कर्णाली नदीमा डुबेर भारतीय कामदार बेपत्ता
दैलेखः कर्णाली नदीमा डुबेर एक भारतीय कामदार बेपत्ता भएका छन्। दैलेखको आठबीस नगरपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिका जोड्ने मितेरी पुल निर्माणको काममा कार्यरत कामदार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
कर्णाली नदिमा निर्माणाधिन पुलमा काम गर्दै आएका पश्चिम बंगाल भारतका १८ वर्षीय रविन्द्र मण्डल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए। प्रहरी निरीक्षक सुनारका अनुसार कर्णाली नदीमा पौडी खेल्ने क्रममा मण्डल बेपत्ता भएका हुन्।
शनिबार बिहान ११ बजे मण्डल बेपत्ता भएका हुन्। साथीसँग नदी वारपार गर्न खोज्दा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीय बासिन्दाले मण्डलको खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक सुनारले बताए। उनले माछा मार्ने जाल तथा काठको डुंगाको साहाराले उनको खोजी कार्य भइरहेको जानकारी दिए।