ब्यास म्याराथनमा आर्मीको वर्चस्व
तनहुँ : पाँचौ ब्यास नगर अल्ट्रा म्याराथनमा आर्मीले वर्चस्व कायम गरेको छ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान आर्मीका खेलाडीले हासिल गरे। रामेछापका ३६ वर्षीय वेदबहादुर सुनुवारले पहिलो स्थान हात पारे। ब्यास–५ मानुङदेखि व्यास–८ पुलिमर्याङसम्मको दूरी दुई घण्टा ५८ मिनेट ०७ सेकेन्डमा पस्रा गर्दै सुनुवारले उपाधि जितेका हुन्। उनले गत वर्ष तेस्रो स्थान हासिल गरेका थिए।
उपाधिसँगै उनले ८५ हजार नगद पुरस्कार प्राप्त गरे। त्रिभुवन आर्मीकै मोहनदेव जोशीले तीन घण्टा ०५ मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हात पारे। बैतडीका ३४ वर्षीय धावक जोशीले ६५ हजार रुपैयाँ पुरस्कार पाए। तीन घण्टा ०९ मिनेटमा दूरी पूरा गर्दै तेस्रो भएका त्रिभुवन आर्मीकै नवराज साउदले ५५ हजार रुपैयाँ पुरस्कार पाए।
प्रतियोगितामा सान्त्वना बनेका सुमन कुलुङ, गोपाल तामाङ, दुर्गाबहादुर बुढा, शेरबहादुर थारू, प्रताप खड्का र प्रमिश गुरुङले जनही १६ हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा १७३ जना युवाहरूले सहभागिता जनाएका थिए।