुवा बनाइन्छ। जुन कलाकारले कम्मरमा भिरेका हुन्छन्। उनीहरू परम्परागत पोसाकमा सजिएका हुन्छन्। बाजागाजा, पहिरन र मयूर नाचको प्रस्तुतिले नेपालको राजधानी काठमाडौंमा पनि रुकुम पश्चिमको लोकसंस्कार र संस्कृतिको झल्को दिन्छ।
लोकबाजासँगैको पहिरनमा कलाकारले दर्शकलाई आफूतिर तान्छन्। कलाकारसँगै दर्शक पनि नाच्न थाल्छन्। नाच सकिन्छ तर दर्शकले ‘वान्स मोर’ भन्दै भीडबाट हुटिङ गरिरहेकै हुन्छन्। यति लोभलाग्दो मयूर नाच कसको मन मस्तिष्कमा झंकृत भइनराख्ला र ?
मयूर नाच लोप हुन लागेको संस्कृति हो। यसको महŒव बुझेर अहिलेका नयाँ पुस्ता यसको जगेर्नामा जुटेका छन्। दसैं, तिहार आदिमा मात्र ग्रामीण भेगमा यो नाच देखाइन्थ्यो। रुकुम पश्चिमस्थित त्रिवेणी गाउँपालिकामा कला, साहित्य संरक्षण मञ्च गठन भएपछि यो नाचले पुनः चर्चा पाएको छ। दुई दर्जन युवा पुस्ता लोक नाचको संरक्षणमा जुटेका छन्।
त्रिवेणी गाउँपालिकाले समूहलाई बाद्यवादन र पोसाक खरिदमा सहयोग गर्यो। त्यसपछि मयूर नाचलाई रुकुम आसपासका मेला, महोत्सव हुँदै काठमाडौंमा प्रदर्शन गरिएको छ। काठमाडौंमा मात्र होइन, लकडाउनअघि अमेरिकामा पनि यो लोक नाच देखाइयो।
पढाइसँगै संस्कृति जगेर्ना
शर्मिला गहतराज कक्षा १० मा पढ्छिन्। २०७६ सालबाट उनी मयूर नाच कलाकारको रूपमा परिचित छन्। उनलाई पढाइ पनि छोड्न मन छैन र यो अवसर पनि। उनी भन्छिन्, ‘पढाइलाई पनि निरन्तरता दिन्छु, यो मयूर नाचलाई पनि छोड्दिनँ।’
तुलसा ओली पनि पढाइसँगै संस्कृति जोगाउन अग्रसर भएर हिँडेकी छन्। ‘मयूर नाच देखाउँदा सबैले सम्मान गर्नु हुन्छ’, उनी खुसीसाथ सुनाउँछिन्। परम्परागत पोसाकसँगै प्रतिभा देखाउन पाउँदा धनु कठायत झनै दंग छिन्। उनी भन्छिन्, ‘चोली, घलेक, गुन्यू, पटुकीजस्ता पोसाकको पनि जगेर्ना हुने, नाच पनि देखाउन पाइने।’ ग्रामीण भेगमा गाउँबाट बाहिर जाने अझ राजधानी काठमाडौं पुग्नेलाई ठुलै मान्छे भयो भनेर सम्मान गर्ने चलनले पनि यी युवा पुस्तामा हौसला बढेको देखिन्छ। उनी पनि मयूर नाच देखाउन जिल्ला बाहिर गइरहन्छिन्।
आधुनिकताले हाम्रा लोक संस्कार र संस्कृति मासिँदै गएको छ। समितिका कोषाध्यक्ष जोकमाया खड्का भन्छिन्, ‘कुनै फाइदा नहुँदा त बाबुबाजेको संस्कृति बचाएर हामीलाई नासोको रूपमा दिनुभयो। आधुनिकताले च्यापेको बेला संस्कृति संरक्षण गर्न हामी जुटेका छौं।’ यसका लागि गाउँमा सबैको पारिवारिक सहयोग रहेको उनी सुनाउँछिन्।
अमेरिका पुग्यो मयूर नाच
