म्याद थपियो, सकिएन खानेपानी आयोजना

म्याद थपियो, सकिएन खानेपानी आयोजना

फिदिम : पाँचथरको तुम्बेवा गाउँपालिकामा निर्माणाधीन ‘आङ्ना मौवा बृहत् पम्पिङ खानेपानी आयोजना’को काम सुस्त छ। यो आयोजना सुक्खा क्षेत्रका रूपमा रहेको तुम्बेवाका १ हजार ६०४ घरधुरीका करिब ८ हजार मानिसलाई पानी पु¥याउने उद्देश्यले निर्माण सुरु गरिएको हो। लामो समयसम्म आयोजनाको काम सम्पन्न नहुँदा त्यहाँका स्थानीयको सहजै पानी पिउने सपना अधुरै छ। 

कन्काई प्रेरणा जेभी निर्माण कम्पनीले ३० महिनामा सम्पन्न गर्ने गरी २०७४ असार २५ गते आयोजना निर्माणको जिम्मा लिएको थियो।  दुईपटक थपिएको समयमा पनि निर्माण कम्पनीले काम सम्पन्न नगर्दा स्थानीयहरू समस्यामा परेका हुन्। निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख चन्द्रनारायण चौधरीको भनाइ छ। ‘विभिन्न समस्याका कारण निर्धारित समयमा काम सम्पन्न गर्न सकिएन,’ चौधरीले भने ‘समस्याका बाबजुद आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अहिले पानी टेस्टिङको काम भइरहेको छ।’ ८० प्रतिशत काम पूरा गरिएको निर्माण कम्पनीको दाबी छ। 

उपभोक्ता समितिले सोचेजस्तो सहयोग नगरेको, कोभिड महामारी र भौगोलिक विकटताका कारण प्राविधिक समस्या बढेकाले काममा ढिलाइ भएको निर्माण कम्पनीको तर्क छ। तर, उपभोक्ता समिति र निर्माण कम्पनीबीचको द्वन्द्वले काम प्रभावित भएको स्थानीयको भनाइ छ। राजनीतिक दलको टकरावले उपभोक्ता समिति गठन गर्न १८ महिना लागेको थियो। लामो विवादपछि गठिन समितिले निर्माण कम्पनीलाई सहयोग गर्न आनाकानी गर्दा काममा समस्या आएको बताइएको छ। 

‘समिति गठन गर्न ढिलाइ भएको सत्य हो,’ उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र खत्रीले भने, ‘समितिले पूर्णता पाएपछि निर्माण कम्पनीलाई हामीले सक्दो सहयोग गरिरहेका छौं। अहिले धमाधम काम भइरहेको छ।’ उक्त आयोजना निर्माणमा कुल बजेटको १० प्रतिशत उपभोक्ताहरूले लगानी गर्नुपर्ने हुन्छ। जसअन्तर्गत उपभोक्ताहरूले हाउस कनेक्सनका लागि श्रमदान गर्नुपर्ने सहमति थियो । तर, उपभोक्ता समितिले उक्त काम गराउन नसक्दा समस्या आएको हो। ‘हाउस कनेक्सनको काम अघि नबढेपछि निर्माण कम्पनीले नै गर्नुपर्ने परिस्थिति निर्माण भयो,’ चौधरीले भने, ‘धेरै काम भइसकेको छ। अब थोरै काम मात्र बाँकी छ।’
 
१ हजार ६०४ घरधुरीमध्ये ७५७ घरका लागि हाउस कनेक्सनको काम पूरा भएको हो। विद्युत् विस्तार, गार्ड हाउस र ट्यांकी निर्माण सकिएको छ। सब ट्रान्समिसन लाइनको काम भइरहेको छ। 

तमोर नदीको लखुवा दोभानमा मुहान थापेर तुम्बेवा–१ देखि ३ वडाका मानिसलाई पानी खुवाउने उद्देश्यले आयोजनाको काम सुरु गरिएको हो। काममा ढिलाइ भएपछि फागुन महिनाभरी सबै काम पूरा गरिने समितिका अध्यक्ष खत्रीको तर्क छ। ‘अब धेरै समय पर्खनु पर्दैन,’ उनले भने ‘चैत महिनादेखि पानी पिउन खोला धाउनुपर्दैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.