नन्दकुमार घर्ती अढाई दशकदेखि मयूर नाच संरक्षणमा जुटिरहेका छन्। रुकुम पश्चिम त्रिवेणीका ४७ वर्षिय उनी नाच समूहको नेतृत्व गर्छन्। ‘२५ वर्षदेखि मयूर नाच जगेर्ना गर्न लागिपरेको छु। बाबुबाजेहरू उसबेलादेखि नाच्दै आउनुहुन्थ्यो। उहाँबाटै सिकेको हुँ’, उनी भन्छन्, ‘हार्मोनियम, मादल, डुंग्री बजाउन पनि आउँछ, नाच्न पनि आउँछ। मयूरको गर्रा र लठ्ठी सबै बनाउँछु।’ मयूर नाच र झाँकीको सबै सामग्री बनाउन पनि उनलाई आउँछ। मयूर नाच एक प्रकारको झाँकी जस्तै रहेको उनी बताउँछन्।
नाचमा अगुवा हुन्छ। मादलसहित बाजागाजा बजाउनेलाई गुरु भनिन्छ। १२ देखि ३२ जनासम्म गोलो घेरामा एकै पटक नाचिन्छ। नाचमा नाच्ने र बाजा बजाउने गरी दुई समूह हुन्छ। पछिल्लो समय त्यसमा गीत गाउने पनि थपिएका छन्।
‘मादल बजाउने, डमरु बजाउने, त्यसपछि हार्मोनियम बजाउने काम हुन्छ। बाँसुरी बजाउनेहरूले माहोलमा रौनक थप्छन्। त्यसपछि कलाकारको सूमह मञ्चमा प्रवेश गर्छ। अगुवाले सिटी फुकेपछि मयूर नाच सुरु हुन्छ’, उनी भन्छन्, ‘समूहलाई नेतृत्व गर्न र नयाँ नयाँ स्टेपबारे जानकारी दिन सिटी बजाइन्छ। सिटी बजाउनेबित्तिकै कस्तो नाच थाल्ने भन्ने जानकारी कलाकारले लिन्छन्’, अगुवा घर्ती भन्छन्।
२०७३ सालदेखि निरन्तर नयाँ पुस्तालाई नाचबारे प्रशिक्षण दिएर पोख्त बनाएको खुसी घर्ती सुनाउँछन्। ‘ठुलठुला आमसभा, मेला, महोत्सव, पूजाआजा आदिमा मयूर नाच नाचिन्छ। दसैं, तिहारमा नाचिन्छ। निम्तो भएपछि हामी जहाँ पनि पुग्छौं। भूगोल, दूरी हेरेर रकम लिन्छन्’, उनी भन्छन्, ‘तीन लाखसम्म रकम दिएको छ। भर्खरै हामी राष्ट्रियस्तर काठमाडौंमा पनि नाच देखाउन सफल भयौं। अस्ति दाङ महोत्सवमा पनि यो नाचको तारिफ भयो, यसले खुसी बढाएको छ। अहिले बाहिरतिर पनि प्रचार हुँदैछ।’
रुकुम, रोल्पातिर विशेष गरेर दसैं र तिहारमा मयूर नाच देखाइन्छ। देउसीभैलो मनाउने चाडमा यसले विशेष महŒव पाउँछ। रुकुम पश्चिममा मात्रै देखिने यो नाच पछिल्लो समय सल्यान, जाजरकोट, दाङ र बाँकेमा चर्चा पाएको छ। ‘लकडाउनअघि अमेरिकासम्म पुग्यो। हाम्रो दाजुभाइ तथा दिदीबहिनीले जो देशमा नाचिरहनुभयो, उहाँहरूले नै अमेरिकामा पुर्याई सक्नु भएछ’, उनी सुनाउँछन्।
मयूर नाचको ‘ब्रान्डिङ’
मादलमा नन्दकुमार घर्ती, हार्मोनियममा निर्मल गहतराज, डुंग्रीमा अमर कठायत र बाँसुरीमा अमर घर्ती छन्। यो समूहले मयूर नाचलाई ‘ब्रान्डिङ’ गरेको छ। यसपछि मात्रै यसले व्यापकता पाएको हो। ‘त्रिवेणी गाउँपालिकाले कला, साहित्य संरक्षण मञ्च गठन गरिदियो। पाँच लाख रुपैयाँ जति हाम्रो समूहमा लगानी गरिदियो। गरुवा, मयूर, हार्मोनियम, डुंग्री, मादल, पोसाक सबै बाजागाजाको सरसमान हामीले किन्यौं’, अगुवा घर्ती भन्छन्, ‘सरकारले संस्कृति जोगाउन अभिभावकत्व भूमिका निर्वाह गर्नुपर्छ। संस्कृति जगेर्ना गर्न सरकारआर्थिक सहयोग गर्नुपर्छ।’
कलाकार लोकबहादुर बाठाले मयूर नाचमा रुकुम पश्चिमको जीवन, संस्कार र संस्कृति जोडिएको बताउँछन्। ‘समाजमा रहेको पुराना संस्कृतिलाई जगेर्ना गर्न र लोप हुन नदिन चाडपर्व र उत्सवहरूमा हामी प्रदर्शन गर्छौं’, उनी भन्छन्, ‘पुर्खौंदेखि चलिआएको नाचलाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहन्छौं।’
त्रिवेणी गाउँपालिकाका अर्का कलाकार भीमबहादुर विक यो नाच जगेर्ना गर्न डेढ दशकदेखि लागिपरेका छन्। उनी भन्छन्, ‘मयूर नाच नाच्न थालेको लगभग १५ वर्ष भयो। रुकुमतिरको यो प्रचलित नाच नाच्न पाउँदा मलाई गर्व लाग्छ।’
रुकुम पश्चिममा वनगाड भन्ने ठाउँ छ। त्यहाँ यो नाच तयार गरिन्थ्यो। ‘पहिला हामी त्यहाँबाट नाच नाच्ने सामग्री र बाजागाजाहरू किनेर ल्याउने अनि नाच देखाउने गथ्र्यौं’ उनी भन्छन्, ‘हामीले यो नाच त्यहीँ सिक्यौं। अनुभव लियौं। अहिले हामी आफैं नाचका सरसमानहरू तयार गरिरहेका छौं।’
नाचका प्रकार
मयूर नाचका फरकफरक प्रकार छन्। लठ्ठी हान्ने, संगीतमा नाच्ने, वनगारी नाच, पैसेरी नाच र सिगारु नाच हुन्छन्। यी नाचहरू भिन्न ताल र सुरमा नाचिन्छ। ‘पैसेरी नाचे हाम्रो मौलिक संस्कृतिभित्रको नाच हो। जुन लोप भइरहेको छ। यसैम पनि झल्को ल्याउँछौं’, विक भन्छन्।
मयूर नाच नाच्ने तरिका
मयूर नाचका विभिन्न स्टेपहरू हुन्छन्। ‘पुरानो प्रचलनमा आएका नाच भिन्न प्रकारका थिए। हामीले अलिकति सच्याएर फरक ढंगले नाच्ने गरेका छौं’, विक थप्छन्। एक हतादेखि बाइस हतासम्मको
स्टेप हुन्छ। प्रत्येक स्टेपमा फरकफरक धुन र हाउभाउ प्रस्तुत गरिन्छ।
‘संगीतको तालमा नाचिन्छ। कलाकारहरूले एकआपसमा लठ्ठीमा लठ्ठी हान्छन्। अभिनय गर्छन्’, अगुवा विक भन्छन्, ‘हाम्रो स्थानीय भाषामा लठ्ठीलाई गतका हान्ने भन्छौं।’ यो पहिला लडाइँको रूपमा ‘बाइस हता’ भनेर प्रयोग हुन्थ्यो। उनका अनुसार, त्यसलाई एक हतादेखि दुई हतासम्म, छ हता हुँदै आठ हताहुँदै २२ हातासम्म लठ्ठीमा लठ्ठी हान्ने गरिन्छ। त्यसपछि मयूर नाच सकिन्छ।
विकका अनुसार, स्थानीय स्तरमा पाइने गिठा जातको रुखबाट गतका तयार गरिन्छ। पहिला लडाइँ हुँदा लठ्ठी हान्थे। त्यसलाई छल्ने गरिन्थ्यो। ‘हामी बाइस हाता हान्दा अरू कसैले आक्रमण गर्न आए प्रतिआक्रमण गर्ने कला आत्मरक्षाको कला सिकाउने पनि मयूर नाचले नै हो’,उनी भन्छन्।
नाचमा परम्परागत पहिरन
मयूर नाचमा कलाकारले परम्परागत पहिरन लगाउँछन्। जुन मगर जातिको पहिरनसँग मेल खान्छ। महिला र पुरुषले फरकफरक पहिरन लगाएर नाच प्रस्तुत गर्छन्। पुरुषले सेतो सर्ट र सुरुवाल लगाउँछन्। त्यसमाथि इस्टकोट हुन्छ। एकै प्रकारका जुत्ता हुन्छन्। शिरमा लगाएको ढाका टोपी ‘क्या गजब!’ खुल्छ। महिला चोली लगाउँछन्। धोती लगाउँछन्। त्यसमाथि घलक लगाउँछन्। यससँगै फरकी लगाएका हुन्छन्। चुरापोतेले परम्परागत पहिरनको झल्को दिन्छ। त्यसले नाचलाई शोभायमान बनाउँछ। यो भेषभूषाले पुरानो पहिरनको झझल्को दिन्छ। त्यसमाथि धरो लगाउँछन्। धरोमा कलाकारको परिचय हुन्छ।
यतिले मात्र पुग्दैन सायद। आकर्षणका लागि हातहातमा रातो रुमाल हुन्छ। हातहातमा लठ्ठी बोकेका हुन्छन्। कलाकारका खुट्टामा नेउर (पैइजन)हुन्छ। लठ्ठी र नेउरले मयूर नाचमा मिठो संगीत थपिदिन्छ। अगुवा विक भन्छन्, ‘पहिले मयूर नाचलाई गरुवा नामले चिनिथ्यो। अहिले हामी सबैले बुझ्ने अर्को नयाँ नाम मयूर नाच भनेर नामकरण गरेका हौं।’ मयूर नाच गरुवा लगाएर नाचिन्छ। भारतबाट मयूरको प्वाँख ल्याएर गरुवा बनाइन्छ। यो नेपालमा पाइन्छ। तर, आरक्षणले वनभित्र प्रवेश निषेध गरेको छ। मयूर भारतको राष्ट्रिय चरा हो। मयूर त्यहाँ प्रशस्तै संख्यामा पाउँछ। दिल्लीमा मयूरको प्वाँख पाउने पसलै हुन्छ।
लोकधुनमा मयूर नाच
मयूर नाचमा लोकबाजाहरूको प्रयोग हुन्छ। बाँसुरी, हार्मोनियम, डुंग्री, मादललगायत बाद्यवादनका सामग्री हुन्छ। कलाकारहरूले खुट्टामा पैइजन (नेउर) लगाउँछन्। यो एक किसिमको धातु (पदार्थ) ले बनाइएको हुन्छ। जसमा फलामको गेडा हालिएको हुन्छ। दुवै हातमा लठ्ठी हुन्छ। त्यसलाई ठोक्काउँदै नाच नाचिन्छ। ठोक्काएका बेला आवाज आउँछ। लठ्ठीले नाचको ‘स्टेप’ हरू संकेत गरिन्छ।
डुंग्री बजाउँदै आएका अमरबहादुर कठायत भन्छन्, ‘डुंग्री मादलको सहयोगी हो। नाच्दा यो मादलको साथी बन्छ।’ पुराना संस्कृतिहरू लोप हुँदै गइरहेका छन्। पहिलाभन्दा मयूर नाच कम हुँदै गयो। पुर्खाले चलाइआएको संस्कृति बचाउन जुटेको उनी सुनाउँछन्।
‘यसमा खासै गीत हुँदैन। तर, गीतमा पनि नाच्न सकिन्छ। यसमा खास नाच्ने भनेको डुंग्री र मादलको तालमा हो। मादल बजायो, डुंग्री बजायो। नाच्नेहरूले खुट्टामा नेउर लगाएर संगीतको तालमा कलाकार नाच्ने हो’, उनी भन्छन्। पछिल्लो समय आफ्नै भाषामा गीत तयार गरेर नाच्ने गरिएको छ। रुकुम पश्चिमको संस्कारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन लागिपरेको उनी सुनाउँछन्।
संस्कृतिमा पुस्तान्तरण अपरिहार्य
पहिला मयूर नाचदसैं र तिहारमा मात्रै देखाइन्थ्यो। यसमा शृंगारलाई खासै महत्व दिइँदैनथियो। पहिला मयूरको गर्रालाई कपडा वा बाँसको सुपोमा बुन्ने गरिन्थ्यो। यसलाई थप बलियो र आकर्षक बनाउँदै परिस्कृत गरेर नयाँपन दिएको समितिका सचिव कुवेर ओली बताउँछन्। ‘संस्कृति रूपान्तरणसँगै विकास र पर्यावरणलाई जोगाउनुपर्छ भनेरै लागिपरेका हौं’,उनी भन्छन्, ‘कला र संस्कृतिमा पुस्तान्तरण अपरिहार्य छ।
यसका लागि सरकार, राजनीतिक दल, सामाजिक संघ, संस्थाको साथ र सहयोग निरन्तर चाहिन्छ। देशमा आर्थिक विकाससँगै सामाजिक र सांस्कृतिक रूपान्तरण चाहिन्छ। अनि मात्र सबै पक्षको विकास भएको मानिन्छ।’